‘राष्ट्रगान लेखक व्याकुल माइलाले लेखेको नगरगान अस्वीकृत’ शीर्षाकृत समाचार प्रकाशित भएपछि प्रतिष्ठित संगीतकार (शान्तिराम राईले आफूले आफैंलाई प्रतिष्ठित संगीतकार भन्ने र लेख्ने गर्नुहुन्छ) शान्तिराम राईले लेख्नुभएको प्रतिक्रियाको प्रतिउत्तर लेख्न बाध्य भएको छु ।
झुठ नम्बर १
प्रतिष्ठित संगीतकार शान्तिराम राईज्यू,
सत्य बोल्न साहस चाहिन्छ । तपाईंले लेख्नुभएको प्रतिक्रिया सतप्रतिशत भ्रामक छ । तपाईंले प्रतिक्रियामा लेख्नुभएको छ, ‘तत्कालीन हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईसँग सल्लाह भएबमोजिम २०७६ पुस १९ गते नगरगान बनाउन प्रस्तावना पठाएको हुँ ।’
उल्लिखित भनाइ सरासर गलत छ । तपाईंले ०७६ पुस १९ गते हलेसी तुवाचुङ नगरपालिकालाई प्रस्तावनापत्र पठाएको हुँ भनेर दाबी गर्नुभएको छ । तर, तपाईंले नगरपालिकालाई ०७६ असार ३ गते नगरगानका लागि प्रस्तावनापत्र पठाउनुभएको हो । यो प्रस्तावनापत्र नगरपालिकाको इमेल आईडीबाट सोही पालिकामा कार्यरत एक कर्मचारीले मलाई फर्वाड गर्नुभएको हो । (हेर्नुहोस् : शान्तिराम राईले नगरपालिकामा पठाउनुभएको प्रस्तावनापत्रको जानकारी पत्र ।)
झुठ नम्बर २
संगीतकार राईले गर्नुभएको अर्को गलत तर्क यस्तो छ– हलेसी नगरको प्रमोसन गर्ने, पर्यटन प्रवर्द्धन गर्ने गीत लेख्न मैले नै उहाँलाई लेख्न आग्रह गरेको हुँ । (पाठकवृन्द, व्याकुल माइलालाई उहाँ भनेर सम्बोधन गरिएको हो ।) उहाँले नगरगान लेख्न अप्ठ्यारो महसुस गर्नुभएकै हो । तर, मेरो आग्रहलाई हार्न नसकी उहाँले पर्यटन प्रवद्र्धन गर्ने गीत लेखिदिनुभयो । र, सोही गीतलाई संलग्न गराई नगरलाई संगीतकारको हैसियतमा प्रस्तावनासहित पठाएपछि २०७७ असारमा तत्कालीन मेयर इवन राईज्यूले कोरोनाका कारण थलिएको अवस्थामा लौ नगरगान गरौं तर राष्ट्रगानका रचयिताको गीतचाहिँ नराखौं । पछि त्यस रचनालाई छुट्टै रेकर्ड गरौं भन्नुभयो । व्याकुलजीको राष्ट्रिय व्यक्तित्वलाई नगरगानका रूपमा राख्दा नगरको त उचाइ बढ्ला तर उहाँको छविमा नकारात्मक असर पर्ला कि भन्नुभयो । कुरो मलाई मनासिव नै लाग्यो । र, उहाँलाई थाहै नदिई उहाँको रचनालाई स्थगित गर्यौं ।
पाठकवृन्द, सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको यो प्रतिक्रियालाई पंक्तिकारले शान्तिराम राईको झुठ नम्बर २ भनेर लेख्न बाध्य छन् । झुठ नम्बर २ लाई प्रस्ट पार्नैपर्छ । संगीतकार राईज्यूले राष्ट्रगान लेखक व्याकुल माइलालाई नगरको प्रमोसन गर्ने, पर्यटन प्रवर्द्धन गर्ने गीत लेख्न लगाएको हुँ भनेर लेख्नुभएको छ । ‘अर्कोतिर उहाँ (व्याकुल माइला)ले नगरगान लेख्न अप्ठ्यारो महसुस गर्नुभएकै हो’ भनेर पनि लेख्नुभएको छ । उहाँले लेख्नुभएको प्रतिक्रिया माथिल्लो हरफले तल्लोलाई पुष्टि गर्दै गर्दैन । त्यतिमात्रै होइन, संगीतकार आफैंले नगरपालिकाको इमेलमा प्रेषित प्रस्तावनापत्रमा समेत नगरगान भनेरै उल्लेख गरेका छन् । यो त तर्कका