काठमाडौंबाट गाउँ फर्केर बहानेपोखरीमा ओखर खेती


यलम्बर राई । तस्बिर : दीपेन्द्र राई

बहानेपोखरी (खोटाङ) । ‘म जति वर्ष पुगें नि,’ ऐंसेलुखर्क गाउँपालिका–१, राखा बाङ्देलको बहानेपोखरीमा भेटिएका यलम्बर राईले सुनाए, ‘यो बारी बाँझिएको पनि त्यति नै भयो ।’

३० वर्षदेखि बाँझिएको बारीमा राईले ‘पावर फुड’ भनेर चिनिने ओखर खेती लगाएका छन् । उनले १५ रोपनी जग्गामा ३०० बोट ओखर रोपेका छन् । ‘बाँझिएको जग्गा सदुपयोग गर्न ओखर लगाएको हुँ,’ उनले थपे, ‘सुरुमा ओखर खेती गर्ने मनस्थिति थिएन । स्याउ लगाउने हो कि भनेर सोचेको थिएँ । बगैंचाका लागि स्याउ राम्रै मानिए पनि उत्पादन ठिकै हुन्छ भन्ने सुझाव पाएपछि विकल्पमा ओखर रोजें ।’

ओखरको बिरुवा ।

वागबानी केन्द्र कीर्तिपुर काठमाडौंबाटै सुझाव पाएपछि ओखर रोपेको उनको भनाइ थियो । कीर्तिपुरबाट प्रतिगोटा ४० रुपैयाँमा किनिएको ओखर २,३०० मिटर उचाइमा रोपिएका छन् । ओखर खेती थाल्नअघि उनले थुप्रै अध्ययन गरे । गुगलको सहारा लिए । अन्ततः परीक्षणकै लागि भए पनि ओखर रोपे ।

रोपेको सातदेखि १० वर्षसम्ममा ओखरले फल दिन्छ रे भन्ने उनले सुनेका छन् । यसलाई पानी र मल चाहिन्छ । गोडमेल चाहियो नै । निकै टाढाबाट पानी ल्याइएको पानी ओखरमा लगाइन्छ ।
काठमाडौंबाट गाउँ फर्केको दुई वर्ष भयो । त्यसअघि मोरङको बेलबारी र सुनसरीको इटहरी बसेका उनी सहरमा रमाउन सकेनन् । सेयर बजारसम्बन्धी गहिरो ज्ञान र त्यसैसम्बन्धी काम गर्ने उनी काठमाडौंबाट फर्केर खेतीपातीमा लागेका छन् । उनीसहित तीनजनाले ढुक्कले सहकार्य गरिरहेका छन् ।

मस्तिष्क वृत्तिविकासका लागि ओखरको भूमिका अहम् मानिन्छ । यो शारीरिक र मानसिक स्वास्थ्यका लागि उत्तिकै उपयोगी ठानिन्छ । ओखर नियमित खानेलाई विभिन्न किसिमका रोगबाट बचाउन सघाउँछ । यसमा भिटामिन, प्रोटिन, म्याग्नेसियम, फाइबर, ओमेगा–३, फसफोरसलगायत थुप्रै न्युट्रिसन पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्