नेविसंघ सदस्यदेखि काँग्रेस १ नम्बर प्रदेश सदस्यसम्म



नेपाली काँग्रेस प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशनमा लोकप्रिय मतसहित प्रदेश सदस्यमा निर्वाचित बिमला राईले गत मंसिर २१ सामाजिक सञ्जाल फेसबुकमा लेखिन्, ‘प्रदेश ऐतिहासिक अधिवेशनमार्फत मलाई सदस्यमा अत्यधिक मतले विजयी गराउनुहुने प्रदेश १ अन्तर्गत १४ जिल्लाका श्रद्धेय जिल्ला सभापतिज्यूहरू, महाधिवेशन प्रतिनिधि, महासमिति र प्रदेश प्रतिनिधिज्यूहरूलगायत सहयोग, शुभेच्छा राख्नुहुने सबैप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु । जय नेपाल ।’

काँग्रेस प्रदेश नम्बर १ बाट नवनिर्वाचित प्रदेश सदस्य राईले सहोदर दाजु तुलसी राईबाट नेपाल विद्यार्थी संघको सदस्यता पाएकी थिइन् । यो संवत् २०५३ सालतिरको कुरा हो । नेविसंघको सदस्यता पाएपछि उनी दाजुहरूको पछि लाग्न थालिन् । कामले काम सिकायो । दाजुहरूको पछि लागेकी उनले राजनीतिक यात्रामा भने कहिल्यै पछि फर्केर हेर्नुपरेन ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा त्यतिबेला माध्यमिक विद्यालय थिएन । तसर्थ, दुर्छिम माध्यमिक विद्यालय दुर्छिममा आठ कक्षामा भर्ना भएकी उनले नेविसंघ सदस्यको भूमिका पाइन् । त्यहींबाट एसएलसी उत्तीर्ण गरिन् ।

एसएलसीपछि अहेब पढ्न ओखलढुंगा पुगिन् । त्यहाँ राजनीति गर्न प्रतिबन्ध थियो । अहेब पढाइ सकेपछि दिक्तेल बहुमुखी क्याम्पस खोटाङमा दस जोड दुईमा भर्ना भइन् । दस जोड दुईको विद्यार्थी हुँदा ०५८ लागिसकेको थियो । त्यहाँ पनि नेविसंघमा रहेर काम गरिन् ।

राजनीतिक यात्राले मूलबाटो पछ्याउँदै थियो । संवत् ०६१ मा दिक्तेल बहुमुखी क्याम्पस इकाइ कोषाध्यक्षको जिम्मेवारी सम्हालिन् । अध्ययनले निरन्तरता पाएकै थियो । दिक्तेल बहुमुखी क्याम्पसबाट स्नातक तहको अध्ययन पूरा गरेपछि नेपाल महिला संघ जिल्ला सचिवको भूमिका पाइन् । राजनीतिसँगसँगै परियोजना (प्रोजेक्ट)तिर काम थालिन् । ‘प्रोजेक्टको कामले पोलिटिकल करिअरमा प्लस प्वाइन्ट भयो,’ उनले स्वीकारिन्, ‘पीआर बन्यो । समस्या पहिचान गर्न सघायो । योजना बनाउन त्यत्तिकै सजिलो भयो ।’

१० वर्ष परियोजनाको जागिरे बनिन् । यो संवत् ०५९ देखि ०६९ सम्मको कुरा हो । काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेकी उनले परियोजनाको लोभलाग्दो जागिर छाडिन् । परियोजना त्यागेर राजनीतिमा ‘होलटाइमर’ बनिन् । ‘होलटाइमर’ भएको पाँच वर्षमा हलेसी तुवाचुङ नगरपालिकाका नगर उपप्रमुखमा निर्वाचित भइन् ।

‘राजनीतिमै भविष्य खोज्दै छु,’ हलेसी तुवाचुङ नगरपालिकाका नगर उपप्रमुख निर्वाचित भएको वर्ष दिनपछि उनले पंक्तिकारसँग भनेकी थिइन्, ‘नीति निर्माण तहमा पुग्दा आफ्नोमात्रै होइन, अरूको समेत भविष्य उज्यालो बनाउन सकिन्छ ।’

ग्रामीण विकास (आरडी) मा स्नातकोत्तर उनी अरूको भविष्य उज्यालो बनाउने ध्याउन्नमा लागेकी छन् । राजनीतिमै ‘करिअर’ बनाउन लोभिइएकी छन् । हुन त राजनीति उद्योगका रूपमा परिणत हुँदै छ । राजनीतिलाई पेसा/व्यवसाय बनाउनुहुँदैन भन्नेको कमी छैन । त्यसो भए, राजनीतिक नेताले घर–व्यवहार कसरी चलाउने होला ? ‘राजनीति विशुद्ध सामाजिक काम हो,’ स्कुल अफ डेमोक्रेसी नेपाल खोटाङ अध्यक्षसमेत रहेकी उनले सुझाइन्, ‘सम्बन्धित राजनीतिक नेताका परिवारलाई व्यवसायसँग जोड्न सकिन्छ । सम्बन्धित नेताले समेत व्यवसाय गर्दा हुन्छ । त्यस्तो अभ्यास गरे राजनीतिका नाममा अनेक धन्धा गर्न पर्दैपर्दैन ।’

सरकारीमात्रै होइन, संस्थान तथा प्रतिष्ठानमा जागिर खान तहअनुसारको शैक्षिक योग्यता तोकिएको हुन्छ । कुनै पनि पत्रपत्रिकाको सम्पादक बन्न स्नातक तह उत्तीर्ण गरेको हुनैपर्छ । तर, राजनीति गर्न शैक्षिक योग्यता तोकिएको छैन । शैक्षिक योग्यता नतोके पनि हलेसी तुवाचुङ नगरवासीले ‘वेल एजुकेटेड’ नगर उपप्रमुख पाएको छ । ‘राजनीतिक चेतना नभई चेतनशील बन्न सकिँदैन,’ नगर उपप्रमुख राईले पुछारमा भनिन्, ‘राजनीतिक रूपमा सचेत मानिसले जीवनमा लोभलाग्दो प्रगति गर्न सक्छन् ।’

अन्तरपार्टी महिला सञ्जाल खोटाङ संस्थापक जिल्ला अध्यक्षको भूमिका निर्वाह गरिसकेकी उनले शिक्षाशास्त्र संकायमा स्नातक र अहेबको अध्ययनसमेत पार लगाएकी छन् । उनले कानुनमा स्नातक गर्दै छिन् ।

 

प्रतिक्रिया दिनुहोस्