लागि तर्कमात्रै भयो । उहाँले व्याकुल माइलालाई पर्यटन प्रवर्द्धन गर्नकै लागि गीत लेखाउनुभएको हो भने प्रस्तावनापत्रमा उल्लेख गर्न किन बिर्सनुभयो ? त्यसो त शान्तिराम राईले पूर्वमेयर इवन राईको मेसेन्जरमा पठाउनुभएको व्याकुल माइलाको गीतमा नगरगान भनेर किन उल्लेख गर्नुभएको होला ? त्यो गीतमा नगरको ‘प्रमोसन’ गान लेखिनुपर्थ्यो । पानीमाथिको ओभानो बन्न तपाईंले लेखेको प्रतिक्रियाले पनि व्याकुल माइलालाई नै विवादमा ल्याउनुभएको प्रस्टै छ ।
(हेर्नुहोस्, शान्तिराम राईले पूर्वमेयर इवन राईलाई मेसेन्जरमा पठाउनुभएको मेट्न र ढाँट्न नसकिने व्याकुल माइलाको नगरगान जस्ताको तस्तै ।)
तपाईंको तर्कलाई सही मान्ने हो भने व्याकुल माइलालाई पर्यटन प्रवर्द्धन गीत लेख्न लगाएर त्यही गीत नगरगान भनेर नगरमा किन बुझाउनुभएको हो त ? ढाँटे कुरा काटे मिल्दैन प्रतिष्ठित संगीतकारज्यू । राष्ट्रगान लेखक व्याकुल माइलाले लेखेको नगरगान अस्वीकृत भएको समाचार पुष्टि गर्न टेलिफोन गर्दा राष्ट्रगान लेखक व्याकुल माइलाले ‘मलाई शान्तिराम राईले डुबाए’ भन्नुभएको अडियो पंक्तिकारसँग सुरक्षित छ । तपाईंले लेखेको गलत प्रतिक्रिया पढ्दा तपाईंले व्याकुल माइलालाई विवादमा ल्याएकै हो भन्न कठिन हुँदैन ।
झुठ नम्बर ३
शान्तिराम राईले गर्नुभएको अर्को झुठो तर्क यस्तो छ– २०७७ सालको असारमा तत्कालीन मेयर इवन राईज्यूले कोरोनाका कारण थलिएको अवस्थामा लौ नगरगान गरौं तर राष्ट्रगानका रचयिताको गीतचाहिँ नराखौं । पछि त्यस रचनालाई छुट्टै रेकर्ड गरौं भन्नुभयो । व्याकुलजीको राष्ट्रिय व्यक्तित्वलाई नगरगानका रूपमा राख्दा नगरको त उचाइ बढ्ला तर उहाँको छविमा नकारात्मक असर पर्ला कि भन्नुभयो । कुरो मलाई मनासिव नै लाग्यो र उहाँलाई थाहै नदिई उहाँको रचनालाई स्थगित गर्यौं ।
शान्तिराम दाइ,
यहाँ तपाईंले गर्नुभएको तर्क फेरि बाझिन्छ । नगरको प्रमोसन गर्न पर्यटन प्रवर्द्धनात्मक गीत गर्ने भनेर काम थालिएपछि एकाएक ‘जेरो आवर’मा नगरगानको प्रसंग कसरी आयो त ? त्यो पनि हतार–हतारमा । यो तर्कका लागि गरिएको तर्कमात्रै भयो । तपाईंले सुरुदेखि नै झुठो तर्क गर्दै आउनुभएको छ । तपाईंले प्रस्तावनापत्रसँगै पेस गर्नुभएको नगरगान पूर्वमेयर इवन राईले नगरगान भयो कि भएन भनेर कतिपयलाई देखाउँदै सोध्नुभएको थियो । पूर्वमेयर राईले ज–जसलाई सोध्नुभयो, उनीहरूले यसलाई नगरगान मान्न सकिँदैन भन्ने उत्तर पाइसक्नुभएको थियो । मेयर सापले नगरगान नगरगानजस्तो नभएको निष्कर्षमा पुग्नुभयो ।
अन्ततः व्याकुल माइलाले लेख्नुभएको नगरगान अस्वीकृत भयो । यथार्थ कुरा यत्ति हो । मेयर सापले अप्ठ्यारो मान्नुभएर तपाईंलाई यो गीत पछि रेकर्ड गरौं भन्नुभएकै हो । उहाँले लेख्नुभएको गीत नगरगान भएन भन्न अप्ठ्यारो मान्नुभएकै हो । यसर्थ, व्याकुल माइलाले लेख्नुभएको नगरगान अस्वीकृत भएकै हो । यो कुरा तपाईंलाई थाहा भए पनि सत्य बोल्न हिम्मत गर्नुभएन किन ?
