परापूर्वकालमा काचिबुई वारिन्दो नामक किराती सिकार खेल्दै जानेक्रममा माटोले पुरिए । पोम्ला लुङ अर्थात् मृतात्मा ढुंगामै उनको अन्त्यष्टि गरियो । भनिन्छ, ‘काचिबुई वारिन्दोलाई माटोमा पुरेपछि किरात राई समुदायले मानिस मरेपछि शव गाड्न थालिएको हो ।
कुलुङ राई भाषामा पोम्लाको अर्थ स्वर्गवासीको आत्मा र लुङको अर्थ ढुंगा हुन्छ । मरेपछि उनीहरूले ‘मृतात्मालाई पोम्ला लुङ गएर बस्नू है’ भन्छन् । मृतात्मालाई पोम्ला लुङमा पठाउन थालेपछि, जब रात पथ्र्यो तब सबै मृतात्मा त्यहाँ भेला भएर रातभरि गीत गाउने, हाँस्ने, कोही रुने गर्न थाले । यो ढुंगा सोलुखुम्बु गुदेलको लिम्चोलामा पर्छ ।
राताप्खु नामक अर्का किरात सिकारीको घर पोम्ला लुङ ओढारनजिकै पथ्र्याे । भूतले रातभरि हल्ला गरेर उनी बसाइँ सरेर बोदेल गए । राताप्खुले आफ्नो सिकारी कुकुरलाई दैनिक सिकारमा पठाउँथे । कुकुर आफैंले सिकार मारेर घर ल्याउँथ्यो । तर, बोदेल सरेपछि उसले सिकार ल्याउन छाड्यो ।
कारण पत्ता लगाउन राताप्खुले कुकुरको घाँटीमा पिँडालुको पातमा खरानी पोका पारेर झुन्ड्याइदिए । राताप्खु कुकुरलाई पछ्याउँदै गए । कुकुरको घाँटीमा झुन्डिएको खरानी पोखिँदै गयो । त्यसकै सहायताले राताप्खुले कुकुरलाई पछ्याउँदै हिँडे । पछ्याउँदै जाँदा कुकुर हुलुडाँडा पुगेपछि रोकिए । कुकुर पछाडि सर्दै भुक्न थालेपछि राताप्खुले ‘के भयो’ भनेर हेर्दा छेम्सी नामक सिकारीले धनुवाणले कुकुरलाई हान्न लागेको देख्यो । राताप्खुले ‘मेरो कुकुर हो’ भन्दै छेम्सीलाई वाण नहान्न अनुरोध गरे । त्यसपछि छेम्सी र राताम्खु आपसमा चिनजान गरी कुकुरले मारेको सिकार दुवैले बाँड्ने सल्लाह गरे । उनीहरू दुवै राताप्खुको कुकुरले लखेटेको सिकारमा गए । कुकुरले केही क्षणमै सिकार मार्यो । दुवैले सिकार बाँडे ।
छेम्सी सिकारमा असाध्यै रुचि राख्थे । ऊ बसेको ठाउँमा सिकार त्यति पाइँदैनथ्यो । राताप्खु सिकारभन्दा खेतीपातीमा रुचि राख्थे । तर, राताप्खु बसेको ठाउँमा अन्नपात हुँदैनथ्यो । त्यहाँ सिकारमात्र पाइन्थ्यो । तसर्थ, छेम्सीले राताप्खुलाई जग्गा आधा–आधा बाँड्ने प्रस्ताव राखे । ‘आधा–आधा होइन,’ राताप्खुले प्रस्ताव राखे, ‘जग्गा पूरै बाडौं ।’ राताप्खुले जग्गा साट्दा पोम्ला लुङ छेम्सीको हात पर्ने भयो । छेम्सीले पोम्ला लुङलाई चाहिँ दुवैको साझा बनाउने प्रस्ताव राखे । पोम्ला लुङमा सबैको मृतात्मा पठाउने साझा थलोका रूपमा स्वीकारे ।
यसरी पोम्ला लुङ सबै किरातीको मृतात्मा पठाउने साझा ठाउँ बन्यो । सबै किरातीले मृत्युपछि मृतात्मालाई पोम्ला लुङ पठाउन थालियो । भनिन्छ, ‘पोम्ला लुङ ओढारमा केही समयअघिसम्म मृतक भेला भएर हल्ला गर्थे । किराती धामी, बिजुवाले तन्त्रमन्त्र गरेर बन्दुक पड्काएपछि हल्ला हुन छाडेको हो ।’
किरात राई समुदायले मृतकलाई माटोमा पुर्दा वरिपरि ढुंगा राख्ने गर्छन् । त्यसको अर्थ पोम्ला लुङ ओढार बनाएको हो ।