कृषक



म अप्राथमिक
ऊ प्राथमिक
म निम्नमाध्यमिक
ऊ माध्यमिक
म अमाध्यमिक
ऊ उच्च माध्यमिक
म अउच्च माध्यमिकमात्र
ऊ युनिभर्सल
म अब्याचलर
ऊ विद्यावारिधि
म अप्राथमिक

यसरी छानिएको प्राज्ञिक
म अप्राज्ञिक
म अल्पसांख्यिक
ऊ विकसित
म अविशेषज्ञ
ऊ सबैभन्दा ठूलो विज्ञ

यसरी छुट्याइन्छ देश निर्माण
जो म अहोरात्र देशको मुहारमा
उज्यालो रोप्न
पसिनाले भिजीभिजी लखतरान खट्छु
ऊ मञ्चमा उभिएर स्वरै सुकुन्जेल
कसमै कसमको बखान सुनाउँछ
सबैभन्दा चर्को ठूलै आवाजमा
देश निर्माता आफूलाई दाबी गर्छ

न त मलाई केही हुँ भन्नुपर्या छ
न त म ऊजस्तै ठग विद्वान् साबित हुनु छ
म त केवल चैते खडेरी फुटाएर
वैशाख रोप्ने बाँझो जमिन
जसलाई हरदम गोडमेल
मलजल गरेर अन्नको भकारी फलाउने कृषक
मान्छेको भोक मेट्ने एकछत्र
सोझो सङ्लो असल किसान ।

 

प्रतिक्रिया दिनुहोस्