तुवाचुङलाई स्थानीय पाठ्यक्रममा राखिने



हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले सत्य, शक्ति, सभ्यता, ज्ञान र सीपको पवित्र थलो तुवाचुङलाई स्थानीय पाठ्यक्रममा राख्ने प्रतिबद्धता जनाएकी छन् ।

तुवाचुङ जायजुम संरक्षण समितिले गरेको चुलापूजा तथा साकेला सिली प्रदर्शनीलाई सम्बोधन गर्दै किरात राई समुदायको सम्मानित मातृथलो तुवाचुङलाई स्थानीय पाठ्यक्रममा राख्ने मेयर राईले प्रतिबद्धता जनाएकी हुन् ।

किरात राई समुदायको सभ्यताको उद्गम थलो भएकाले तुवाचुङ पुग्ने जोकोहीले मातृहरूसँग ज्ञान माग्ने गर्छन् । त्यतिमात्रै होइन, मातृहरूको श्रद्धा गर्दै बुद्धि–विवेक माग्नसमेत बिर्संदैनन् । ‘यस्तो पवित्र थलोको संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन गर्न नगरले नेतृत्व गर्छ,’ उनले आफ्नो तीन मिनेटको सम्बोधनमा भनिन्, ‘भाषा, संस्कार, संस्कृति संरक्षण तथा सम्बद्र्धन गर्ने काम राज्यको हो । तर, हलेसी तुवाचुङ नगरपालिकाले समेत तहगत रूपमा समन्वय र सहकार्य गर्न कन्जुस्याइँ गर्दैन ।’

किरात राई समुदायले तुवाचुङलाई घरभित्रको चुलाजत्तिकै पवित्र मान्छन् । यसलाई अपवित्र बनाए आफूहरूलाई दोष–दशा लाग्छ भन्ने उनीहरूको गहिरो विश्वास छ ।

तुवाचुङ जायजुम संरक्षण समितिले सालिन्दा तुवाचुङमा चूलापूजा गर्दै वैशाखे पूर्णिमा उँभौली मनाउने गर्दै आएको छ । शनिबार खोटाङ, ओखलढुंगा, भोजपुर र उदयपुरवासीले तुवाचुङ पुगेर हर्षौल्लाससाथ उँभौली मनाएका थिए । उँभौलीको अवसर पारेर १५ समूहले साकेला सिली प्रदर्शन गरे ।

मुन्दुमी मिथकअनुसार, तुवाचुङमा तोंयामा र खियामाले कपडा बुन्थे । उनीहरू कपडा सभ्यताका उद्यमी मानिन्छन् । प्राग्ऐतिहासिक पवित्र मातृथलोमा उनीहरूले कपासको धागोबाट तान बुनेका थिए ।

किराती आदिम कोकु (हजुरआमा) तोंयामा र खियामाले यहींबाट खेती गर्न थालेका हुन् । उनीहरूले यहींबाट कपास खेती थाली कपडा बुनेर लगाउन सुरु गरेका थिए । त्यसअघि अल्लोको कपडा लगाइन्थ्यो भने तुवाचुङबाट कपासको कपडा प्रयोग गर्न थालिएको थियो ।

समुद्र सतहदेखि १,८०० मिटर उचाइमा रहेको तुवाचुङ भौगोलिक हिसाबले अत्यन्तै आकर्षक छ । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ र १० मा पर्छ ।

प्रतिक्रिया दिनुहोस्