गौरीले हिउँको घुम्टो ओढेकी । शंकरले हिउँकै टोपी लगाएका । अनि मानापाथीझैं चुलिएको नुम्बुर हिमाल । त्यसकै काखमा चलेको पूर्वको दूत (तामाकोसी–दुधकोसी) अभियान । जिल्ला सेक्रेटरी कमरेड रितबहादुर खड्का ‘प्रताप’को कमान्डमा दोलखाको गौरीशंकरदेखि रामेछाप, सोलुखुम्बु हुँदै ओखलढुंगाको दूधकोसी किनारसम्म चलाइएको राजनीतिक, फौजी र सांगठानिक अभियान । एकमहिने अभियान अर्थपूर्ण तरिकाले सम्पन्न भयो ।
त्यसपछि दोलखाकै उत्तरी क्षेत्रमा साफ अभियान चलाइयो । क. प्रतापकै कमान्डमा चलाइएको अभियान उत्तिकै प्रभावकारी बन्यो । अभियानले त्यहाँका सामन्ती, जाली, बदमासहरूले गरेका कुकृत्य पर्दाफास गर्यो । त्यतिमात्रै होइन, जाली तमसुक जलायो । बदमासहरूका घर–जग्गा कब्जा गरेर गरिब किसानलाई बाँडिदियो । थामी समुदायको गाउँ–बस्तीसम्म पुगेर चेतनाको विगुल फुक्यो ।
दुई अभियानपछि हाम्रो टोली सैलुङतिर लाग्यो । वर्षायामको मौसम । झमझम पानी परिरहेको थियो । जताततै जुका । विविध चुनौतीबीच कमिलाको ताँतीजस्तै अघि बढेको यात्रा । सम्पर्कमा पुग्नुपर्ने गन्तव्य टाढै थियो । सिन्धुपाल्चोकको चौतारा हुँदै ढाँडखोला पार गरेर पाँचखालको वीरेन्द्र सैनिक तालिम केन्द्रको छेवैबाट तामाघाट, भकुन्डेबेंसी, साँझकोट महाभारत पुग्यौं । महाभारत इलाका हाम्रा लागि त्यत्तिकै सुरक्षित ठाउँ । दस दिन र दस रात हिँडेपछि त्यहाँ पुगेका थियौं । त्यत्तिका समयावधि हिँड्दा पैतालाभरि फोका उठेका थिए । बाटैभरि खुट्टा ठोक्किनसम्म ठोक्किए । कतिपयका खुट्टाबाट रगत बगिरहेको थियो भने कतिपयको खुट्टामा रगत जमेको थियो । मेरो खुट्टासमेत चिराचिरा परेको थियो । जुकाको टोकाइ उस्तै । पानीले भिजेर लखतरान परेको ज्यान । तेल र बेसार दलेर पाइतालाका फोका ठीक पार्यौं । मिसन पूरा गर्न बाँकी थियो । वर्गबैरीको क्याम्पमा धावा बोल्ने मिसनमा दृढ थियौं ।
हामी प्रतापको घर पुगेपछि अन्य कमरेडसँग भेट भयो । तामाङ भाषामात्रै बुझ्ने बस्तीमा पूर्वाञ्चलको एकमात्र लडाकु (एसटीएफ) फोर्ससँग भेट भयो । एसटीएफ कमान्डर क. सुरेश श्रेष्ठ, एसटीएफ कमिसार क. शेरमान कुँवर ‘विशाल’ र कारबाही होल कमान्डर क. सन्तु दराई ‘परवाना’लगायतका एसटीएफ फोर्ससँग परिचय गर्यौं । मोर्चामा छिट्टै जानुपर्ने भएकाले हामीलाई कमिसार र कमान्डर कमरेडहरूले लक्ष्यबारे ‘म्याप ब्रिफिङ’ गरे । लक्ष्यबारे गहिरो अध्ययन गर्यौं । तर, अन्तिम रेकीपछि पहिलो ‘टार्गेट एक्सपोज’ भएकाले त्यहाँ अधिकतम फोर्स थपिएका कारण आक्रमण गर्ने योजना विफल भयो । हामी अर्को ‘टार्गेट’को विकल्पमा लाग्यौं । अन्तिम रेकीपछि टार्गेटमाथि धावा बोल्न तयार भयौं । वर्षायाम भएकाले झरी र जुकाले हैरान पार्थ्यो । मोर्चामा नपुग्दै हामी रगताम्य हुन्थ्यौं । शरीर गन्हाइरहन्थ्यो । यात्रामा रोकिने कुरै भएन । एक दिन, दुईरातको हिँडाइपछि ‘टार्गेट’को नजिक पुग्यौं । त्यहाँ पुगेपछि सेल्टर लियौं । दिनभरि एउटा सानो घरभित्र बसेर म्याप राम्रोसँग नियाल्यौं । अध्ययन गर्यौं । बेलुकी चौकी आक्रमण गर्ने योजनाबद्ध योजना थियो । कुन–कुन एसल्टको जिम्मा लिएर लड्ने र कसले सबैभन्दा पहिले रगत बगाउने भन्ने छलफल चल्यो । सबैको रगत बगे पनि मोर्चालाई सफल पार्नुपर्छ भन्दै सहिदलाई सम्झेर शपथ खायौं । राइफल सफा गर्यौं । बुलेट ठीक पार्यौं । आ–आफ्नो झोलामा बमगोला प्याक गर्यौं । त्यतिबेलासम्म हामी दुई किलोमिटर दुरीमा थियौं । त्यहाँ पनि हाम्रो ‘टार्गेट एक्सपोज’ हुन्छ कि भन्ने शंकाले दिनभरि एउटा सानो घरमा कोचियौं । त्यही घरको सानो र अँध्यारो कोठामा फौजी आक्रमणको योजनाबारे युद्धसम्बन्धी जुक्ति निकालिरह्यौं । आक्रमणबारे छलफल गरिरह्यौं । घाम घर फर्कंदै थियो । खाना पकाएर खान सम्भव थिएन । चिउरा र दूध खाएर पेट भर्यौं ।
चिउरा र दूध खाएर मोर्चामा जान तयार भयौं । घाम घर फर्किसकेको थियो । आ–आफ्नो झोला र बन्दुक बोकेर अघि बढ्यौं । ‘टार्गेट क्लियर’ गर्ने ध्याउन्नमा ६० जनाको फोर्स थियो । चौकी आक्रमण गरेपछि प्रहरीले आत्मसमर्पण गरे केही नगरी छाडिदिने र उनीहरूसँग भएका हातहतियार कब्जा गर्ने योजना तय भयो । त्यही योजनासाथ चौकीनजिकै पुग्यौं । प्रहरी जाँड खाएर हो–हल्ला गरिरहेका थिए । छाडा बोलिरहेको सुनिन्थ्यो । उनीहरूले स्थानीय दिदीबहिनीलाई जिस्क्याइरहेका थिए ।
चौकीनजिकै ‘लास्ट आरभी’मा पुगेपछि आ–आफ्नो एसल्ट आर्कतिर विभाजन भएर अघि बढ्यौं । कमान्डरको सेक्युरिटी गार्ड भएकाले म सुरेशसँगै अघि बढें । हामी ४ नम्बर एसल्टमा पर्यौं । सिमसिम पानी परिरहेको थियो । कमान्डर सुरेश त्यही आर्कबाट कमान्ड गर्ने योजनासहित हामीले हाम्रो घेरा साँघुरो पार्दै अघि बढ्यौं । र, आ–आफ्नो ‘पोजिसन’मा सेट भयौं । मोबाइलको बत्ती बाल्दै प्रहरी घरी–घरी हाम्रो आर्कतिर आइरहन्थे । मैले कमान्डरलाई सोधें, ‘फायर खोलौं ?’ उनले असहमति जनाउँदै भने, ‘२ नम्बर एसल्टले फायर खोल्छ ।’
लाग्थ्यो– युद्धमा सबैभन्दा पहिले कसले पहलकदमी लिन्छ, उसैको जित हुन्छ । यहाँ त्यस्तो अवस्था रहेनछ । कमान्डर कमरेडकै कासन आत्मसात् गरें । २ नम्बर एसल्टले कहिले फायर खोल्छ भन्ने प्रतीक्षामा थियौं । रात पर्दै गयो । कीराले गीत गाइरहेकै थिए । रातको ११ बजिसकेको थियो । २ नम्बर एसल्टले फायर खोलेपछि भीषण युद्ध सुरु भयो । हामीले चारैतिरबाट हमला गर्यौं । कमान्डरले प्रहरीलाई ‘हतियार फालेर आत्मसमर्पण गर’ भन्ने कासन गरे । प्रहरीले एकोहोरो फायरिङ गरिरहे । उनीहरूले गाउँलेसँग गुहार माग्दै चिच्याइरहे, ‘गाउँले हो, हामीलाई आतंककारीले घेरा हाले । आऊ हामीलाई बचाऊ ।’ प्रहरीको चित्कार सुनेर एक गाउँले चिच्याउन थाले । स्थानीय एक कमरेडले खबरदारी गर्दै उतैतिर फायरिङ गरेपछि ऊ चुप लाग्यो । चौकीमा लगातार आक्रमण गरिरह्यौं । १ नम्बर एसल्टबाट क. कमलप्रसाद शर्मा ‘दिनेश’ले प्रहरी चौकीको छतमा माइन चढाए । छतको माइन विस्फोट गरेपछि चौकी नियन्त्रणमा लियौं । त्यही समय क. भीष्मलाई गोली लाग्यो । उनी घाइते भए । भीडन्तकै क्रममा क. धर्म श्रेष्ठले शहादत प्राप्त गरिसकेका थिए । प्रहरीका शव यत्रतत्र देखिन्थे । आलो रगत गन्हाइरहेकै थियो । बारुदको धुँवासमेत गन्हाइरहेको थियो । हामीले चार थान थ्रीनट थ्री राइफल, ४०० राउन्ड गोली र केही थान संगीन (एकप्रकारको चक्कु) कब्जा गर्यौं ।
