आमा, म मरें भने बा फेरि आउनुहुन्छ ?


ज्ञानी अहिले आठ वर्षकी भई ।

अहिले तनमन दिएर खुब सोच्दै, विचार गर्दै काँचको पुतली सिँगार्न लागेकी छे । बेलायती पुतलीमा कहाँ टीका हुन्छ र । उसले टीका लगाइदिई । अहा, कति खुल्यो ! हँसिलो अनुहार झकमक्क भयो । अघि बज्यैले एक टुक्रा रेशमको कपडा दिएकी थिइन्, त्यैलाई फरिया बनाएर ऊ खुब सम्हाल्दै बेर्न लागिरहेकी छे । र भन्दै जान्छे, ‘तँलाई बिहे गरिदिन्छु, नानीबाबाको दुलहासित । हुन्छ भन्न है ? अस्ति माइज्यू रोएझैं म पनि रुन्छु, तँलाई दाइजो दिन्छु ।’

ज्ञानीको दाज्यु धन, त्यस्तै आठ/नौ वर्षको होला । आयो, कोठाभित्र पस्यो र भन्यो, ‘ए ज्ञानी ! जा त माथिबाट साँचो लिएर आ ।’

ज्ञानी केही वास्ता नगरी पुतलीलाई भनिरहेकी थिई, तँलाई सुनको गहना नभए जगमगको गहना बनाइदिउँला ।’

धनले रिसाउँदै भन्यो, ‘जा भन्या । मान्दिनस् ? ‘ज्ञानीले झर्केर भनी, ‘के ?’ धनले स्यानो स्वरमा यताउति पल्याकपुलुक हेरेर भन्यो, ‘जा न, साँचो लिएर आ, एक थोक कुरा गर्नुपर्यो ।’

‘के एक थोक ? जान्नँ ।’

‘बिस्तारै भन्या । फेरि ज्ञानीको कानमा खासखुस गर्दै भन्यो, ‘जा न जा, हेर् भाइ, साँचो लिएर आ न ।’

ज्ञानीले प्रश्नसूचक नेत्रले हेरी । धनले फेरि भन्यो, ‘के अब… चार–चार पैसा तँलाई पनि ।’

आमाले थाहा पाउनुभयो भने नि ?

‘थाहा पाउनुहुन्न, जा न जा ।’

‘नाइँ बा ! म त जान्नँ ।‘

‘हुन्छ त हुन्छ,’ फेरि कठोर स्वरमा भन्यो, ‘जान्नस् ? जा नत्र !’

‘जान्नँ, अहो कस्तो हाइसन्चो ! मलाई साँचो लिएर आ रे, हुँ ।’

‘हेर्, म त्यो पुतली फोडिदिन्छु । लुगाफाटो सबै बालिदिन्छु ।’

ज्ञानी केही नबोली अनुहारलाई हुप्प पारेर पुतलीलाई फरिया लाइसिध्याएर तल राखी र एउटा स्यानो काठको बाकसबाट अर्को कपडा झिकी ।

धनले रिसाएर कड्केर भन्यो, ‘फुँडी, राँडी, बोक्सी !’

ज्ञानीले एकफेरा जलेको क्रोधभरि दृष्टिले धनलाई हेरी ।

‘के हेरेकी ? जा त ।’

‘अर्कालाई किन बोक्सी भन्नुपर्यो ?’

‘हुन्छ, भन्दिनँ जा, ‘धनले नम्र भएर भन्यो ।

ज्ञानीले उठ्ने नामै लिइनँ । कपडालाई तह लगाइरहेकी थिई । धनले केहीबेर प्रतीक्षा गर्यो र फेरि कराएर भन्यो, ‘जा भन्या, बोक्सी, राँडी !’
‘जान्नँ रे अर्कालाई हेर, म आमालाई भनिदिन्छु ।’

धनले हाँस्तै भन्यो, ‘अहो ! को डराउँछ क्यारे कुन्नि, भन्देन ‘होइन’ भन्छु ।’

‘नडाराए के त ! म जान्नँ ।’

धनले अनुहारलाई गम्भीर बनाएर भन्यो, ‘भइहाल्यो त, म मागेर लिउँला बजैसित । तँ बाबु टोक्नेसित के कुरा गर्नु ।’

ज्ञानीले आँखालाई पलैक्क पल्टाएर धनलाई क्रोध तथा पीडामिश्रित भावले हेरी र भनी, ‘केरे ?’

