घरबाट विद्यालय पुग्न एक घन्टा लाग्थ्यो । त्यतिबेला दुई कक्षामा अध्ययनरत उनको झोलामा पाठ्यपुस्तकसँगै चक्लेट, बिस्कुट र चुइङ्गम हुन्थे । दुई कक्षाको विद्यार्थीका झोलामा पाठ्यपुस्तक हुनु स्वाभाविकै हो । तर चक्लेट, बिस्कुट र चुइङ्गमचाहिँ नि ? जोकोहीलाई खुल्दुली लाग्ने नै भयो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल दुईदेखि १० कक्षा पढ्दासम्म झोलामै चक्लेट, बिस्कुट र चुइङगम बोकेर विद्यालयमा बेच्थे । ‘त्यतिबेला सबैभन्दा धेरै ग्लुकोज बिस्कुट बेचें,’ मेयर रिजालले विगत सम्झे, ‘थिनआरारुट, पाइनापल पशुपति बिस्कुट र खोलविनाको चक्लेट पनि त्यत्तिकै बेचेका थिएँ । चुइङ्गम, हर्बल र सुन्तले चक्लेट त झन् कति बेचें कति ।’
सुन्तले चक्लेट एक रुपैयाँमा चारवटा पाइन्थ्यो । सेतो चक्लेट दुईदेखि तीनवटासम्म आउँथ्यो । चक्लेटबाट कति फाइदा हुन्थ्यो होला ? ‘२० रुपैयाँको एक प्याकेट चक्लेट बेच्दा ३० रुपैयाँ हुन्थ्यो,’ उनले अतीत सम्झे, ‘एक प्याकेट चक्लेट बेच्दा १० रुपैयाँ फाइदा हुन्थ्यो ।’
चक्लेट, बिस्कुट र चुइङ्गम दिक्तेलबाट लैजान्थे । उनले बिस्कुटबाट सबैभन्दा धेरै फाइदा गर्थे । २५ रुपैयाँमा एक दर्जन बिस्कुट पाइन्थ्यो । २५ रुपैयाँको एक दर्जन बिस्कुट बेच्दा ६० रुपैयाँ हुन्थ्यो । २५ लगानी गरेर ३५ रुपैयाँ फाइदा गर्दा उनी कम्ती खुसी हुँदैनथे । त्यो क्षण सम्झँदा उनलाई हिजैजस्तो लाग्छ ।
दुई कक्षाका विद्यार्थीलाई व्यापारिक उपाय कसले दियो होला ? ‘आफैंले निकालेको नि । आर्थिक रूपमा म विपन्न परिवारको थिएँ । पैसाको मुख देख्न पाइँदैनथ्यो,’ उनले गर्व गरे, ‘म ६ कक्षा पढ्दा ठुल्ठूला दुई घर बनाउँदा चाहिने ढुंगा फुटाएर आफैंले बोकेको छु । ती घर अहिले पनि छन् । आठ कक्षा पढ्दा सातका विद्यार्थीलाई ट्युसन पढाउँथें । ट्युसन पढाएर नेर्पामा रहेको मतान बनाएको हुँ । मतान अहिले पनि छँदै छ । मतान बनाउन ३० देखि ४० हजार रुपैयाँ लागेको थियो ।’
झोलामा चक्लेट, बिस्कुट, चुइङ्गम बोकेर ‘टिफिन टाइम’ मा बेच्नु दिनचर्याजस्तै बनेको थियो । झोलामै बोकेर चक्लेट, बिस्कुट, चुइङ्गम बेच्न कहिल्यै अल्छी मानेनन् । उनी गाउँघरवरिपरिका बजारसम्म पुगेर चक्लेट, बिस्कुट, चुइङ्गम बेच्थे ।
पैसा संकलन हुनासाथ ब्याजमा लगाउँथे । त्यसैले ऋण माग्न छरछिमेककी उनीकहाँ पुगिरहन्थे । त्यतिबेला ब्याजमा दिएको आधाजति पैसा अहिलेसम्म उठेको छैन । विद्यार्थी जीवनमै व्यापारीको परिचय बनाएका उनी सधैं ‘फस्र्ट’ हुन्थे । ‘म कहिल्यै सेकेन्ड भइनँ,’ उनले जानकारी गराए, ‘म पाँच र आठ कक्षाको खोटाङ फस्र्ट हुँ ।’
विद्यालयमा बिस्कुट बेच्दा कसैले केही भनेनन् । उनी कक्षाको पहिलो विद्यार्थी । सिक्न उनकै शरण पर्नुपथ्र्यो । ज्ञान जति बाँड्यो त्यति बढ्छ । आफूले जानेको सिकाउन कन्जुस गर्दैनथे । आफूले जानेको सिकाउने र ट्युसन पढाउने भएकाले उनी पढाइमा अब्बल थिए । ‘मसँग बस्ने लोभमा देवीनारायण आचार्यको ढाड भाँचिएको छ,’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आफ्नै कार्यकक्षमा बसेर उनले भने, ‘मसँग बस्ने प्रतिस्पर्धा गर्दा अहिले भारतीय सेनामा रहनुभएका निरीकुमार राईले मुक्का हान्दा आचार्यको ढाड खुस्काइदिनुएको थियो ।’
विद्यार्थी जीवनमा संघर्षका पापड बेल्नसम्म बेलेका उनले ढुंगा फुटाएर बोक्नसम्म पछि परेनन् । नारायण रिजालसँग मिलेर दुई महिना ढुंगा फुटाउँदै बोके । ‘विद्यालय जानुअघि ढुंगा बोक्थें । विद्यालयबाट फर्केपछि घरै नपुगी ढुंगा बोक्थें,’ उनले थपे, ‘जब म ढुंगा बोक्थें, त्यतिबेला कक्षामा पढाइएको विषय सबैभन्दा छिटो सम्झन्थें । ढुंगा बोकिरहँदा पनि पढाइएको विषय सम्झिरहन्थें ।’
कक्षा चढ्दै जाँदा सामाजिक काम, अध्ययन र राजनीतिमा त्यत्तिकै ध्यान दिन्थे । गाउँघरमा हुने शुभकार्यमा सक्रियपूर्वक सघाउँथे । गाउँका अधिकांशको बही लेखिदिन्थे ।
एसएलसी उत्तीर्ण गर्दा चक्लेट, बिस्कुट बेचेको र ट्युसन पढाएको शुल्क जोड्दा मेयर दीपनारायण रिजालसँग १३ लाख रुपैयाँ थियो ।
त्यो पैसा कहाँ सदुपयोग गर्नुभयो ?
‘मैले अहिलेसम्म जे गरेको छु,’ मेयर रिजालले खुसी व्यक्त गरे, ‘त्यही पैसाले गरेको हुँ ।’