उत्तरतिर सगरमाथाबाट बग्दै झरेकी दूधकोसी । खुवालुङ भेट्न हतारिँदै दक्षिण बगिरहेकी सुनकोसी । बग्नुमात्रै नदीको धर्म होइन । उसले आसपासका खेतबारी सिञ्चन गर्नुपर्छ । तब नदीको धर्म अर्थपूर्ण मानिन्छ ।
हलेसी तुवाचुङ नगरपालिकालाई दूधकोसी र सुनकोसीले अँगालो हालेको छ । ११ वडा समेटेर निर्मित नगरपालिकाका महादेवस्थान र अर्खौलेबाहेकका वडालाई दूधकोसी र सुनकोसीले छोएको छ । नौ वडाका कोसीकिनार सदुपयोग गर्न सकिएको छैन । सदुपयोग गर्ने अवधारणासम्म बनेको पाइँदैन ।
‘कम्युनिस्ट खर्बुजाजस्तै हुन्,’ बागमती प्रदेश सांसद इन्द्र बानियाँले व्यंग्य गरे, ‘हेर्दा हरियो । भित्रचाहिँ रातो ।’ सांसद बानियाँले भनेजस्तो खर्बुजा हेर्दा हरियो देखिए पनि भित्र रातो तर मीठो हुन्छ ।
दूधकोसी र सुनकोसीको पानीले बनाएको बगरलाई मोहरमा परिणत गर्न सकिन्छ । बालुवामा खेती गर्न त्यति सजिलो हुँदैन । तर, थोरै लगानी र मिहिनेतमा पैसाको मुख देख्न पाइन्छ । सुन्दा कतिपयलाई अनौठो लाग्न सक्छ । बगरलाई मोहरमा परिणत गरिएको थुप्रै उदाहरण छन् । दूधकोसी र सुनकोसीकिनारमा खर्बुजा खेती गर्न सकिन्छ । कोसीकिनारको बगरमा खर्बुजा खेतीमात्रै गर्न सके स्थानीयको आयस्रोत बढ्नेछ । स्थानीयको आयस्रोत बढ्नु भनेको नगरपालिकासमेत लाभान्वित हुनु हो ।
सल्ले, मंगलटार, बडहरे र बाहुनीडाँडा हुँदै दूधकोसी बगेकी छन् । डिकुवा, च्यास्मिटार, दुर्छिम, धितुङ र राजापानी भएर सुनकोसी बगेकी छन् । नौवटै वडाका किसानलाई कोसीकिनारमा खर्बुजा खेती गर्न सम्बन्धित वडामार्फत नगरले प्रेरित गर्नुपर्छ ।
कतिपयले अरबबाट फर्केर बगरमा खर्बुजा खेती गरिरहेका छन् । कतिले वर्षौंदेखि खर्बुजा खेती गरेर बगरलाई मोहरमा परिणत गरेका छन् । खर्बुजा खेती गर्न पक्कापक्की भएपछि हलेसी तुवाचुङ नगरपालिकाले प्रतिनिधिमूलक किसानलाई खर्बुजा खेती गरिरहेका किसान भेट्न पठाउने व्यवस्था मिलाउनुपर्छ । खर्बुजा किसानको अनुभव खर्बुजा खेती गर्न थाल्नेलाई महत्वपूर्ण ‘टिप्स’ हुनेछ । भन्नेले बगरमा खर्बुजा खेती गर्नलाई केही गर्नै पर्दैन भन्लान् । तर, कोसीकिनारका जमिन सदुपयोग गर्न त्यति सजिलो पनि छैन । ‘खनिएका खाल्डोमा गोबर र रासायनिक मल हालेर खर्बुजा रोपिन्छन्,’ खर्बुजा खेतीमा रमाइरहेका किसानको भनाइ छ, ‘मल र पानी मिलाउन सके एउटै खर्बुजा १० किलोग्रामसम्मको फलाउन सकिन्छ ।’
पानी कोसीको सदुपयोग गर्न सकियो । तर, मल नि ? इच्छा भए उपाय कति–कति ? गाईबस्तु नपाली पनि प्रांगारिक मल बनाउन सकिन्छ । नगरले प्रांगारिक मल बनाउने विधि र प्रविधिसँग किसानलाई परिचित गराउन सक्नुपर्छ । त्यसो गर्न सके विकासी मल प्रयोग कम हुँदै जानेछ । विकासी मलले पारेको असरबारे किसान धेर–थोर जानकार छन् । खर्बुजा खेती गर्नमात्रै होइन, समग्र किसानलाई प्रांगारिक मल बनाउने विधि र प्रविधिसँग जोड्न ढिला गर्नुहुँदैन । त्यसो गर्न सके वास्तविक किसान लाभान्वित हुनेछन् । झोले किसान पोस्याउने कृषि नीति ‘आउटडेटेड’ भइसक्यो । तर पनि उनीहरूकै रजगज छ । नगरले समाजवादउन्मुख कृषि नीति ल्याउनुपर्छ । वास्तविक किसानले लाभ लिन सक्ने नीति बन्नैपर्छ । बनाउनैपर्छ ।
