हलेसीमा दसैं



सदाझैं यसपालि पनि दसैं आइसकेको छ । अघिल्लो र यस वर्षको दसैंमा खासै भिन्नता नभए पनि निकै समयअघि र अहिलेको दसैंबीच तुलना गर्ने हो भने धेरै कुरा भिन्न भइसकेको छ । त्यतिमात्रै होइन, हामी नेपालीले एउटै समयमा थरी–थरी दसैं मनाइरहेका छौं ।

पहिलोथरी दसैंको कुरा गरौं । विकासका हिसाबले हेर्ने हो भने हामीले गाउँको दसैं, बजारको दसैं र सहरको दसैं गरेर तीनथरी दसैं मनाइरहेका छौं । गाउँघरतिर चाहिँ ‘दसैं आयो, खाउँला पिउँला, धत् ! पापी म त छुट्टै बसौंला’ खालको दसैं हुन्छ । जे–जसरी भए पनि मीठो–मसिनो खानैपर्ने, राम्रो लगाउनैपर्ने चाडजस्तो बन्न पुगेको छ– दसैं । बजारको दसैं सुनसान हुन्छ किनभने यतिबेला खासै व्यापार–व्यवसाय चल्दैन । बरु सबैभन्दा पहिला बजारमा दसैं आइपुग्छ ।

हामी दसैंका लागि किनमेल गरेर गाउँसम्म दसैं पुर्याउँछौं । गाउँमा दसैं आइपुग्दा बजारबाट बिदा भइसकेको हुन्छ । सहरको दसैं भने बडो अचम्मको हुन्छ । लामो बिदा दिइने भएकाले सहरमा बसेका मान्छेलाई दसैं गाउँ फर्काउने अवसर बन्छ । अनि अर्को कुरा चाहिँ सहरमा बाह्रै महिना ‘खाने, पिउने, लगाउने’ काम हुने भएकाले दसैं खास नयाँ लाग्दैन । त्यसैले दसैंमा सहरका मान्छे घुम्न जान्छन्, जुवाका अखडा खडा गर्छन् । सहरमा दसैंलाई पूरै नशा लागेको हुन्छ । त्यो नशा केको हुन्छ, भनिरहनुपर्दैन ।

दोस्रोथरी दसैंको कुरा गरौं । दसैं जातअनुसार पनि आउँछ । हिन्दु जातपातको व्यवस्थाअनुसार हेर्दा ब्राह्मणको घरमा आउने दसैं र दलितको घरमा आउने दसैंमा धेरै भिन्नता हुन्छ । दसैंमार्फत हिन्दु उच्च जात (ब्राह्मण) ले क्षेत्री, वैश्य र शुद्रमाथि आफ्नो सांस्कृतिक श्रेष्ठताको स्मरण गराउँछ । दलितले प्रत्येक दसैंमा आफूलाई सबैभन्दा पिँधमा बसेको मान्छे ठान्न पुग्छ ।

तेस्रोथरी दसैंको कुरा गरौं । आर्थिक सम्पन्नताका आधारमा पनि हाम्रो समाजमा दसैं आइपुग्छ । धनीहरूका लागि दसैं ‘दसैं’ नै भएर आउँछ, उनीहरू खुब मस्ती गर्छन् । तर, गरिबका लागि चाहिँ दशा भएर आइपुग्छ, ऋण लगाउने चाड भएर आइपुग्छ ।

