‘जाडोयाममा ६ बजे उठ्छु । अरू बेला ४ः३० देखि ५ बजेसम्म उठिसक्छु । उठेर बिहानको नित्यकर्म गर्छु । पानी पिउँछु । मर्निङवाक निस्कन्छु । घर फर्केपछि भेटघाट सुरु हुन्छ,’ केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले सुनाए, ‘साथीभाइ, इष्टमित्र, पालिकावासी सेवाग्राही आइरहन्छन् । भेटघाटका लागि मैले निश्चित समय तोकेको छैन । म जतिबेला पनि जोकोहीसँग भेटघाट गर्छु ।’
पाँचजनाको परिवार । एक छोरी र एक छोरा काठमाडौंमै पढ्छन् । गाउँमा तीनजना मात्रै । सानी छोरीलाई स्कुल पठाउनुपर्छ । श्रीमती व्यापारमा व्यस्त । त्यसैले बिहान ९ देखि ९ः३० सम्ममा खाना खाइसक्छन् । लगत्तै क्रमशः बाहिरिन्छन् ।
बिहान कतै कार्यक्रम छैन भने समयमै कार्यालय पुग्छन् । ढिलामा १०:२० बजे कार्यालय टेसिसकेका हुन्छन् । बाहिरफेर कार्यक्रम परेन भने कार्यालयमै बिताउँछन् । कार्यालयीय काममै समय सदुपयोग गर्छन् । ‘म कार्यालय नगएको दिनको फाइल हेर्छु । के–के काम भए, के–के बाँकी छन् ? चासोसाथ पहिचान गर्छु,’ केपिलासगढी गाउँपालिका अध्यक्ष राईले थपे, ‘रिपोर्ट लिन्छु । दैनिकजसो शाखागत रिपोर्ट लिने गरेको छु ।’
कार्यालयमा भेटघाट गर्नेको ‘क्याराभान’ लाग्छ । उनको कार्यकक्षमा जोकोहीलाई प्रवेश खुला छ । ‘सामान्यभन्दा पनि सामान्य मानिसले मलाई भेट्न पाउनुपर्छ । उसको कुरा मैले सुन्नुपर्छ । तसर्थ, अधिकांश समय भेटघाटमै बित्छ,’ उनको मान्यता छ, ‘मेरो कार्यकक्षबाहिर ‘पब्लिक’लाई उभ्याइनुहुँदैन । कार्यपालिकाको बैठकबाहेक मेरो कार्यकक्षमा गोप्य भन्ने नै हुँदैन ।’
कार्यालयमा रहँदा कार्यालय समय घर्किंदासम्म पनि भेटघाटलाई सहज बनाएका छन् । पालिकावासीको समस्या र गुनासा सुन्नुपर्यो । किनकि उनी जनप्रतिनिधि हुन् ।
कार्यालयबाट फर्केपछि सरसफाइ गर्छन् । बजारमै बस्ने भएकाले भेटघाट गर्न खोज्नेको भीड लागिहाल्छ । बाँकी समय छोरीसँग खेलेर रमाउँछन् । छोरीसँगै रमाउँदै सञ्चारमाध्यममा सर्ससर्ती आँखा लगाउँछन् ।
बेलुकाको खाना ७ः३० देखि ८ बजेसम्म खाइसक्छन् । फुर्सद हुँदा श्रीमतीसँग मिलेर भान्छाको काम गर्छन् । जनप्रतिनिधि भइसकेपछि श्रीमतीलाई चाहेर पनि व्यवसायमा सघाउन पाएका छैनन् । ‘छोरीको पढाइमा चासो राख्नु स्वाभाविकै हो । उनलाई होमर्वक गराउने मामिलामा म उदार छु । उनलाई पढाउन, लेखाउन दबाब दिन हुँदैन भन्ने मेरो मान्यता छ,’ उनको बुझाइ छ, ‘विद्यालयले दिएको सबै होमवर्क गर्नैपर्छ भन्ने छैन । म उनको गतिविधिमात्रै वाच गर्छु । विद्यालयमा पढाउने, घोकाउने, लेखाउने गरिन्छ । घरमा पनि त्यसै गर्दा उनको कलिलो मस्तिष्कमा भार पर्छ ।’ श्रीमान्ले त्यसो भन्दा छोरी बिगार्ने हुनुभयो भन्दै श्रीमतीले चिन्ता व्यक्त गर्छिन् ।
खाना खाइसकेपछि समाचार विस्तृतमा पढ्छन् । टीभी हेर्छन् । किताब पढ्छन् । दिनभरिको व्यस्तताले कतिपय अवस्थामा फोन ‘रिसिभ’ गर्न पाएका हुँदैनन् । मोटरसाइकलमै हिँड्ने भएकाले कतिपय अवस्थामा फोन आएकोसमेत उनलाई थाहा हुँदैन । तसर्थ, प्राथमिकताका आधारमा ‘कल ब्याक’ गर्छन् । ‘अर्जेन्ट’ काम परेर जोकोहीले कल गर्दा फोन ‘रिसिभ’ भएन भने ‘मेसेज’ गर्नुहोला है भनेका छन् । दैनिकजसो सबै ‘मेसेज’को ‘रिप्लाई’ दिन्छन् ।
ओछ्यानमा पुग्दा रातिको ११ बज्छ । भोलिको दिन राम्रो होस् भन्दै निदाउँछन् ।