वर्षायाम । कमरेड टंक तामाङ ‘मदन’सँग जिल्ला पार्टीको बैठक स्थल लिकुवापोखरी जाँदै थियौं । त्यता जान जिल्ला कार्यालयले सावाखोलामा फलेको धान कुटेर २५ बोरा तयारी राखेको रहेछ । जिल्ला सचिवालय सदस्य तथा एरिया सेक्रेटरीहरू समिता कार्की ‘अस्मिता’, प्रकाश चौलागाईं ‘विक्रम’, टंक तामाङ ‘मदन’, मीना कटवाल ‘प्रतिभा’, तेजबहादुर खड्का ‘श्याम’, मीनप्रसाद कोइराला ‘शिखर’, युवराम राई ‘सन्देश’, दानबहादुर राई ‘समुद्र’, सोनाम सज्जन किरातीसहित स्थानीय जनमिलिसिया सबैले बैठक स्थलका लागि आवश्यक रासन सावाकटहरेदेखि लिकुवापोखरीसम्म पिठ्युँमा बोकेर पुर्यायौं । म यस्तो जिल्लास्तरीय जमघटमा दोस्रोपटक सहभागी भएको थिएँ । त्यसअघि खिदिमाको सिद्धेश्वरी माध्यमिक विद्यालयमा पहिलोपटक सहभागी भएको हुँ ।
पंक्तिकारले पार्टीलाई श्रम सहयोग गरेकोचाहिँ पहिलो अनुभव थियो । ‘श्रमले मानिसको जीवन सुन्दर बनाउँछ । हामी त झन् समाजको मुहार फेर्ने, समाज बदल्ने मानिस । तर, कतिपय नेता तथा कार्यकर्ता श्रम गर्न रुचाउँदैनन्,’ अग्रज नेताहरू भन्थे, ‘अलि मान–सम्मान खोज्ने प्रवृत्तिका हुन्छन् । हामीभित्रकै कतिपय कमरेड यस्तो काम गरेर पनि क्रान्ति हुन्छ ? भन्दै प्रश्न गर्ने र अनावश्यक बखेडा झिकेर काममा ढिलासुस्ती गर्छन् ।’
हामी सावाकटहरेबाट वाप्लुखा, संकुलुङस्थित बरन्डबहादुर राईको घर पुग्नुपर्थ्यो । तर, यसबारे धेरैलाई थाहा हुँदैनथ्योे । यसबारे कमरेड अस्मितालाई मात्रै थाहा थियो । उपद्रो साथीहरू चामल बोक्नुपरेकोमा उपद्रै कुरो गर्थे । पार्टीले पहिले पनि यो ठाउँसम्म लैजाने भनेर साता दिन चामल बोकाएको गुनासो गर्थे । बाटो काट्न त सजिलै थियोे । समूहमा हिँडेपछि कसले के बोल्छ ? कसले के भन्छ ? बाटो काटेको पत्तै हुँदैनथ्यो । यो रमाइलो पक्ष । तर, हामीलाई त्यस्तो रमाइलोसँग उति सरोकार हुँदैनथ्यो ।
हामीभन्दा पाँच सय मिटर अगाडि हाम्रा सुरक्षार्थ दुई आईएन्टी कमरेड दुस्मनको निगरानी गर्दै हिँडेका हुन्थे । पछि–पछि सुरक्षित अनुभूति गर्दै हामी पछ्याउँथ्यौं । सावाकटहरे चन्डीथान, वाप्लुखा राङटाङका खेत छिचोल्दै जंगलनजिकको बस्ती पुग्यौं । दुई घन्टा चामल बोकेको पिठ्यूँले विश्राम पायो । हामी लिकुवापोखरीको वीणादेवी माध्यमिक विद्यालयको पश्चिमपट्टिको वारी, सावाकटहरेदेखि पूर्व–उत्तरकोे संकुलुङमा बरन्डबहादुर राईको घर पुग्यौं । हामीले बोकेको सामान स्टोरकिपरलाई बुझायौं ।
माओवादी कमरेडहरू संकुलुङभरि छ्याप्पै भए । जनमुक्ति सेना चारैतिर आ–आफ्नो आर्कमा बसिसकेका । उनीहरूले सुरक्षा प्रबन्ध दिइरहेका थिए । जिल्लास्थित नेतागणको बाक्लो उपस्थिति । बैठकलाई व्यवस्थित बनाउन सेक्रेटेरीयटहरू बैठक बसे । बैठकमा एसीएमहरूको जरुरी नपर्ने भएकाले हामी पार्टीले मिलाइदिएको ‘सेल्टर’ गयौं । सेल्टरदातासँग क्रान्तिबारे छलफल गर्यौं। पाँच–पाँचजनाको टोली बनाइएको थियो । पहिलो रात संकुलुङमै बितायौं । अझै तीन दिन बस्नु नै छ ।