अब चौथोथरी दसैंको पनि कुरा गरौं । यो विजेता शासक र युद्धमा पराजितहरूको दसैं हो । पृथ्वीनारायण शाहले नेपालका स–साना राज्यलाई जित्नुभन्दा पहिला यो दसैं उतिसारो चिनिएको चाड होइन । पृथ्वीनारायण शाहको विजय अभियानसँगै दसैं पनि गोरखाबाट बोकिएर काठमाडौं आइपुग्न थाल्यो । नेपालमा पहिलोपटक दसैं थाहा पाउने गैरहिन्दु जाति नेवार हो । त्यसपछि यो दसैं राज्यको कडा नीतिमार्फत देशभरि फैलियो । किरातीले धेरै पछि दसैं थाहा पाएका हुन् । जंगबहादुर राणाले मुलुकी ऐन जारी गरेपछि धनकुटाका आठपहरिया राई जातिका दुईजना अगुवाले ‘हामी किरातीलाई दसैं थाहा छैन, हामी मनाउँदैनौं’ भन्दा मारिए । त्यसो भन्ने किरातीहरू थिए– रिदामा र राङ्ग्रिहाङ, जसलाई हिजोआज राम्लिहाङ भन्न थालिएको छ । यसरी गैरहिन्दुका लागि दसैं आफ्नो पराजयको उत्सवजस्तो लाग्छ । तर पनि उनीहरू दसैं मान्न बाध्य छन् । यही कारणले ‘दसैं बहिष्कार’ जस्ता आन्दोलन पनि भए । धेरैले दसैं मान्न पनि छाडे । पहिला नमानेमा मारिने, थुनिने डरले माने, अहिलेचाहिँ सबैभन्दा लामो बिदा दिइने बाध्यताका कारण मानिइरहेका छन् ।

साकेला, ल्होसार, माघी, फागुजस्ता चाडमा पनि दसैंमा जस्तै लामो बिदा दिइने हो भने सायद उनीहरू त्यही चाडमा रमाउँछन् ।
जहाँसम्म हलेसीको दसैंको कुरा छ, यसको खास छुट्टै कथा नभए पनि राज्यले कसरी फकाएर र थर्काएर दसैं मान्न लगाएको थियो भन्नेचाहिँ रोचक छ । हलेसी तुवाचुङ नगरपालिका–५ दर्छिमका कृपासुर राई अहिले बितिसक्नुभयो । जीवित हुँदा उहाँले सुनाउनुभएको थियो, ‘दसैं आउनुअघि फूलपातीका दिन हलेसीगढी रहेको रावाचुङ (कोटडाँडा) मा सरकारका तर्फबाट राँगा ढालिन्थ्यो । राँगाको मासु लिन घर्लौरी उर्दी गरिन्थ्यो । सरकारले दिएको राँगाको मासुको प्रसाद लिएर गाउँलेले आफ्नो घरमा दसैं भित्र्याउँथे ।’ यो फकाउने तरिका थियो । अर्कोचाहिँ हरेक घरमा दसैंमा भोग ढाल्नुपथ्र्यो । भोग ढालेको प्रमाणका रूपमा सुँगुर र राँगाको रगतमा हातको पञ्जा चोपेर घरको भित्तामा छाप लगाउनुपथ्र्यो । त्यो छाप जाँच गर्न सरकारी कर्मचारी आउँथे, जसको घरमा रगतको छाप हुँदैनथ्यो, ऊ कारबाहीमा पथ्र्यो ।

दसैंसँग जोडिएका आफ्नै कथा र पीडा छन् । त्यति हुँदाहुँदै पनि दसैं एक–अर्काप्रति सद्भाव र सम्मान व्यक्त गर्ने अवसर हो । दसैं मान्नेलाई शुभकामना दिऔं, नमान्नेलाई हिजोझैं मान्न कर पनि नलगाऔं । बरु दसैंमा मात्र होइन साकेला, ल्होसार, फागु, माघीजस्ता चाडमा पनि आपसमा शुभकामना र सद्भाव दियौं भने साँच्चै नेपालीमा एकता र एक–अर्काप्रति सम्मान बढ्छ । समृद्ध नेपाल, एकताबद्ध नेपाल बनाउने सांस्कृतिक सूत्र यो पनि हो ।

(तुवाचुङ वर्ष १, अंक १२, २०७५ बाट ।)

प्रतिक्रिया दिनुहोस्