धेरैले भन्दै आएका छन्, ‘व्याकुल माइलाको नगरगान अस्वीकृत भएपछि शान्तिराम राईले त्यो प्रोजेक्ट गर्नुहुँदैनथ्यो ।’ तपाईंले त्यसो गर्न सक्नुभएन । बरु व्याकुल माइलालाई थाहै नदिई नगरगान रेकर्ड गर्नुभयो । गीतकारलाई नै थाहै नदिई नगरगान रेकर्ड गर्यौं भनेर तपाईंले लेख्नुभएको प्रतिक्रियामा उल्लेख छ ।
व्याकुल माइलाले लेख्नुभएको नगरगान अस्वीकृत भए पनि मेयर सापले त्रिधाम हलेसीलाई केन्द्रमा राखेर गीत पुनर्लेखन गर्न सुझाउनुभएको थियो । तर, तपाईंले व्याकुल माइलालाई पुनर्लेखन गराउन अप्ठ्यारो मान्नुभयो कि अल्छी ? पंक्तिकारको विचारमा अल्छी मान्नुभयो । पूर्वमेयर इवन राईले नगरगान लेख्न दिनुभएको ‘गाइडलाइन’लाई नै यो गीत पो असाध्यै राम्रो बन्यो भनेर रेकर्ड गराउन हतारिनुभयो । वास्तवमा पूर्वमेयर राईले नगरगान लेख्ने कल्पना पनि गर्नुभएको थिएन भनेर पंक्तिकारसँग भन्नुभएको थियो । ‘असार मसान्तभित्रै सक्नैपर्ने समयसीमाका कारण तत्कालीन मेयर इवन राईले नै गीत लेख्ने निर्णय गर्नुभयो’ भनेर तपाईंले गर्नुभएको तर्क सरासर गलत छ । तर, तपाईंले जान–अन्जानमा एकैपटक दुवै (व्याकुल माइला र इवन राईलाई) जनालाई विवादमा तान्नुभयो ।
झुठ नम्बर ४
शान्तिराम राईले प्रतिक्रियामा व्यक्त गर्नुभएको अर्को तर्क छ– म यो कुरा गोरखापत्र, कान्तिपुरलगायतमा छपाउँछु ।
दाइ, त्यतिबेला तपाईंसँग पटक–पटक भएको टेलिफोन संवाद मसँग सुरक्षित छ । तपाईंले यस्तो अभियोग लगाउनुभएपछि मैले टेलिफोन संवाद दोहोर्याएर सुनें । संवादमा मैले भनेको छु, ‘राष्ट्रगान लेखकले लेखेको गीत अस्वीकृत हुनु भनेको राष्ट्रिय इस्यु हो । यो समाचार प्रमाणित भयो भने कान्तिपुर, गोरखापत्र दैनिकलगायत जुनसुकै मिडियाले प्रकाशन गर्छ ।’ पत्रकारिताका सामान्य विद्यार्थीले म यहाँ वा त्यहाँ समाचार प्रकाशन गराउँछु भन्दैन । भन्नुहुँदैन । म जुन मिडियामा छैन, त्यहाँ समाचार प्रकाशन गर्छु भन्दै हिँड्न नैतिकताले दिँदैन । मबाट त्यस्तो गल्ती विपनामा त के सपनामा पनि हुँदैन । तपाईंले मनगढन्ते कुरा लेखेर हुन्छ ? तपाईं र मबीच विभिन्न समयमा भएको टेलिफोन संवाद सार्वजनिक गर्न बाध्य नपार्नूस् ।
झुठ नम्बर ५
शान्तिराम राईको पाँचौं गलत तर्क यस्तो छ– त्यसपछि मैले दीपेन्द्रजीलाई फोन गरेर भेटौं न भनें । उहाँले एकदमै चर्को स्वरमा ‘तपाईंले व्याकुल माइलालाई फसाएको हो ?’ एक शब्दमा भन्नुहोस् । हो वा होइन ? भनेर थर्काउनुभयो । मैले पृष्ठभूमि सुनाउन चाहें । उहाँले सुन्न चाहनुभएन ।
