माओवादी खोटाङबारे बारम्बार प्रश्न सोधिइन्थ्यो । प्रश्न सोध्ने शिक्षक धेरै हुन्थे । अन्य राजनीतिक दलसम्बद्ध कार्यकर्ताले प्रश्न नसोध्ने होइन । त्यसमध्ये कतिपयले नीतिगत कमजोरी औंल्याउँदै सच्चिन सुझाउँथे । माओवादीसँग कहिल्यै सकारात्मक नहुनेहरू माओवादीले थालेको जनयुद्धप्रति आक्रामक हुनु स्वाभाविकै हो ।
वैचारिक मतभेदका कारण कैयौं ठाउँमा माओवादी नेता तथा कार्यकर्ता अप्ठ्यारोमा पारिएका थिए । चिसापानी, बाक्सिला, स्यालगौंडे, टुवाखोला, लप्से दोभान, साप्सुखोला, टुवाखोला, राखा, डुम्रेधारापानी त्यस्ता घटनाका दुःखद उदाहरण हुन् ।
माओवादीे शान्ति प्रक्रियामा आएपछि ती घटना कसले किन र कसरी घटाए ? भन्ने विषयमा सत्यतथ्य पत्ता लगाई दोषीलाई राज्यले कारबाहीको दायरामा ल्याउन सक्नुपथ्र्यो । तर, प्रयत्नसम्म गरिएन । तसर्थ, माओवादीलाई आरोपमाथि आरोप लागिरह्यो । आरोपको सगरमाथा कहिल्यै होचिएन ।
शान्तिपूर्ण ढंगले गाउँघर पुगिरहने माओवादी कार्यकर्तालाई निहत्था हत्या गरिन्थ्यो । हत्या गराउने कैयौं सुराकी फरार रहे । शान्ति प्रक्रियाको नाममा अकुत क्षतिपूर्ति हसुर्ने लोभीपापीको के कुरा गर्नु ! राजनीतिक आवरणमा तिनै लोभीपापी शक्ति बनेर माओवादीविरुद्ध खनिएका छन् । त्यस्ताहरू असाध्यै धुर्त हुन्छन् । माओवादीसँग भेट्दा पुच्छर लुकाएको कुकुरझैं देखिन्छन् । माओवादी त्यहाँबाट बाटो लागेपछि यिनीहरू सबैभन्दा खराब हुन् भनेर टिप्पणी नगरी उनीहरूले खाएको पच्दैनथ्यो ।
हिजो माओवादी जसको पक्षमा लड्योे, आज उनीहरूलाई माओवादीको दुस्मन बनाउन खोजिँदै छ । माओवादीले गणतन्त्रनिम्ति लडिदिएको भन्न उनीहरू रुचाउँदैन । कतिपय अवसरवादीले माओवादीलाई आफ्नो पक्षमा पार्ने दुस्साहस गरी उपयोग गर्न नखोजेका होइनन् । त्यतिबेला माओवादी ठीक । स्वार्थ पूरा भएपछि माओवादीको बठीक ?
पहिलो संविधानसभा प्रचार प्रसारको समय थियो । राजनीतिक नेताले समेत माओवादीलाई जंगली भन्न छाडेका थिएनन् । जयरामघाट (बाहुनीडाँडा)मा घटेको दुःखद घटनालाई प्रतिनिधिकमूलक मान्न सकिन्छ ।
एमाले कोसी प्रदेश कमिटी सदस्य खडेन्द्र साम्पाङ राईले लक्ष्मण राई ‘सागर’लाई जंगली भने । सागरले एमाले कोसी प्रदेश कमिटी सदस्य राईको कपालमा समातेर मुड्क्याए । जीवन राई ‘संगीन’ र एमाले खोटाङ उपसचिव सुरेन्द्रकुमार राईले देख्नासाथ छुट्ट्याए । काका (खडेन्द्र)लाई किन हात हालेको केटा ? संगीनले सहोदर भाइ सागरलाई सम्झाउन खोजे ।
‘माओवादी जंगली रे,’ प्रतिउत्तरमा सागरले भनेका थिए, ‘जंगलमा बाँदर बस्छ । बाँदरले के गर्छ देख्नुभएन ? ई यसै गर्छ । थाहा पाए होलान् नि ।’ उनको जवाफ सुनेपछि तैं चुप मै चुप ।
संगीन र सुरेन्द्रको पहलमा खडेन्द्र साम्पाङ राईले माओवादीलाई कहिल्यै जंगली नभन्ने कसम खाए । आवेशमा आएर दुव्र्यवहार गरेकाले सागरले खडेन्द्रसमक्ष माफी मागे । एमालेले माओवादीलाई जंगली भनेपछि सागरले बाध्य भएर जंगली व्यवहार देखाए । रिसको झोंक वेद कसले पढोस् । गल्ती दुवैको थियो । गल्ती हजार हुन्छन्, यहाँ होश हराएका बेला । होश हराएको बेला भएको गल्ती अन्ततः मिलापत्रमा टुंगियो । मिलापत्रमै टुंगिए पनि उक्त घटना दृष्टान्तका रूपमा जीवन्त रहनेछ ।
(लेखक सोनाम सज्जन किरातीको प्रकाशोन्मुख कृति ‘जनयुद्धमा बितेको पल’को अंशबाट ।)