पत्रकारितामा सात वर्ष बिताउँदाको सास्ती


भुपिन्द्र कोयी । तस्बिर : दीपेन्द्र राई

सुङ्देल (खोटाङ) भुपिन्द्र कोयीको लय फेरिएको छ । सुङ्देल, खोटाङका कोयी पत्रकारिता छाडेर अध्यापन पेसामा संलग्न छन् । अध्यापनमै रमाइरहेका उनी पत्रकारितामा बिताएको उन्नत समय सम्झँदा रोमाञ्चक बन्छन् ।

किसनचन्द्र राईको सम्पादकीय नेतृत्वमा खोटाङबाट प्रकाशन हुने भावना साप्ताहिक (हाल : बन्द) बाट उनले पत्रकारिता यात्रा थाले । भावनाको परिचयपत्र बोकेर उनले सुरुताका सुङ्देल र बाक्सिलाआसपासका समाचार लेखे ।

पत्रकार परिचयपत्र बोकेर समाचार संकलन गर्न विभिन्न ठाउँ पुग्दा गौरव लाग्ने नै भयो । परिचयपत्रले बोलेको भूमिका निर्वाह गर्न पाउँदाको गौरव शब्दमा व्यक्त गर्न त्यति सजिलो छैन ।

साप्ताहिकमा काम गरिरहेका उनी काठमाडौंबाट प्रकाशन हुने नेपाल समाचारपत्र दैनिकमा जोडिए । सो दैनिकसम्बद्ध सूर्य सम्बाहाम्फेले खोटाङ छाडेपछि उनले अवसर पाए । हातले समाचार लेख्ने समय थियो । इमेल, इन्टरनेटको सुविधा थिएन । लेखेको समाचार सम्प्रेषण गर्न फ्याक्स गर्नुपथ्र्यो । फ्याक्स गर्न ऐंसेलुखर्क वा अर्खौलेसम्म पुग्नुपथ्र्यो । ‘द्वन्द्वकालमा समाचार पठाउन त्यति सजिलो थिएन ।

भुपिन्द्र कोयी । तस्बिर : दीपेन्द्र राई

सेनाले हैरान पार्थे,’ भूपिन्द्र कोयीले विगत सम्झे, ‘तयार पारेको समाचर सम्प्रेषण गर्न लुकेर टेलिफोन र फ्याक्स गर्नुपर्ने बाध्यता थियो । त्यतिबेला सँगै पत्रकारिता गर्ने कतिपय सहकर्मी विस्थापित भए ।’
दुःख–सुख सात वर्षसम्म निरन्तर पत्रकारिता गरेका कोयीले स्पेसटाइम दैनिकमा समेत काम गरे । गर्दै जाँदा पत्रकारितामोह बढ्दै गयो । सात वर्ष पत्रकारिता गर्दा एक पैसा हात लागेन । ‘पारिश्रमिक पाइन्छ भन्ने थाहा पनि भएन,’ उनले जानकारी गराए, ‘नेपाल समाचारपत्र दैनिकको तपाईंको पारिश्रमिक मैले निकालें है दाइ भनेर सूर्य सम्बाहाम्फेले भन्नुभयो ।’ उनले स्पेसटाइम दैनिकबाट पनि पारिश्रमिक लिएनन् ।

‘हिमाल खबर पत्रिकामा डोकोसम्बन्धी एक फिचर प्रकाशन भएको थियो,’ उनले खित्का छाडेर हाँसे, ‘कामविशेषले काठमाडौं गएको थिएँ । पारिश्रमिक लिन हिमालको कार्यालय पुग्दा सूर्य सम्बाहाम्फेले निकालिसकेका रहेछन् । मैले उहाँलाई केही भनिनँ ।’

प्रतिक्रिया दिनुहोस्