म कार्यालय जाँदै थिएँ । व्याकुल माइलाले मलाई फोन गर्नुभयो । माइलाको नम्बर मसँग रहेनछ । मोटरसाइलकलमा गुडिरहेकाले उहाँको आवाज ठम्याउन सकिनँ । उहाँले टेलिफोनमै मलाई भन्नुभयो, ‘व्याकुल माइलालाई चिन्न छाड्नुभयो ? भनेर टर्रो भाषा प्रयोग गर्नुभयो । व्याकुल माइलासँगको संवाद मसँग अझै सुरक्षित छ । उहाँले मलाई फेरि झपार्नुभयो, ‘राष्ट्रगान लेखक व्याकुल माइलाले लेखेको नगरगान अस्वीकृत’ भनेर फेसबुकमा मलाई नसोधी किन लेख्नुभयो ? अब दीपेन्द्र राईलाई व्याकुल माइला नचाहिने भयो होइन ।’ म कार्यालय पुग्नै लागेकाले संवाद छोट्याउन खोजें । उहाँले लम्ब्याउन । मैले नगरगान लेखेकै होइन भन्ने जिकिर गर्नुभयो । मैले बोल्नैपर्ने भयो, ‘शान्तिराम राईले पेस नगरमा गर्नुभएको प्रस्तावनापत्र र शान्तिरामले पूर्वमेयर इवन राईलाई मेसेन्जरमा पठाउनुभएको गीतमा नगरगान उल्लेख छ । शान्तिरामलाई नै बुझ्नुहोला ।’ मेरो उत्तर सुनेपछि माइलाले भन्नुभयो, ‘मलाई शान्तिरामले डुबायो ।’
व्याकुल माइलाले मलाई पोख्नुभएको दुःखेसो पुष्टि गर्न मैले यही प्रश्न शान्तिरामलाई सोधेको हुँ । शान्तिरामले होइन भन्नुभयो । उहाँले व्याकुलजीलाई नगरगान नै लेख्न लगाएको हुँ भन्ने उत्तर दिनुभएको अडियो मसँग सुरक्षित छ । शान्ति दाइ, एकथरी बोल्ने, प्रतिक्रियाचाहिँ अर्कै लेख्ने ? प्रतिष्ठित संगीतकारले त्यसो गर्न मिल्छ ? इज्जतले दिन्छ ? भ्रमको खेती सप्य्रो भने देशैभरिका पालिकाका ‘पालिका गान’को ठेक्का तपाईंले नै पाउनुहोस् । थुप्रै शुभकामना ।
७ लाख रुपैयाँमा तपाईंले बनाउनुभएको साकेला गाउँपालिका खोटाङको पालिका गान बिग्रेपछि पूर्वपालिका प्रमुख अर्जुन खड्काले धेरैसँग गुनासो गर्नुभएको थियो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ११ मिनेट लामो नगरगान बनाउने पनि तपाईं नै होइन ? नगरगान लामो भएपछि परिमार्जन गरिएकै थियो । हलेसी तुवाचुङ नगरपालिकाको नगरगानले व्याकुल माइलालाई विवादमा ल्याएरै छाड्नुभयो ।
तपाईंले पृष्ठभूमि सुनाउन चाहे पनि कार्यालय प्रवेश गरिसकेकाले मैले सुन्न नचाहेकोचाहिँ पक्कै हो ।
झुठ नम्बर ६
शान्तिराम राईको छैटौं गलत तर्क यस्तो छ– पर्सिपल्ट बल्ल भेट दिनुभयो । अनामनगरमा भेट्यौं र मैले नगरगानको कथा सुनाएँ । उहाँले गीत त हामी पनि लेख्थ्यौं नि भन्नुभयो ।
शान्ति दाइ,
तपाईंले दुनियाँलाई ढाँट्न सक्नुहोला । तर, आफूले आफैंलाई ढाँट्न सक्नुहुन्न । तपाईंलाई आजसम्म मैले कहीं भेटेको छैन । यो शीर्षकमा भेट्न पनि नपरोस् । तपाईंले अनामनगरमा भेट्यौं भनेर लेख्नुभएको रहेछ । अरू नै दीपेन्द्र राईसँग भेट्नुभयो होला । तर, मसँग होइन । भेटघाटका लागि तपाईंले मलाई पटक–पटक अनुरोध गर्नुभएकै हो । मैले अस्वीकार गरिरहें । तपाईंले एउटा गीत लिएर आउनू न म संगीत भरिदिन्छु भनेर प्रस्ताव राख्नुभयो । मैले नमानेकै हो । अनि कहिले भेट भयो त हाम्रो ?