त्यसपछि धर्मको शव उठायौं । उनको शव तातै थियो । उनको शरीरबाट बगिरहेको रगतको टीका लगायौं । चौकीनजिकैको स्कुलको प्रांगण शव पुर्यायौं । सबैले शिर झुकाएर श्रद्धाञ्जली व्यक्त गर्यौं । कारबाही कमिसार विशालको ५ मिनेटको श्रद्धाञ्जली मन्तव्यपछि बाटो लाग्यौं । गम्भीर घाइते भीष्मलाई बोकेर अँधेरो बाटो उक्लियौं । कठिन बाटो उक्लिरह्यौं । घोडेचुली लेक पुगेपछि उज्यालो भयो । त्यसपछि घाइते बोकेर हिँड्ने स्थिति रहेन । भीष्म र महेशलाई जंगलबीचको गोठमा पुर्यायौं । ब्रुसेटबाहेक अन्य औषधि थिएन । हामी सबैले वालेटमा ब्रुसेट बोकेका थियौं । भीडन्त या मोर्चामा घाइते भइहालियो भने ब्रुसेट खाँदै हिँड्थ्यौं ।
स्लाइनपानीमात्रै दिन पाएको भए भीष्मलाई बचाउन सकिन्थ्यो । उनको पेटमा लागेको गोली बाहिर निस्कँदा मेरुदण्डसमेत भाँचिएको थियो । भीष्म र महेशलाई छाडेर पानीको भरमा फेरि उकालियौं । घाइतेलाई बोक्दा काँधका छाला खुइलिसकेका थिए । डाँडा पुग्दा आकाशमा हेलिकोप्टर ओहोरदोहोर गरिरह्यो । सुरक्षित हुँदै फेरि ओह्रालियौं ।
अजंगको पहाड नाघेपछि फेरि ओह्रालो लाग्यौं । बाटोभरि बस्ती देखिन्थे । स्थानीयले उत्सुकतापूर्वक हेरिरहन्थे । उनीहरूसँग वर्गीय माया साटासाट गर्दै अघि बढिरह्यौं । दुस्मनले पिछा गरिरहेकै थिए । हेलिकोप्टरमार्फत गस्ती व्यापक पारिएको थियो । सुरक्षित स्थान पुगेपछि भीमखोरी मोर्चाको समीक्षा गर्यौं । समीक्षाको निष्कर्ष निस्क्यो, ‘पूर्वाञ्चलमा फौजी कारबाहीमा अर्थपूर्ण आयाम थपियो ।’ मोर्चाले विजय हासिल गरेपछि पार्टी हेडक्वार्टरले शुभकामना पठायो ।
मोर्चा सम्बद्धले खुखियाली मनाइरहेको बेला मलाई भने त्यत्तिकै दुःखी बनायो । पार्टीका केही अवसरवादीले मेरो नाम जोडेर क्रस फायरको आरोप लगाए । म छाँगाबाट खसेझैं भएँ । गलत रिपोर्ट गरेर आफूलाई अब्बल बनाउन दुस्प्रयास गर्नेविरुद्ध मैले प्रतिवाद गरें । मेरो कमजोरी छ भने मलाई फाँसीमा चढाइयोस् भन्ने माग गरें । ममाथि लगाइएको आरोप गलत रहेको निष्कर्ष निकालियो ।
क्रान्तिभित्र प्रतिक्रान्ति जन्माउने र अर्काको खुट्टा तानेर आफू अघि बढ्ने प्रवृत्ति नौलो होइन । यानप्रसाद गौतम ‘आलोक’ले मलाई ‘डम्पिङ’ गर्ने (गल्ती गरिहालेमा सिध्याइहाल्ने) निर्णय गरेकोसमेत सुनेको थिएँ । त्यतिबेला ‘डम्पिङ’ गरिएको थियो भने मैले यी हरफहरू लेख्ने अवसर पाउने थिइनँ । म सहभागी पहिलो मोर्चा नै दुःखद बनेको थियो । एक जिम्मेवार कमरेडले क्रान्ति भनेको चट्टाने भीरको यात्रा हो भनेर सम्झाएपछि अलि ‘फ्रेस’ भएको थिएँ । १० दिनपछि भीष्मले प्राण त्यागेको खबर पायौं । उनको सपना साकार पार्न शपथ खायौं । उनको सम्झनामा श्रद्धाञ्जली सभा गर्यौं । क्रान्तिको बाँकी अभिभारा पूरा गर्न अघि बढ्नु त छँदै थियो ।