संकुलुङमै रत्नकुमार राई ‘दर्शन’सँग भेट भयो । मैले डिकुवाको दाम्लीमै उहाँले भाषण टाढैबाट सुनेको थिएँ । तर, उनलाई देखेको थिइनँ । उनी क्षेत्रपालमा निर्वाचित भएको पनि सुनेको थिएा । क्षेत्रपालमा जिताउन मेरो पापाले पनि योगदान गरेको सुनेकै हुँ । बारम्बार सुनिरहेका व्यक्तिलाई संकुलुङमा अकस्मात् भेट्दा तीनछक परें । कमरेड दर्शन माओवादीमा लागेको थाहा नपाएर पनि त्यस्तो लागेको हुन सक्छ ।
दोस्रो दिन मलाईलगायतलाई दाउरा लिन संकुलुङ जंगल पठाइयो । दाउरा लिन जाँदै गर्दा दर्शनलगायत कमरेडहरू गोरु काटेर मासु टोलीलाई बिन्यास गरिसकेका रहेछन् । उनले डिकुवाबाट दुईजना माओवादीमा ‘होलटाइमर’ भएको सुनेका रहेछन् । तपाईंहरू कुन एरियाबाट हो ? भनेर उनले सोधे । हामी दुई नम्बर एरियाबाट भन्ने उत्तर दिनासाथ ए–ए कमरेड मदनको एरियाबाट हुनुहुँदोरहेछ भने । घर कुन गाउँ विकास समिति हो भनेर प्रश्न सोधिएपछि मैले डिकुवा भनें । उनले मलाई अँगालोमा बेरे । म पनि खुसीले तीन बित्ता उफ्रें । अलि मास्तिर ढुंगाको चुलोमा लाङ्सा (गोरुको मासु) पाकिरहेको थियो । बिहान नौ बज्दै थियो । एक बूढो मान्छेले ‘लु पस्कनू, ठूलो खसीको मुटु, कलेजो खानुपर्छ भने । मलाई ठूलो खसीबारे थाहा थिएन । सबैले धमाधम खान थालेपछि मैले पनि खाएँ । गोरुको मासु थाहा पाइहालें । तर, प्रतिक्रिया जनाइनँ । दर्शन कमरेडले भने, ‘आजदेखि तपार्इं पक्का किराती हुनुभयो । किराती तरकारी (गोरुको मासु) हो ।’ गोरुको मासु खाएको दिनदेखि म सोनाम किराती भएँ । यो २०६१ सालको कुरा हो ।
जिल्ला हेडक्वार्टर बसेको बरन्डबहादुर राईको घरमा जंगलबाट ल्याएको दाउरा थुपायौं । हामीलाई एचक्यूले नै खाना दियो । लाङ्सासँग पेटभरि खाना खायौं । खान पनि लाङ्सै गन्हाउनेगरी खाइयो । भोलिपल्ट सर्वधन राई ‘परिवर्तन’को कमान्डमा जनसेना र जबसबाट दुई/दुई, पार्टी र मिलिसियाबाट तीनसहित हामी सातजना उदयपुरको भालेबास पहाडको एक गाउँ पुग्यौं । मोहन वैद्य ‘किरण’को ‘संघर्षको दर्शन’ किताब र युद्धसामग्री बोकेर रावाखोलापारि धारापानी पुर्यायौं । च्यास्मिटारको लक्ष्मण राई ‘सागर’लाई बुझायौं । जिल्ला पार्टी खोटाङलाई केही थान रिभल्बर र एक झोला ‘संघर्षको दर्शन’ किताब बोकेर फर्कंदै गर्दा दीपक पाण्डे ‘आकाश’, चइन्द्र राई ‘आक्रोश’, अर्जुन खड्का ‘झंकार’, हरिबहादुर बुढाथोकीलगायतलाई गोडेलीघाटको माझीगाउँमा भेट्यौं ।
खोटाङ जिल्ला सेक्रेटरी पुण्यबहादुर मगर ‘हिरण्य’ पलायन भएकाले कतै भेटिन्छन् कि भनेर गौंडा ढुकिएको रहेछ । रातारात जिल्ला हेडक्वार्टर मूलडाँडा पुगेर हामीले सामान बुझायौं ।