फरक प्रसंगमा मैले भनेको थिएँ, ‘व्याकुल माइलाले लेखेको अस्वीकृत गीतजत्तिको चाहिँ हामीले पनि लेख्थ्यौं ।’ मैले बोलेको यो संवादको अडियोसमेत सुरक्षित छ । सबै–सबैका अघि सुन्ने हिम्मत गर्नुहुन्छ ?
झुठ नम्बर ७
शान्तिराम राईको सातौं गलत तर्क यस्तो छ– तर म यो कुरा छपाएरै छाड्छु । किनकि मलाई व्याकुलले फोन गरेर थर्कायो भन्नुभयो ।
शान्ति दाइ,
तपाईं र मबीचको टेलिफोन संवाद सुरक्षित छ भने दसपटक सुन्नुहोला । यो छपाएरै छाड्छु भनेर मैले कहीं कतै बोलेकै छैन । एक पत्रकारले म यो वा त्यो समाचार छपाएरै छाड्छु भनेर भन्दैन । चित्त बुझ्दैन भने मसँग रहेको अडियो सुन्ने समय मिलाउनूस् ।
मलाई व्याकुल माइलाले थर्कायो भनेर तपाईंले लेख्नुभएको प्रतिक्रियाचाहिँ सही हो । व्याकुल दाइले मलाई थर्काउनुभएकै हो ।
झुठ नम्बर ८
शान्तिराम राईको आठौं गलत तर्क यस्तो छ– खासकुरा चाहिँ उहाँहरूबीच सामान्य टकराव रहेछ । कुनै समय काठमाडौंमा व्याकुलजी पुरानो साइकल चढेर स्ट्रगल गरिरहनुभएको दीपेन्द्रजीलाई थाहा रहेछ । त्यस्तो स्ट्रगल त हामी सबैले गरेकै हौं । हामीसँग त अझ थोत्रो साइकल पनि थिएन । पछि सँगैको साथी रातारात राष्ट्रगानको रचयिता भएपछि दीपेन्द्रजीले व्याकुलको साइकल संघर्षको कथा भनेर अन्तर्वार्ता वा आर्टिकल छपाउन चाहनुभएको रहेछ । व्याकुलजी मान्नुभएन छ, त्यो समय । त्यहाँदेखि दीपेन्द्रजी भड्किनुभएको रहेछ । यो कुरा दीपेन्द्रजीले नै मलाई सुनाउनुभयो । यही कुरा व्याकुलजीलाई सुनाएँ । उहाँले तात्तातै यो कुरा नछापौं भनेको थिएँ भन्नुभयो ।
शान्ति दाइ,
तपाईं कुरा बुझ्नुहुन्न कि ? कान सुन्नुहुन्न ? म अचम्मित छु । व्याकुल माइला र दीपेन्द्र राईबीच तपाईंकै भाषामा टकराव छैन । राष्ट्रगान छनोट भएपछि नेपाल प्रज्ञाप्रतिष्ठान प्राज्ञपरिषद् सदस्य राजन मुकारुङद्वारा त्यतिबेला सम्पादित ‘किराती मिसन’ म्यागेजिनमा व्याकुल माइलाको ‘स्टोरी’ गणेश राई र दीपेन्द्र राईको बाइलाइनमा प्रकाशन भएको थियो ।
साइकल संघर्षको कथा दीपेन्द्रले लेख्न खोजेको व्याकुलले नमानेको लेख्नुभएको रहेछ । यो सत्य होइन । उहाँको साइकल संघर्षको कथा रातोपाटी डटकममा प्रकाशन भइसकेको छ । मैले गलत बोलें कि के हो भनेर तपाईं र मबीचको संवाद सुनें । मैले तपाईंलाई भनेको रहेछु, ‘सरकारले राष्ट्रगान लेखकको घर किनेर संग्रहालय बनाउनुपर्छ । राष्ट्रगान लेखकले प्रयोग गरेका सामान त्यहाँ राख्नुपर्छ भनेर व्याकुल दाइले बोल्नुभयो । तर, मलाई उहाँले प्रयोग गरेको साइकलको फोटो खिच्नचाहिँ दिनुभएन ।’
