हङकङ बसे पनि धितुङमा सडक


अमृता–अदिल मुइमा लाम

‘परदेशमा रहे पनि घरदेशकै माया लाग्छ,’ वैदेशिक रोजगारीका लागि हङकङमा रहेका हलेसी तुवाचुङ नगरपालिका–८, डाँडाटोल धितुङका नरेन्द्रकुमार राईले भने, ‘घरदेशकै सम्झनाले सताइरहन्छ । सम्झनामा घरदेश पुगिरहन्छु ।’

परदेशमा रहँदा घरदेश सम्झनु स्वाभाविकै हो । तर, घरदेश सम्झिरहन पनि त अर्थपूर्ण समर्पण चाहिन्छ । २६ वर्षदेखि हङकङमा रहेका राईले गाउँ–समाजले अनुभूति गर्नेगरी काम गरेका छन् । परदेशमा बसे पनि उनले घरदेशका लागि सम्झिरहने काम गर्न कन्जुस्याइँ गर्दै गरेनन् ।

पछिल्लो समय गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार भएको छ । उनले धितुङ भन्ज्याङदेखि पारुहाङ शरण आधारभूत विद्यालयसम्म जोड्नेगरी मोटर बाटो खने । बुवा अदिलसेर राई र आमा अमृतामाया राईको सम्मान र सम्झनामा सडक खनियो । सडकको नाम अमृता–अदिल मुइमा लाम राखियो ।

बायाँबाट  हर्कजंग राई, बुद्धिमाया राई, अदिलसेर राई, अमृतामाया राईको काखमा नरेन्द्रकुमार राई, नरेन्द्रकुमार राई, मिठा राई, निश्चल राई र स्व. निष्कर्ष राई ।

संवत् २०७२ मा ३ लाख ५० हजार रुपैयाँमा सडक खनिएपछि धितुङका डाँडाटोल, गैराटोलमात्रै होइन, वछिम, छाँगे र थाक्लेवासीसमेत लाभान्वित भए । पछिल्लो समय पारुहाङ शरण आविदेखि वछिम, छाँगे र थाक्लेसम्म सडक सञ्जाल विस्तार भएको छ । अमृता–अदिल मुइमा लाम खनिएकाले वछिम, छाँगे र थाक्लेसम्म सडक विस्तार गर्न सहज भयो ।

‘सर्वे नगरी सडक खनिए पनि साढे तीन किलोमिटरभन्दा कम दूरी छैन,’ मलेसियामा रहेका हलेसी तुवाचुङ नगरपालिका–८, डाँडाटोल धितुङका जनक चाम्लिङ राईले जानकारी गराए, ‘ठ्याक्कै भन्न नसकिए पनि नरेन्द्रकुमार राईज्यूको एक्लो लगानी र प्रयासमा खनिएको बाटो साढे तीन किलोमिटर हुनैपर्छ ।’

अमृता–अदिल मुइमा लाम खन्दा स्थानीय नाजेन्द्र राईको जग्गा धेरै परेको छ । नाजेन्द्रपछि रकम रोदुङ, रिमन्त राई र खम्बसेर राईको जग्गा धेरै परेको हो । खम्बसेरको त घु¥यान बारी नै परेको छ । तर, नरेन्द्रकुमार राईले आफ्नै लगानीमा सडक खन्ने भएपछि स्थानीयले सहजै जग्गा उपलब्ध गराएको मलेसियाबाट राईले सुनाए ।

अमृता–अदिल कोषबाट सालिन्दा धितुङमा वडास्तरी भलिबल प्रतियोगिता गर्दै आएको छ भने पारुहाङ शरण आधारभूत विद्यालयमा एक लाख रुपैयाँ अक्षय कोष स्थापना गरिएको छ । विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेनदार विद्यार्थीलाई प्राथमिकतामा राखेर अक्षयकोषबाट आउने ब्याजबाट सानोतिनो सहयोग गर्ने कार्यविधि बनाइएको छ ।

त्यतिमात्रै होइन, नरेन्द्रकुमार राईले अमृता–अदिल कोषबाट गत वर्ष धितुङमा तीन आहाल निर्माण गरेका थिए । गाउँठाउँमा परिहाउँदा हार–गुहार माग्दा राईले नाइँ भनेका छैनन् । गाउँठाउँमा आइपर्ने कैयन शीर्षकमा कोषले आर्थिक सहयोग गर्दै आएको छ ।

‘काठमाडौंबाट आफैंले ड्राइभ गरेर घर (धितुङ)सम्म पुगें,’ राईले पुछारमा खुसी व्यक्त गरे, ‘आफूले खनेको बाटोमा आफैंले ड्राइभ गरेर घरसम्म पुग्दाको आनन्द शब्दमा व्यक्त गर्न कठिन हुँदोरहेछ ।’

 

प्रतिक्रिया दिनुहोस्