कांग्रेस खोटाङ आमन्त्रित सदस्यमा राई



हलेसी (खोटाङ) । कांग्रेस खोटाङले आमन्त्रित सदस्यमा सयन्द्र राईलाई मनोनयन गरेको छ ।

पार्टी संगठन निर्माण, विस्तार तथा सुदृढीकरणमा उल्लेखनीय भूमिका, सहयोग र सहकार्य गर्न राईलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति खोटाङ आमन्त्रित सदस्यमा मनोनयन गरेको कांग्रेस खोटाङले जनाएको छ ।

तुवाचुङ साप्ताहिकका पूर्वकार्यकारी सम्पादकसमेत रहेका उनले महेन्द्रोदय माध्यमिक विद्यालय महादेवस्थान खोटाङ नेविसंघ सहसचिवबाट राजनीतिक यात्रा थालेका थिए । यो संवत् २०५१/०५२ को कुरा हो । त्यतिबेला उनी सात कक्षामा अध्ययनरत थिए । उनी पहिल्यैदेखि कांग्रेसका क्रियाशील सदस्य हुन् ।

 

उच्च शिक्षा हासिल गर्न काठमाडौं पसेपछि पनि उनले कांग्रेसको भ्रातृ संगठनमा रहेर काम गरेका थिए । सँगसँगै सामाजिक संघ संस्थामा समेत काम गरे । उनी किरात राई यायोक्खा काठमाडौंको सदस्य हुँदै सचिवको भूमिका निर्वाह गरेका थिए ।

हलेसी प्रतिष्ठानको सदस्यदेखि महासचिवसम्म भएका उनले लामो समय नयाँ पत्रिका राष्ट्रिय दैनिकमा काम गरे । नयाँ पत्रिकामा काम गर्दा गर्दै खोटाङ फर्केका उनी हलेसी तुवाचुङ नगरपालिकाको पूर्वकम्प्युटर अपरेटर हुन् । हलेसी सूचना केन्द्रको पूर्वप्रमुख सयन्द्र राई पछिल्लो समय कांग्रेसका ‘होलटाइमर’ बनेका छन् ।

अलिकति पत्रकारिता, अलिकति निजामती कर्मचरीतन्त्र, अलिकति सामाजिक संघ संस्था सञ्चालनसम्बन्धी ज्ञान भएका व्यक्ति राजनीतिमा होमिँदा पार्टी, समाज र मतदाता लाभान्तिव हुनेमा द्विविधा रहँदैन । बहुमुखी प्रतिभालाई दृष्टिगत गर्दै आमन्त्रित सदस्यमा मनोनयन गर्दा उनले कांग्रेस खोटाङलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्