‘टिम’ मिल्दै, परिस्थिति बलियो बन्दै गएमा खोटाङकै जनप्रतिनिधि


केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राई ।

‘प्रत्येक नेपाली आत्मनिर्भर भएको देख्ने, सुन्ने रहर छ,’ केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईको भनाइ छ, ‘भौतिक विकास अपरिहार्य छ । तर, त्यतिले मात्रै समृद्धि आउँदैन । भौतिक निर्माणमात्रै प्राथमिकतामा परेको छ ।’

मुलुकलाई आत्मनिर्भर बनाउने हो भने ‘स्वरोजगार कार्यक्रम सञ्चालन’, ‘शिक्षा’ र ‘स्वास्थ्य’लाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । ‘अनि मात्रै देश बन्छ । देशवासी समृद्ध बन्छन्,’ कांग्रेस खोटाङ सचिवसमेत रहेका केपिलासगढी गाउँपालिका अध्यक्ष राईले सुनाए, ‘मैले केपिलासगढी गाउँपालिकामा यही मुद्दालाई बुलन्द बनाउँदै आएको छु ।’

राजनीति भनेको ‘टिमवर्क’ हो । एक्लैले गर्छु भनेर हुँदैन । टिम मिल्दै जाँदा र परिस्थिति बलियो बन्दै गएमा समग्र खोटाङको जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने रहर भएको बताउने अखिल नेपाल फुटबल संघ (एन्फा) कोसी प्रदेश उपाध्यक्ष समीर राईसँग तुवाचुङ डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

मासु कहिल्यै न छुटोस्

सामान्यतः दालभातै मन पर्छ । सम्भव भएसम्म मासु न छुटोस् भन्ने लाग्छ । सबै खानेकुरा उत्तिकै स्वाद मानी–मानी खान्छु । कामविशेषले पुगे पनि खानकै लागि रेष्टुरेन्ट जान्न । रेष्टुरेन्ट पुगिहाल्दा मासुका परिकार मगाउन छुटाउँदिनँ । म खाना पकाउँछु । मासु हुँदा त झन् मै भान्छामा पस्छु ।

२० हजारका जुत्ता

जनप्रतिनिधि भएपछि कतिपय अवस्थामा औपचारिक पोसाक अनिवार्य लगाउनै पर्छ । त्यसबाहेक सर्ट, पाइन्ट र ज्याकेट लगाउँछु । पोसाकमा सालिन्दा कति खर्च हुन्छ ? हिसाब–किताब राखेको छैन । तर, जुत्ता प्राथमिकतामा पर्छ । ब्रान्डेड जुत्ता छान्ने गर्छु । मैले लगाउने जुत्ता २० हजार रुपैयाँसम्मका हुन्छन् । सेतो र प्लेन रङका पोसाक रोजाइमा पर्छन् । रेडिमेड पोसाक धेरै छन् । सिलाउन पर्दा काठमाडौंको पुतलीसडकमा रहेको डायमन्ड पुग्छु । एकताका ह्याट पनि लगाउँथें ।

जिम धाएको अतीत

मलाई चिसोले छिट्टै समात्छ । जाडोमा केही गर्दिनँ । गर्मी मौसममा मर्निङवाक निस्कन्छु । डाइटिङ छैन । काठमाडौंमा रहँदा जिमसम्म गरेको थिएँ ।

राजनीतिक/साहित्यिक किताब पढ्न जाँगर

विशेषतः राजनीतिक र साहित्यिक किताब पढ्न जाँगर चल्छ । घरमै विशाल पुस्तकालय बनाउने योजनासहित किताब संकलनले प्राथमिकता पाएकै थियो । तर, संकलित किताब आगलागीमा परे ।
मनाङ, मुस्ताङ पुग्ने रहर घुमफिरमा असाध्यै रुचि छ । प्राकृतिक सौन्दर्यले लोभ्याउँछ । विभिन्न कामले धेरै जिल्ला टेकेको छु । घुमेकामध्ये पूर्वै मन पर्यो । मनाङ र मुस्ताङ पुग्ने रहर छ ।

