हलेसी तुवाचुङ नगरपालिकाको प्रवक्तामा गिरी



दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाको प्रवक्ताको जिम्मेवारी कमल गिरीलाई दिइएको छ । हलेसी तुवाचुङ नगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकले गिरीलाई नगर प्रवक्ताको जिम्मेवारी दिएको हो ।

नगरपालिकाले गरेको गतिविधि, कार्यसम्पादन र निर्णय सरल, सहज र छिटोछरितो तरिकाले जानकारी गराउन उहाँलाई प्रवक्ताको जिम्मेवारी दिइएको हलेसी तुवाचुङ नगरपालिकको मेयर बिमला राईले जानकारी गराइन् ।

नगरवासी र सरोकारवाला सबैसँग सहकार्य र समन्वय गरेर पाएको भूमिका निर्वाह गर्ने प्रवक्ता गिरीले प्रतिबद्धता जनाए । उनी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडाध्यक्ष हुन् ।

युवा नेता कमल गिरी राजनीतिमा लागेको १५ वर्ष भयो । नेता गिरीले महेन्द्रोदय माध्यमिक विद्यालय नेपाल विद्यार्थी संघ इकाइ अध्यक्षबाट राजनीतिक यात्रा थालेका हुन् । यो संवत् २०६४ सालको कुरा हो । उनले ०६५ मा नेविसंघ खोटाङ क्षेत्र नम्बर १ क्षेत्रीय सभापतिको भूमिका पाए । लगत्तै तात्कालिक महादेवस्थान गाउँ विकास समिति सचिव भए । यो संवत् ०६६ को कुरा हो ।

त्यसपछि पार्टीले भूमिका थप्दै गयो । ०६७ मा नेविसंघ महाधिवेशन प्रतिनिधि बने । उनी नेपाली काँग्रेस हलेसी तुवाचुङ नगर कार्यसमिति सचिवसमेत हुन् । उनले महादेवस्थान गाविस सचिव भएर ०७४ सम्म काम गरे । ०७४ मै स्थानीय तह निर्वाचनमा होमिए । निर्वाचनमा पराजित भए । ‘तर, निराश भइनँ,’ उनले उत्साहित हुँदै सुनाए, ‘चुनाव भनेको काभ्रेको पनौतीमा लाग्ने १२ वर्षे मकर मेला होइन नि । पाँच–पाँच वर्षमा आइरहन्छ । मैले पुनः पाँच वर्ष मिहिनेत गर्नुपर्ने जनमत पाएँ । पाएको जनमत सहर्ष स्वीकारें ।’

पाँच वर्षमा गरेको मिहिनेत यसपटक फुल्यो । फल्यो ।

प्रतिक्रिया दिनुहोस्