‘तँ बाबु टोक्नेसित के कुरा गर्नु !’

ज्ञानीले अझ त्यही भावले हेरिरही ।

‘के हेरेकी ? तँ रिसाएर को डराउँछ र हा हा हा !’

ज्ञानीले अलि ठुस्केर भनी, ‘नडाराए के त, उसलाई चोर्नलाई ल्याइनँ भने र !’

‘साँचो ल्याइन भनेर के त, उँहुँहुँहुँ !’

‘जे पायो उही भन्न पाइन्छ र ?’

‘के त, तँ बाबु टोक्ने होइनस् त ?’

ज्ञानीले चिच्याएर कराई, ‘आमा ! आमालाई भनिदिउँला ।’

‘सबैले बाबु टोक्ने भन्छन् के त !’

ज्ञानी चुप लागी । गम्भीर मुद्रा धारण गरी अनुहारलाई फुलाएर भिउँटे बनाई ।

धनले हाँस्तै भन्यो, ‘तेरो पुतली संसारमा सबैभन्दा रद्दी उँहुँ, नराम्रो । रतन्चाको कस्तो छ !’

‘नराम्रो भए मेरै नराम्रो, कसलाई के वास्ता !’

‘बाबु टोक्नेको पुतली पनि राम्रो हुन्छ ?’

बाबु टोक्ने, बाबु टोक्ने ! तँ बाबु टोक्ने !’

‘अँ, कुन्नि को ? आमासित सोध्ने ?

‘आमा…..!’

‘हा … डराएँ ! बिन्ती गरेर मुसाको दुलोभित्र पस्नुपर्यो ।’

ज्ञानीले एकचोटि आहत दुष्टिले धनलाई हेरी र मुन्टो निहुराएर चुप लागी ।

‘के त, तँ जन्मेको रातमा बा मर्नुभएको होइन ? आमाले भन्नुभा …..।’

त्यसबेलासम्म ज्ञानीको अनुहार विदीर्ण भइसकेको थियो । दुवैपट्टिको गालामा च्यातियो र मुखबाट रुवाइ फुट्यो– ह्वाँ…ह्वाँ !

धन उठेर भाग्न खोज्यो । ज्ञानीले त्यही काँचको पुतली उठाएर हिर्काई । धनलाई लागेन । भित्तामा लागी पुतली चूर्ण भयो । धन बचेर भाग्यो कराउँदै, ‘हा हा हा ।’ ज्ञानी झन् खुट्टा बजारीबजारी रुन लागी । अघिल्तिर स्यानो ऐना थियो, त्यसलाई फाली । त्यो पनि चूर्ण भयो । ऐना फुटेको आवाज आमाको कानमा पर्यो । आमा दौडँदै तल आउँछिन् । ऐना चकनाचुर भएको देख्छिन् ! रिसले आँखा देखिनन् र ज्ञानीको जगल्टा समातेर पछारिन् । दुई/तीन थप्पड कसिन् पनि । ज्ञानी कहाली–कहाली रुन लागी । त्यो रुवाइ ज्ञानीको बाह्य होइन, अन्तरबाट उठेको आर्तनाद थियो । आमा हिँडिन् र भन्दै गइन्, ‘बड, ऐना फोड्दिरहिछ । किन्नुप¥यो भने पो ! सत्यानाशी छोरीले त, जन्मनासाथ बाबु मारी, अरू के … ?’

आमाको मुखबाट पनि फेरि त्यस्तै वचन सुनी ज्ञानी एकछिनसम्म स्तब्ध भई । उसको रुवाइ एकछिन टक्क रोकियो तर क्षणभरमै अन्तरभित्र पीडाको ठूलो उद्वेलन भयो र अटेसमटेस गरेर फुटेर बाहिर निस्कन खोज्यो, ज्ञानी लडीबुडी खेलेर रुन लागी, चिच्च्याई ।

त्यसैबखत बज्यै तल हामफाल्दै ओर्लिन् र एकछिनसम्म टक्क रोकिएर करुणाभरि आँखाले ज्ञानीको छाँट हेरिरहिन् । अनि छिटोछिटो गएर उठाउन खोज्दै भन्न लागिन्, ‘हेर, कसले बाबालाई ? भो उठ् बा ! उठ् ।’

बज्यैले त्यो सहानुभूतिसूचक स्वर तथा कुरा सुनेर ज्ञानी झन् घोप्टो परेर रुन लागी । बल्यैले ज्ञानीलाई भनिन्, ‘भो बा ! भो उठ, नरो कसले तँलाई ?’