मैले बोलेको यत्ति हो । तिललाई पहाड बनाउने तपाईंको धृष्टतालाई कुन शब्दले सम्मान गरौं ? व्याकुल माइला र दीपेन्द्र राईबीच दुस्मनी छैन । फेरि पनि भन्छु, ‘व्याकुल माइलाले राष्ट्रगानका लागि पठाउनुभएको पुनर्लेखन गर्नअघिको गीतको छायाँकपि (फोटोकपि) मसँग सुरक्षित त । त्यतिमात्रै होइन, नयाँ पत्रिका र रातोपाटी डटकमका लागि कुराकानी गर्न फरक–फरक समयमा सत्यमोहन जोशीनिवास पुगेको थिएँ । फरक प्रसंगमा जोशीले राष्ट्रगान चयन गर्दाको नालीबेली सुनाउनुभएको थियो । जीवित हुँदा उहाँसँग भएको २८ मिनेट ५७ सेकेन्डको अडियो मसँग अझै सुरक्षित छ । व्याकुल माइलासँग दुस्मनी भए उहिले लेखिसक्थें हुँला ।’ तर, मैले त्यसो गरेको छैन । आफूले गरेको गल्ती ढाकछोप गर्न दीपेन्द्र र व्याकुलबीच टकराव रहेछ भनेर लेख्न तपाईंलाई लाज लाग्नुपर्ने हो । तपाईंले गर्नुभएको मनोगत तर्कदेखि लाज पनि लजाएको छ ।
शान्तिराम दाइ,
तपाईंले जान–अन्जानमा गर्नुभएको गल्तीलाई ढाकछोप गर्न व्याकुल माइला र दीपेन्द्र राईबीच दुस्मनी देखाउन खोज्नुभएको छ । यो किमार्थ मान्य छैन । बरु तपाईं सच्चिन आवश्यक छ । काठमाडौं पसेपछि बाँच्ने उपक्रममा तपाईंले गर्नुभएको खन्दार थाहा पाई–पाई पनि हामीले लेखेका छैनौं । काठमाडौंको पुतलीसडकआसपास कार्यालय खोलेर तपाईंसमेत संलग्न सहकारीले कत्तिलाई बिल्लिबाँठ बनायो ? गम्भीर आरोप लागेपछि तपाईं आफ्नै घरबाट रित्तोहात छोरोसँग बाहिरिनुभएको वास्तविकता हामीले कहिल्यै लेख्यौं ? लागतभन्दा कैयौं गुणा बढी पारिश्रमिक लिएर एउटै गीत रेकर्ड गरिएको प्रसंग खनिखोस्री साध्य छैन । त्यसमध्ये कतिपयले मसँग पनि दुःख मनाउ नगरेका होइनन् । मैले कहिल्यै तपाईंको विरुद्धमा कलम चलाएँ ?
तपाईंले जान–अन्जानमा व्याकुल माइलालाई विवादमा तान्नुभएकै हो । अनि मैले समाचार लेख्दा हामीलाई अपमानित र प्रताडित गरेर तपाईंले कुन स्तरको उचाइ चुमिरहनुभएको छ ? भनेर दीपेन्द्र राईलाई प्रश्न सोध्न लाज लाग्दैन । दाइ, आफ्नो जरा आफैंले कहिल्यै नकाट्नूस् । आफूले आफैंलाई बिर्से पनि धरातल बिर्सने चेष्टा नगर्नूस् । दुई पैसा आर्जन गर्ने लोभमा कसैलाई विवादमा तान्ने नगर्नूस् । त्यसो गर्नुभयो भने मात्रै तपाईं आफूले आफैंलाई भन्ने र लेख्ने गर्नुभएको प्रतिष्ठित संगीतकारको सम्मान हुनेछ ।