फुर्सदमा घरपरिवारसँग रमाउँछु

मानिसलाई फुर्सद कहिल्यै हुँदैन । फुर्सद व्यवस्थापन गर्ने हो । स्थानीय तहमा काम भइरहन्छ । तर, फुर्सद निकाल्न चाह्यो भने व्यवस्थापन गर्न सकिन्छ । फुर्सद भइहालेमा घरमै बस्छु । घरपरिवारसँग रमाउँछु । घरमा गर्नुपर्ने सबै काम गर्न सक्छु । मलाई हलो बनाउन आउँछ । डोको, डालो बुन्न आउँछ ।

रमाइलोका लागि फुटबल

सबै खेलप्रति उत्तिकै सम्मान रहे पनि फुटबल असाध्यै मन पर्छ । रमाइलोका लागि फुटबल खेल्छु । विद्यालय तह र गाउँघरमा हुने विभिन्न कार्यक्रममा फुटबल खेलें । व्यावसायिक रूपमा भने कहिल्यै खेलिनँ । अखिल नेपाल फुटबल संघ (एन्फा) कोसी प्रदेश उपाध्यक्षको भूमिकामा छु । म अर्जेन्टिना पक्षधर हुँ ।

६० हजारको मोबाइल

सामसुङको मोबाइल सेट प्रयोग गर्दै आएको छु । यसको ६० हजारसम्म पर्यो होला । मोबाइलका एप्लिकेसनमध्ये इमेल, इन्टरनेट, फेसबुक, इमो, वाट्सप, भाइबरलगायत प्रयोग गर्छु । एकताका मोबाइलमा गेम निकै खेल्थें । अहिले खेल्दिनँ ।

समाचार सुन्दै निदाउने

टेलिभिजनमा अन्तर्वार्ता र समाचार सुन्छु । हेर्छु । समाचार सुन्दै–सुन्दै निदाउँछु । घरमा टीभी छ । तर, कमै हेर्छु ।

बाक्सिला बजारमा निर्मित केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईको घर ।

दयाहाङ राईका अधिकांश चलचित्र हेरेको

धेरै भयो हलसम्म पुगेर चलचित्र नहेरेको । तर पनि दयाहाङ राईका अधिकांश चलचित्र हेरेको छु ।

सकारात्मक सोच, खानपानले स्वस्थ

मलाई चिसोले छिट्टै समात्छ । पाँच वर्षअघि शल्यक्रिया गरेर मिर्गौलामा भएको पत्थरी निकालेको थिएँ । अहिलेसम्म ‘होलबडी चेकअप’ गरेको छैन । सकारात्मक सोच र खानपानको अनुशासनले स्वस्थ रहन सघाउँछ ।

भाषण गर्नअघि तयारी नगर्नु कमजोरी

आफ्नो भाषणशैली आफैंले मूल्यांकन गर्दा ठीकै लाग्छ । भन्न खोजेको विषय प्रस्ट्याउन सक्छु । परिस्थिति हेरेर भाषण गर्छु । भाषण गर्नअघि तयारी नगर्नु मेरो कमजोरी हो ।

रोजाइ ‘लोकल ब्रान्ड’

मादक पदार्थ लिन्छु । कोदोको ‘लोकल ब्रान्ड’ पहिलो रोजाइमा पर्छ । मात्रा यति नै हो भन्ने छैन । मात लाग्नेगरी खाए पनि अहिलेसम्म कोहीसँग नराम्रो भएको छैन ।

म पनि बाथरुम सिंगर

गीत–संगीत सुन्छु । राजेशपायल राई र प्रमोद खरेलको आवाज कर्णप्रिय लाग्छ । बाथरुम पस्दा, कपडा धुँदा म पनि गीत गुनगुनाउँछु ।