ज्ञानी उठ्न चाहन्नथी, मानौं लडीबुडी खेलेर आपूmमाथिको दोषारोपण आफ्नो अशुद्ध जन्मलाई मेटाउन चाहन्थी । बज्यैले हात समातेर उठाइन्, सारा आङभरि लागेको धूलो झारिदिइन् । फरियाले आँसु, नाकभरि आएको सिँगान पुछिदिइन् ।

त्यसबेलासम्म पनि ज्ञानीको रुवाइ बन्द भएको थिएन । सुँक्कसुँक्क गरिरहेकी थिई । आँखामा ढिकाढिका आँसु टल्कँदै जम्मा भएर झर्दै थिए । बज्यैले उलाई काखमा राखिन् र भनिन्, ‘ऐना फोड्नुहुन्छ त ? आजकल कति लिन्छ !’

ज्ञानीले बज्यैको वक्षमा मुख लुकाई । बज्यैले फेरि भनिन्, ‘अबदेखिन् त्यसो नगर् है बा ! …ए जा, तैंले त पुतली पनि फोडिदिइछस्, किन फोडेको ?’

ज्ञानी केही नबोलेर त्यसै तिनको वक्षमा मुख लुकाएर बसिरही । बज्यैले फेरि भनिन्, ‘भो, अबदेखि नगर्, रानी, ज्ञानी हगि, नरो !’

ज्ञानी जबरजस्तीसित भनी, ‘किन बाबु टोक्ने भन्नुपर्यो त ?’

‘भनेर के भयो त, भन्न दे न !’

ज्ञानीलाई चित्त बुझेन । एकातिर केहीबेरसम्म ताकिरही र भनी, ‘बज्यै !’

‘हँ बा, हँ !’

क्षणभरसम्म दुवै चुप भए ! ज्ञानीले फेरि भनी, ‘बज्यै ! धनले आमाको बाकसबाट पैसा चोर्छु रे ।’

‘चो¥यो भने त्यसलाई पख् न, गर्ने थाहा छ ।’

यति भनेर बज्यैले ज्ञानीलाई उठाएर म्वाई खाइन् र आफ्नो चाउरी परेको गाला ज्ञानीको हुप्प परेको गालामा जोडेर भनिन्, ‘तेरो नाम पनि ज्ञानी, तँ पनि ज्ञानी, तँलाई कसले बाबु टोक्ने भन्यो ? पख् न धनलाई !’

ज्ञानीले बज्यैको गालाबाट आफ्नो गाला हटाएर बज्यैका स्नेहपूर्ण दृष्टिमा दीन र विनीत दृष्टिले हेरी । त्यो आँखा मानो भनिरहेको थियो, ‘मलाई थाहा छैन, मलाई केही थाहा छैन ।’

बज्यैको दृष्टि मानो भनिरहेको थियो, ‘एक्लो छोरा काखैमा म¥यो, तिमीहरू ठूलो होलाऊ भनेर त म बाँचिरहेकी छु ।’

बज्यैले भनिन्, ‘पख्, म धनलाई बाँधिराख्छु, थुनिराख्छु बड, अर्काकी ज्ञानीलाई जे पायो उही भन्दोरहेछ । त्यसलाई भात पनि खान दिन्नँ । आमाले तँलाई कुटी, पख् आमालाई, पख् ।’

बज्यैले एकछिनपछि भन्न सुरु गरिन्, ‘बा भएको भए तँलाई राम्रो–राम्रो पुतली, राम्रो–राम्रो लुगा ल्याइदिनुहुन्थ्यो ।’

ज्ञानीले पुलुक्क रहस्यमय दृष्टिले बज्यैलाई हेरी । बज्यैले भनिन्, ‘पापा, खानेकुरा धेरै……।’

ज्ञानीले चिन्तित भएर सोच्दै भनी, ‘बज्यै ! मलाई पनि ?’

‘के त तँलाई त हो नि अरू कसलाई ? धनलाई ? उहुँ !’

