माओवादी खोटाङले खनेको त्यो बाटो


तस्बिर सौजन्य : सुविन्द्र गिरी

डिकुवा (खोटाङ) ।  जनयुद्धको रौनक उस्तै थियोे । भूमिगत रूपमा गर्नुपर्ने काम खुला गर्न पाइएको थियो । यस्तो बेला पार्टी काममा अनुशासन अलि कमजोर हुँदोरहेछ । जनयुद्धमा फौजी अनुशासन लागू हुन्थ्यो ।

हामी दिक्तेलमा थियौं । २०६२ असार ५ गते पार्टीले दिक्तेलमा फौजी कारबाही गरेको थियोे । कारबाहीमा परेको सरकारी कार्यालय हेर्थ्यौं । फौजी कारबाही गर्ने माओवादी अकस्मात् दिक्तेलमा भरिभराउ हुँदा स्थानीय राई, आचार्य र अन्य समुदाय माओवादीसँग नजिकिन चाहन्थे । त्यसको परिणाम पहिलो संविधान सभा निर्वाचनताकाको मतले स्पष्ट पार्यो । जिल्लाका दुई निर्वाचन क्षेत्रमध्ये १ मा रामकुमार राई ‘पासाङ’ र २ बाट समिता कार्की ‘अस्मिता’ निर्वाचित भए । पासाङ र अस्मिता पहिलो जननिर्वाचित सभासद् बने ।

माओवादीभित्र निर्वाचनमा जानुपर्छ भन्नेको बहुमत थियोे । जानुहुँदैन निरन्तर क्रान्तिमा लागिरहनुपर्छ भन्ने अर्को पक्षको धारणा थियो । खोटाङको हकमा निर्वाचनमा जानुहुँदैन भन्ने पक्षमा रत्नकुमार राई ‘दर्शन’ थिए । दर्शनले जिल्ला पार्टीमा यस्तो मत राख्दै आएका थिए । अन्ततः चुनावी पक्षधर माओवादीले रत्नकुमार राईलाई वैचारिक हिसाबले बेस्सरी ताछ्न थाले । खुइल्याउँदै, एक्ल्याउँदै लगेर राजनीतिबाटै सिध्याउन प्रयत्न गरियो । त्यसको झल्कोका रूपमा दिक्तेलको कुमारी चलचित्र हलको भेलामा व्यक्त अभिव्यक्तिले प्रस्ट्याउँथ्यो ।

त्यसपहिलेको बैठक टेम्मा माध्यमिक विद्यालयमा भएको थियोे । बैठकमा हेलिकोप्टर चार्टर गरेर दिक्तेलदेखि काठमाडौं या विराटनगर गएको प्रश्न उठेपछि कमरेड अस्मिता र प्रतिभाले रुँदै आत्माआलोचित हुनुपरेको थियोे । त्यसपछिको बैठक हो– कुमारी चलचित्र हलमा भएको ।

त्यतिबेलासम्म जनसरकारको काम रोकिएका थिएनन् । स्थानीय सत्ता माओवादीको कब्जामै रहेकाले सरकारबाट गरिने विकास निर्माणका काममा जिल्ला विकास समितिले माओवादीसँग सहकार्य गथ्र्याे । त्यसताका काठमाडौंदेखि खुर्काेट, घुर्मी हुँदै हलेसी दिक्तेलसम्मको बाटो जोडिएको थिएन । हलेसी–तुवाचुङ–अर्खाैले–बिजुले–महुरेसम्मको बाटो माओवादीले खनेको थियोे । सरकारी बजेटमा बाटो पहिले पनि खनिएको हो । प्रयोगमा आउन नसकेको र पहिरोले धेरै ठाउँमा बिगारेको थियो । पुनःनिर्माण गरी बाटो खुलाउन जिल्लामा सरकारसँग बजेट कम थियोे । माओवादी शान्तिप्रक्रियामा आउनेबित्तिकै जिविस खोटाङसँग सहकार्य गरेर माओवादीले १९ लाखमा बाटो खन्योे ।

