एउटै व्यक्ति २२ वर्ष प्रधानपञ्चको भूमिकामा


गनिल्याउँदा २२ वर्ष भनेको कम्ती होइन । २२ वर्षसम्म एउटै व्यक्तिले प्रधानपञ्चको भूमिका निर्वाह गर्नु पनि त सामान्य काम होइन । दानबहादुर राईले संवत् २०२६ देखि ०४८ सालसम्म च्यास्मिटार प्रधानपञ्चको भूमिका निर्वाह गरे ।

‘त्यतिबेलाको प्रधानपञ्च भनेको गाउँठाउँको राजासरह मानिन्थे,’ हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारनिवासी पूर्वप्रधानपञ्च राईले अतीत सम्झे, ‘हामी प्रधानपञ्चजतिले चाहिँ दुर्छिमका डिल्लीसेर राईलाई मान्थ्यौं ।’

राजनीति उद्योगका रूपमा फस्टाउँदै गएको सबैले अनुभूति गरेकै छन् । ‘त्यतिबेलाका र यतिबेलाको राजनीतिमा आकाश–पातालको फरक छ,’ उनले थपे, ‘हिजोआजको विकास निर्माण पैसासँग जोडिन्छ । त्यतिबेला त्यस्तो थिएन ।’

हुन त त्यतिबेला विकास निर्माणका काम खासै भएनन् । गाउँठाउँको बाटोघाटो खनिन्थ्यो । ‘बाटो खन्दा आफू (प्रधानपञ्च)सहित लागिपर्नुपथ्र्यो,’ उनले सुनाए, ‘प्रधानपञ्चलाई अन्य सुविधा थिएन । नाममात्रैको पद । अर्थात् नाममात्रैको प्रधानपञ्च ।’

संघीयता कार्यान्वयनमा आएपछि राजनीतिक फेरबदल हुनु अस्वाभाविक होइन । हिजोआज वडाध्यक्षको समेत मासिक तलब हुन्छ । कार्यालय सञ्चालन खर्च कम्तीमा मासिक एक लाख रुपैयाँसम्म हुन्छ । ‘तर, हाम्रो पालामा प्रधानपञ्चको भत्तासम्म थिएन,’ उनले जानकारी गराए, ‘आफूभन्दा माथिका पाहुना आउँदा मेजमान खुवाउनुपथ्र्यो ।’

‘हामी ६ भाइ, चार बहिनी । म घरकी जेठी । हाम्रो दुईवटा घोडा थिए । घरमा कतिबेला को पाहुना आउँछन् थाहा हुँदैनथ्यो । सधैं चामल हुन्छ भन्ने हुँदैनथ्यो । कहिलेकाहीं सकिएको हुन्थ्यो,’ पूर्वप्रधानपञ्च दानबहादुर राईको कुरा नसकिँदै ईश्वरकुमारी राईले बोलिन्, ‘पाहुना आएपछि धानको भात खुवाइन्थ्यो । राति–राति धान कुटेर पाहुनालाई मेजमान खुवाएको हिजैजस्तो लाग्छ । त्यतिबेला अहिलेजस्तो मिलको सुविधा थिएन ।’

नाममात्रैको प्रधानपञ्च भए पनि निर्वाचनमा उम्मेदवारी दिने भइहाल्थे । ‘मसँगै उठेका (उम्मेदवारी दिएका) गोलनबहादुर राई जीवितै छन्,’ उनले दुःखेसो पोखे, ‘जगतबहादुर राई र अर्का उम्मेदवार (यति नै बेला नाम ठ्याक्कै भन्न आएन) बितिसके ।’

प्रधानपञ्चमा उनको उम्मेदवारी परेपछि अरू उम्मेदवारको केही लाग्दैनथ्यो । हिजोआज लामो समय लामबद्ध भएर मतदान गर्नुपर्छ । ‘त्यतिबेला मतदान गर्न सजिलो । त्यतिबेला टाउका गनिन्थ्यो,’ उनले विगत कोट्याए, ‘भोट माग्न पनि घर–घर जानुपर्दैनथ्यो । गाउँ–गाउँ पुगे पुग्थ्यो । मतदान गर्नमात्रै होइन, भोट माग्न त्यत्तिकै सजिलो । भोट मागेपछि दिइहाल्थे ।’

च्यास्मिटारमा दानबहादुर राई प्रधानपञ्च हुँदा दुर्छिममा बडिमर्दन राई प्रधानपञ्च थिए । हलेसीमा धनबहादुर गिरी, बडहरेमा ईश्वरी दाहाल, बाहुनीडाँडामा घनश्याम पोखरेल र डिकुवामा दानबहादुर खत्री प्रधानपञ्च थिए ।

प्रतिक्रिया दिनुहोस्