कोसीकिनारमा उत्पादित खर्बुजा नगरले किन्दिनुपर्छ । उसले बजार व्यवस्थापनमात्रै गरिदियो भने किसानको पसिनाले मूल्य पाउनेछ । उत्पादित खर्बुजा बिग्रन नदिन ठाउँ–ठाउँमा चिस्यान केन्द्र स्थापना गरिदिए पुग्छ । यतिमात्रै गर्न सक्यो भने समाजवादउन्मुख कृषि नीतिको थिति बस्दै जानेछ ।
सुनकोसीकिनारमा उत्पादित खर्बुजा उदयपुरको पहाडी क्षेत्र र दूधकोसीकिनारमा उत्पादित खर्बुजा ओखलढुंगासम्म बेच्न सकिन्छ । माघ/फागुनमा रोपिएका खर्बुजाबाट वैशाख/जेठमा खानयोग्य बन्छ । खर्बुजा बेचेरै दुई/चार करोड आम्दानी गर्न सकिन्छ ।
गर्मी होस् या जाडो गाउँघरमा कोल्ड ड्रिङ्क्स पिउने लत बसेको छ । गर्मी मौसममा कोल्ड ड्रिङ्क्सको साटो खर्बुजा खाँदा फाइदा हुन्छ भनेर जनचेतना जगाउनुपर्छ । ११ वटै वडाका विद्यालयको ‘टिफिन टाइम’मा खर्बुजा बेच्न सकिन्छ । भारतबाट आयातीत खर्बुजाभन्दा कोसीकिनारमा उत्पादित खर्बुजा स्वादिलो हुन्छ । हलेसी आइपुगेकालाई यहाँका होटल सञ्चालकले गर्मी मौसममा खर्बुजा खुवाउन प्रेरित गर्नुपर्छ । गर्मीमा खर्बुजा खान र खुवाउन प्रयत्न गरे सबैको भलो हुनेछ । कोल्ड ड्रिङ्क्स पिउँदा तत्काललाई शीतल भए पनि स्वास्थ्यका हिसाबले फलदायी मानिदैन । यो कुरा स्वास्थ्यकर्मी, शिक्षक, स्थानीय सञ्चारमाध्यम, सम्बन्धित गाउँठाउँका बुद्धिजीवी, आमा समूह, सामाजिक अभियानकर्तामार्फत सचेत गराइरहनुपर्छ ।
खर्बुजामा ९२ प्रतिशत पानी हुने बताइन्छ । यसमा खनिज, भिटामिन र एन्टिअक्सिडेन्ट पाइन्छ । कोल्ड ड्रिङ्क्सभन्दा खर्बुजा खानुको फाइदा धेरै छन् । खर्बुजा खाँदाको बेफाइदा पनि होलान् । तर, नगन्यमात्रै । पानी पिउन नसक्नेले खर्बुजा खाँदा पानीको काम गर्छ । यो अरू फलफूलजस्तो महँगो पर्दैन । जोकोहीले किनेर खान सक्छन् ।
बागमती प्रदेश सांसद इन्द्र बानियाँले कम्युनिस्टलाई खर्बुजाको उपमा दिएका थिए । ‘कम्युनिस्ट खर्बुजाजस्तै हुन्,’ उनले व्यंग्य गरे, ‘हेर्दा हरियो । भित्रचाहिँ रातो ।’ सांसद बानियाँले भनेजस्तो खर्बुजा हेर्दा हरियो देखिए पनि भित्र रातो र मीठो हुन्छ । कम्प्युटर र ल्यापटपमा धेरै समय बिताउनेलाई खर्बुजा त्यत्तिकै फलदायी मानिन्छ । यस्तो फलदायी खर्बुजा खेती गर्न हलेसी तुवाचुङ नगरपालिकाले पालिकावासीलाई प्रेरित गर्नैपर्छ । कोसीकिनारमा खर्बुजासँगै छोकडा (खजुर) खेतीसमेत गर्न सकिन्छ ।
नेपालको संविधान २०७२ मा मुलुक समाजवादउन्मुख रहेको उल्लेख छ । तसर्थ, हलेसी तुवाचुङ नगरपालिकाले कृषि नीति बनाउँदा समाजवादउन्मुख बनाउनैपर्छ । सरकारले हलेसी तुवाचुङ नगरपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थुप्रै भयो । अपवादबाहेक यहाँका अधिकांश खेतबारीमा ६ महिना केही गरिँदैन । सुक्खा ठाउँमा पनि त केही न केही गर्न सकिन्छ । सुक्खा ठाउँको माटो र हावापानीसुहाउँदो विधि र प्रविधि खोजी गरी किसानलाई व्यस्त राख्न ढिलो गर्नुहुँदैन ।