महुरेदेखि दिक्तेलसम्म मुढे ब्यारेकका सेनाले ८ लाख ५० हजारमा खन्ने सम्झौता गर्यो । महुरेदेखि हलेसीसम्म माओवादीले । महुरे–हलेसी खण्डको दुई किलोमिटर बाटोमा चट्टानैचट्टानले भरिएको थियोे । तुुवाचुङदेखि बर्खेटार र धितुङ झर्ने घोडेटो बाटो छुट्ने ठाउँ नजिकैदेखि ऐसेलुखर्क भञ्ज्याङपट्टि ब्लास्टिन पड्काएर सडक निर्माण गरिएको हलेसीका थामबहादुर राईले जानकारी गराए । त्यहाँ ठुल्ठूला चट्टानका पहरा रहेकाले सडक खुल्न सकेको थिएन । त्यतिबेला माओवादी खोटाङसँग रहेको झन्डै ४५ सय अर्डिनरी डेटोनेटर (ओडी) र इलेक्ट्रोनिक डेटोनेटर (इडी)सहित आठ हजार किलोग्राम एक्प्लोड पाउडर विस्फोट गरिएको पुण्यबहादुर आलेमगर ‘हिरण्य’ले बताए । ब्लास्टिन गर्दाको मात्रै खर्चको हिसाब गर्ने हो भने झन्डै ८० लाखभन्दा धेरै हुन्छ ।

जनयुद्धताका ओडी र इडीको मूल्य प्रतिगोटा ६० देखि ८० रुपैयाँ पर्ने तात्कालिक जनमुक्ति सेनाले बताउँथे । एक्प्लोड पाउडर प्रतिकिलो तीन सय रुपैयाँभन्दा धेरै पर्थ्यो । माओवादी खोटाङले जनताको पैसा जनताकै विकासमा खर्च गरेका उदाहरण थुप्रै छन् । ‘सडक निर्माण गर्न माओवादीले ११ लाख रुपैयाँमा सम्झौतामा गरेको थियो,’ दर्शनले भने, ‘पार्टीका कलाकार र जनवर्गीय संगठनका सदस्यले सडक निर्माण गर्न रासनपानीका निम्ति ७ लाख लिएका थिए ।’

विरोधका लागि विरोध गर्ने संस्कृति मौलाउँदो छ । कतिपयले भन्थे, ‘त्यो ११ लाखले हलेसी–महुरेसम्म २१ किलोमिटर बाटो त खनेका हुन् । यसो झारपात उखेलेर फाल्नलाई त त्यो पनि बढी रकम भयो ।’

चट्टान फुटाउन सहजीकरण गरिदिएकोमा खोटाङे ब्यापारीले माओवादी खोटाङलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यतिबेला घुर्मीको सुनकोसीमा पुल बनेको थिएन । जयरामको दुधकोसीमा पनि त्यस्तै । तसर्थ, जयरामपारि ओखलढुंगासम्म मात्रै सवारीसाधान आउँथे ।

माओवादी खोटाङ र तात्कालिक शाही सेनाले हलेसी–दिक्तेल सडक निर्माणपछि माओवादी खोटाङ जिल्ला जनसरकार प्रमुख दर्शन किरातीको पहलमा हेलिकोप्टरबाट दुई गाडी ल्याउन छलफल चल्यो । दर्शनको प्रस्तावलाई साकार पार्न खोटाङे व्यापारी कुमार खत्री (हलेसी), गोपी उदास, बाबुकाजी कार्की, समुद्र जोशी, उपिन राई (दिक्तेल)लगायतले एउटा सानो जिप र मिनीट्रक खरिद गरी हेलिकोप्टरमा झुन्ड्याएर ०६४ पुस २० गते दिक्तेल बजारमा दुई गाडी ल्याइयोे ।

सुरुमा केही समय हलेसी–दिक्तेल–दिक्तेल–लामीडाँडाका निम्ति मात्र सवारीसाधन सञ्चालन गरियो । सरकारले क्रमागत बजेटमा हलेसी–जयरामको बाटो खोल्ने, सफा गर्ने काम अघि बढायो ।

प्रतिक्रिया दिनुहोस्