दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाको राजनीति दुर्छिमको कब्जामा रहेको बताइन्छ ।
नेकपा एमाले, माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नगर अध्यक्ष र सभापतिमा दुर्छिमकै नेता निर्वाचित भएपछि हलेसी तुवाचुङ नगरपालिकाको राजनीति दुर्छिमको कब्जामा रहेको बताइएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका चार पार्टीका अध्यक्षमा क्रमशः डिल्ली चाम्लिङ (एमाले अध्यक्ष), राजुविक्रम चाम्लिङ (माओवादी केन्द्र, अध्यक्ष) चक्रकुमार राई (काँग्रेस, सभापति) र मविन्द्र चाम्लिङ राई (जसपा, अध्यक्ष) निर्वाचित भएकाले हलेसी तुवाचुङ नगरपालिकाको राजनीति दुर्छिमको कब्जामा रहेको चर्चा चुलिँदो छ ।
यो कसरी सम्भव भयो त ?
‘त्यतिबेला पनि दुर्छिम स्थानीय सत्ताकेन्द्र थियो,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङको भनाइ छ, ‘तत्कालीन माझकिरातको राजनीतिक तथा प्रतिरोधको ऐतिहासिक नेतृत्व गर्ने थलो पनि हो । हिजोको राजनीतिक इतिहासको विरासत भएकाले दुर्छिममा नयाँ पुस्ताका राजनीतिक नेता जन्मिए ।
त्यतिमात्रै होइन, दुर्छिम पहिल्यैदेखि चेतनाको केन्द्र थियो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम छापडाँडामा रहेको दुर्छिम माध्यमिक विद्यालय नगरकै पहिलो हो । आधुनिक शिक्षाको केन्द्र भएकाले दुर्छिमवासीमा राजनीतिक चेतना फराकिलो बन्दै गएको बताइन्छ ।
हलेसी तुवाचुङ नगरपालिकाका चार पार्टीका चारैजना अध्यक्ष चाम्लिङ राई समुदायका हुन् । त्यतिमात्रै होइन, चारैजना हलेसी क्षेत्रका प्रथम कविला (प्रशासक) होलेसुङका सन्तान हुन् । होलेसुङका सन्तानमध्ये डिल्ली चाम्लिङ र राजुविक्रम चाम्लिङ (मान्सुङ्छा) र चक्रकुमार राई र मविन्द्र चाम्लिङ राई (होम्दिम्छा) हुन् ।
चार पार्टीका चार अध्यक्षमध्ये मविन्द्र चाम्लिङ राई संवत् २०७५ चैत १ देखि जसपा, हलेसी तुवाचुङ नगरपालिकाको अध्यक्षको भूमिकामा छन् ।
राजनीतिशास्त्र र समाजशास्त्रमा एमए गरेका राजुविक्रम चाम्लिङले २०७८ भदौ २३ देखि माओवादी केन्द्र, हलेसी तुवाचुङ नगरपालिका नगर कमिटी अध्यक्षको जिम्मेवारी पाएका थिए ।
यसैगरी, नेपाली काँग्रेस खोटाङ जिल्ला कार्यसमिति सदस्य चक्रकुमार राईले २०७८ असोज १० गते काँग्रेस नगर सभापतिमा अत्यधिक बहुमतले निर्वाचित भएका हुन् ।
नेकपा एमाले, तुवाचुङ नगरपालिका नगर अध्यक्षमा २०७८ कात्तिक ९ गते डिल्ली चाम्लिङ सर्वसम्मत चयन भएका थिए ।
स्मरण रहोस्, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई (मंगलटार)समेत होलेसुङकै सन्तान हुन् ।
शिक्षासेवी भूपेन्द्रकुमार राईको भनाइ छ, ‘हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न दलसम्बद्ध अध्यक्ष दुर्छिमकै हुनु भनेको दुर्छिमले राजनीतिक विरासत कायम राखेको हो ।’
पटक–पटक सहायकमन्त्री बनेका डिल्लीसेर राई दुर्छिमवासी थिए । मन्त्री राई राष्ट्रिय राजनीतिमै चिनिएका थिए । त्यहाँसम्म पुग्ने उनको राजनीतिक इतिहास दुर्छिम नै थियो । ‘दुर्छिम आधुनिक चेतनाका केन्द्र भएकाले नै राईले पटक–पटक मन्त्रीको भूमिका पाए,’ एक नेताको ठम्याइ छ, ‘त्यतिबेला हलेसी क्षेत्रमा अरू पनि नेता जन्मनुपर्ने हो नि । खै त जन्मेका ?’
एकताका नयनकुमार राई (दुर्छिम रातमाटे)ले खोटाङ जिल्ला पञ्चायत उपसभापतिको भूमिका निर्वाह गरेका थिए ।