कपाल डेडलक । दाहिने कानमा १२ र देब्रेमा ६ गरी १६ वटा ‘पियर्सिङ’ । दुवै आँखामा पाँच/पाँच, ओठमा तल–माथि दुई/दुई, दुवै गालामा एक/एक, जिब्रो, गर्धन, नाइटोमा एक/एक र नाकमा दुईवटा पियर्सिङ । नाकमै दुई बुलाकी । देब्रेकानमा ‘टनेल’, दाहिनेमा जिसस क्राइस्टअंकित मुन्द्रा । दाहिने आँखामा सेतो र देब्रेमा रातो लेन्स । आँखामा गाजल । ओठमा कालो लिपिस्टिक ।
यही हो, झरना गुरुङको बाहिरी रूप । यही रूपमा पहिलोपटक देख्ने जोकोहीले अचम्म मान्दै गुरुङलाई हेर्ने गर्छन् । अचम्म मान्दै फर्की–फर्की हेर्नेले हेर्दै गर्दा उनी गन्तव्यतर्फ अगाडि बढिसकेकी हुन्छिन् । उनी आउँदै गरेको परैबाट देख्ने बटुवाले बाटोसमेत छाडिदिने गर्छन् । बाटो किन छाडिदिन्छन् ? झरना भन्छिन्, ‘त्यो त मैले समेत पहिल्यान सकेकी छैन ।’
बाहिरी रूपका अलावा उनको अर्को परिचय पनि छ । उनको ट्याटु र पियर्सिङप्रति गहिरो रुचि छ । दाहिने हातको पाखुरामा मुरकटा, सोही पाखुरामुनि बुवा तुलबहादुर गुरुङ, छातीमा लाटकोसेरो र आङ ढाक्नेगरी युवतीको ट्याटु खोपेकी छन् ।
पहिलोपटक कुन अंगमा ट्याटु खोप्नुभयो ? ‘दाहिने हातको पाखुरामा चार घन्टा लगाएर मुरकटाको ट्याटु खोपाएँ ।’ झरनाले त्यसपछि क्रमशः पाखुरामुनि बुवाको, घाँटीमा लाटकोसेरो र आङमा युवतीको ट्याटु खोपिन् । अहिलेसम्म उनले आफ्नो शरीरमा २३ घन्टाभन्दा ट्याटु खोपाएकी छन् । यति धेरै समय लगाएर ट्याटु खोपाए पनि उनलाई ज्वरोसम्म आएको छैन ।
मानिसलाई असावधानीवश काँडा वा सियोले सामान्य रूपमा घोच्दा त पीडा हुन्छ भने ट्याटु र प्रियर्सिङकी सौखिन उनलाई ट्याटु खोप्दा दुख्दैन होला त ? ‘दुख्न त धेरै दुख्छ नि तर यसैमा अभिरुचि भएकाले ट्याटु खोप्दाखोप्दै आनन्द लिन्छु ।’
नेपाली समाजले ट्याटु र प्रियर्सिङ गर्ने व्यक्तिलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । पश्चिमा सभ्यतामा पाच्य मानिए पनि नेपाली समाजलाई ट्याटु र पियर्सिङ पचेको छैन । त्यसो भए झरना गुरुङले अहिलेसम्म के–कस्ता आरोप खेपेकी होलिन् ? उनी सोध्छिन्, ‘नाक, कान छेडेर गहना लगाउँदा समाजलाई पाच्य हुने तर ट्याटु खोपाउँदा र पियर्सिङ गर्दा त्यही समाजले अनावश्यक टिप्पणी गर्नु किन ?’ नेपाली समाज संकुचित रहेकाले अनावश्यक टिप्पणी गरेको हुन सक्छ भन्ने उनको बुझाइ छ ।
पृथक पहिचान बनाउन ट्याटु खोपाएर पियर्सिङमा सार्वजनिक हुँदा उनलाई आफ्नै परिवारले स्वीकार गर्न गाह्रो परेको थियो । लगातार दुई वर्षसम्म सम्झाइ–बुझाइ गरेपछि परिवार ‘कन्भिन्स’ भएको उनले सुनाइन् । घरपरिवारलाई ‘कन्भिन्स’ गरे पनि आफन्त, शुभचिन्तक, इष्टमित्र, टोलछिमेकलाई ट्याटु र पियर्सिङको महत्व बुझाउन नसक्दा उनीमात्रै होइन परिवारले अनावश्यक तनाव झेल्नुपरेको थियो । जुन अहिले कम हुँदै गएको छ ।