‘टिमवर्क’को कमजोरीले अप्ठ्यारोमा

मानिस भएपछि जान–अन्जानमा गल्ती हुन्छ । तर, पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । म ६/७ कक्षामा पढ्थें । कहिलेकाहीं पढ्नै मन नलाग्ने । साथीको लहैलहैमा यदाकदा स्कुलबाट भाग्थें । गृहकार्य नगरेको विषयको कक्षाबाट बंक हान्थें । असाध्यै कडा स्वभावका शिक्षकको कक्षा लिन्नथें ।

तर, कहिलेकाहीं गल्ती नगरी पनि सजाय पाइन्छ । ‘टिमवर्क’को कमजोरीले पनि अप्ठ्यारोमा परेको छु । आफूले गल्ती गरेको थाहा पाएँ भने आत्मलोचना गरिहाल्छु ।

१ करोडको घर

बाक्सिला आगलागीमा मेरो पनि घर पर्यो । त्यतिबेला तीन महिनाजति पालिकाको क्वार्टरमा बस्यौं । तर, परिवारलाई सहज लागेन । आफ्नै घरमा बस्नुपर्छ भन्ने निष्कर्षसहित पिल्लरवाला घर बनाएको हो । घर ‘फिनिसिङ’ भइसकेको छैन । ‘फिनिसिङ’ गर्दाको खर्च जोड्दा एक करोड पुग्छ । वास्तुशास्त्र न हेराए पनि घडेरी खन्दा पूजाआजा गरेका थियौं ।

मेरो पनि व्यक्तिगत ज्योतिषी

मेरो राशी मिथुन हो । श्रीमतीले मेरो ग्रहदशा हेराउँछिन् । मेरो व्यक्तिगत ज्योतिषी पनि छन् । श्रीमतीले नै ग्रहशान्ति पनि गराउँछिन् । देब्रेहातको चोरी औंलामा लगाएको सुनको औंठी हो । यो पनि श्रीमतीले भनेपछि लगाउन थालेको हुँ ।

कपालमा नवरत्न

मेरो कपाल मोटोखालको छ । सामान्यतः कपालमा नवरत्न तेल लगाउँछु । कहिलेकाहीं फेसियल गर्ने गरेको छु ।

बुवा–ससुरा बुवा साथी–साथी

मेरो बुवा र ससुरा बुवा साथी–साथी । बुवाहरू साथी–साथी भएकाले बिहे गर्नअघि श्रीमतीसँग चिनजान थियो । बुवाहरूको कुरा मिलेपछि चिनजानलाई बिहेमा परिणत गर्यौं । किरात राई समुदायको परम्पराअनुसार हामीले मागीबिहे गरेका हौं ।

‘टिमवर्क’ मिले खोटाङकै जनप्रतिनिधि

प्रत्येक नेपाली आत्मनिर्भर भएको नेपाल परिकल्पना गरेको छु । भौतिक विकास अपरिहार्य छ । तर, त्यतिले मात्रै समृद्धि आउँदैन । भौतिक निर्माणमात्रै प्राथमिकतामा परेको छ । मुलुकलाई आत्मनिर्भर बनाउने हो भने स्वरोजगार कार्यक्रम सञ्चालन, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । अनि मात्रै देश बन्छ । देशवासी समृद्ध बन्छन् ।

मैले केपिलासगढी गाउँपालिकामा यही मुद्दालाई बुलन्द बनाउँदै आएको छु । म कांग्रेस खोटाङ सचिव हुँ । पार्टी सभापति हुने रहर छँदै छ । राजनीति भनेको ‘टिमवर्क’ हो । एक्लैले गर्छु भनेर साध्य हुँदैन । टिम मिल्दै जाँदा र परिस्थिति बलियो बन्दै गएमा समग्र खोटाङको जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने रहर छ ।

मृत्युले कसैलाई दुःख नहोस्

मृत्यु शाश्वत सत्य हो । मृत्युसँग डर लाग्दैन । मृत्यु सहज होस् । मेरो मृत्युले कसैलाई दुःख नहोस् ।

प्रतिक्रिया दिनुहोस्