बाटामा देख्नेले नकारात्मक टिप्पणी गरेको आफ्नै कानले सुनेको बताउने उनले त्यस्तैखालको टिप्पणी गरेर घरपरिवारलाई तनावमा पारे पनि आफूले भने वास्तै नगर्ने बताइन् । किन ? उनी प्रस्ट पार्छिन्, ‘ट्याटु भनेको पनि कला हो । म यसैमा रमाएकी छु । दुनियाँले जेसुकै भनोस् । म मेरो पृथक जीवनशैलीमा रमाएकी छु ।’ ट्याटु खोपाउँदा छालाको क्यान्सर हुने बताइन्छ । यो भनाइसँग उनी सहमत छैनन् । उनको बुझाइ छ, ‘त्यसबाट बच्न सावधानी अपनाइएको हुन्छ ।’
उनको रूप देखेर कतिपय डराउने गर्छन् । आफूलाई देखेर सामान्य मानिस डराऊन् भनेरै दुवै आँखामा लेन्स लगाएको गुरुङ बताउँछिन् । उनको आँखामा ध्यानपूर्वक हेरियो भने दाहिनेमा सेतो रङको सानो देब्रेमा रातो रङको ठूलो लेन्स देख्न सकिन्छ । उनको पृथक रूप देखेर लोभिनेहरू पनि छन् । कतिपयले फोटो खिच्ने अनुरोध गर्छन् भने म्युजिक भिडियोमा अभिनयका लागि समेत अनुरोध गर्ने थुप्रै छन् । म्युजिक भिडियोमा अभिनयको रुचि नभएकाले उनी अस्वीकार गर्छिन् । गुरुङ अहिले ट्याटुसम्बन्धी विभिन्न सीप सिक्दै छिन् ।
प्रत्येक मानिसका बाँच्ने जीवनशैली पृथक हुन्छन् । जीवनशैली पृथक बनाउन सम्बन्धित व्यक्तिले अनेक प्रयास गरेका हुन्छन् । त्यसमा ओखलढुंगा रुम्जाटारी झरना गुरुङ अछुतो रहन सकिनन् । २०५० भदौ १० गते जन्मेकी उनले आफूलाई आमनेपाली महिलाभन्दा पृथक पहिचान बनाउन अरूभन्दा धेरै ट्याटुमात्रै खोपाइनन् र पियर्सिङसमेत गरेकी छन् । त्यतिमात्रै होइन, उनले बडी ‘सन्सेपेन्सन’ (छाला प्वाल पारेर डोरीमा झुन्डिने) गरेर लगातार पाँच मिनेट झुन्डेकी छन् । छाला प्वाल पारेर डोरीमा झुन्डिने उनी नेपाली पहिलो महिलासमेत हुन् ।
छोरीको पृथक जीवनशैली देखेर झरना गुरुङकी आमा खुसी छिन् । पहिले छोरीसँग सँगै हिँड्न मन नपराउने आमा अहिले छोरीसँग हिँडदा गर्व गर्छिन् । गर्वभित्र सानोतिनो पीडा हुने नै भयो । उनकी आमालाई सानोतिनो पीडाचाहिँ किन भयो होला ? झरनाले प्रस्ट्याइन्, ‘मेरो घरबार हुँदैन होला भनेर उहाँ कहिलेकाहीं चिन्ता व्यक्त गर्नुहुन्छ । कुन घरपरिवारले मेरी छोरीलाई बुहारी स्वीकार्लान् भन्दै मसँग सोधनी गर्नुहुन्छ ।’ आमाले छोरीको चिन्ता गरे पनि उनलाई भने यतातिर सोच्नै फुर्सदै छैन ।
छुट्टिने बेला झरना गुरुङलाई पूरा गर्न बाँकी रहरबारे जिज्ञासा राख्दा उनले गर्वसाथ भनिन्, जिब्रो ‘मोडिफाइ’ काटेर दुइटा बनाउने । कान चमेराको जस्तो र दाँतलाई भ्याप्पाजस्तो बनाउने रहर छ ।