एउटा रहस्य खुल्यो र अर्को रहस्य बाँधियो । केही बुझ्न चाहेझैं बज्यैलाई हेरिरही ।

धन मुखलाई गम्भीर बनाएर, फुत्कन लागेको हाँसो रोकेर बिस्तारै आयो ।

बज्यैले हातलाई लम्काएर हल्लाउँदै भनिन्, ‘पख्–पख्, फेरि भन्छस् ? तँलाई बाँधिराख्छु ।’

धन अब केही नबोली मुख बिगार्दै ज्ञानीलाई गिज्याउन लाग्यो । ज्ञानीले बज्यैको मुख हेरेर भनी, ‘हेर्नोस् ।’

बज्यैले दाह्रा किटेर भनिन्, ‘अझ !’

धनले कड्केर भन्यो, ‘के त के त ? किन त ज्ञानी पाएको साँझैमा बा जानुभयो ? ज्ञानीले नै बा टोकेको नै बा टोकेको, नत्र बा किन मर्नुभयो त ? बसैले …..।’

ज्ञानीले बज्यैको मुख विवश भएर याचना गरेझैं गरी हेरी ।

बज्यैले हात हाल्लाउँदै, ‘होइन–होइन ब्यारे… तँलाई कुट्नुपर्यो ? बा त कालले मरेको !’

धनले भन्यो, ‘अँ…. होला, मलाई थाहा छैन र ?’

बज्यैले ज्ञानीलाई भुइँमा राखिन् र उठेर हाँसेको हेराइले हेरेर भनिन्, ‘कुट्नुपर्यो, अझ ?’

धन खितखिताउँदै भाग्यो, ‘ज्ञानीले बा … !’

आज ज्ञानी चुप छ, उस्तो बोल्दा पनि बोल्दिनँ । हाँस्ता पनि हाँस्तिनँ । आँखामा विषाद छ, अनुहारमा गम्भीरता । ज्ञानीले फुटेको पुतलीलाई एकछिनसम्म हेरेर झ्यालबाट फालिदिई । कपडाका टुक्राहरूलाई काचीकुची पारेर त्यही स्यानो काठको बाकसमा कोचिदिई । बाहिरका साथीहरूको ‘एकँः ढाला छकु’ (ढुंगा फालेर खेल्ने खेल)मा पनि अनाशक्तभावले, औंला दाँतले टोकेर, नाक कोट्याएर हेरिरही । मानौं उसलाई योभन्दा धेरै माथिको विशेष चिन्तना छ ।

साँझ पर्यो । अनि अँध्यारो भयो । भात पाक्यो । आज त अघिदेखि नै ज्ञानी माथि भान्छामा गएर आमालाई मद्दत दिनमा संलग्न भई । पहिलेजस्तो कहाँ हो र, अब साँच्चिकै ज्ञानी । आमा र बज्यै अचम्म भएर ज्ञानीको मुख ताक्थे । अनि किन हो कुन्नि करुण मुस्कान छोड्थे । ज्ञानी कहिले सकीनसकी कुचो लगाउँथी, कहिले लोटामा पानी भर्थी ।

भात खानेबेला भयो । केही नबोली, केही झगडा नगरी भात खाई । धनलाई तरकारी बढ्ता उसलाई कम, तैपनि ऊ चुप लागी । धनलाई आफ्नो मन परेको पिरुका, गिलासमा उसले केही हस्तक्षेप गरिनँ ।

आमा र बज्यैले एकै स्वरले भने, ‘आज त ज्ञानी साँच्चिकै ज्ञानी भइछ ।’

ज्ञानीको अन्तरमा के भएर हो, व्यथाको छाल रोकिनुभन्दा उम्लन खोज्थ्यो । झटपट रुवाइ बन्द गरेर भनी, ‘आमा ! आमाले पानी लिनुभयो ?’

अनि आफैं लाज मानेर रुन–रुन लागी ।

कामधन्धा सिद्धियो । अब सुत्ने बेला पनि भयो । सारा टोल, सारा घरमा शान्ति छायो । बाहिर कहिलेकाहीं कुकुर एक स्वरसित भुक्थे । बिरालो छानामा ‘ङार्रङार्र’ गथ्र्याे । पल्लो कोठामा बज्यै सुतेको ‘घुर्रघुर्र’ आवाज आइरहेको थियो । धन पहिलेदेखि नै सुतिसकेको छ । अहिले ज्ञानीले पेटमा हात राखेको छ । ज्ञानीको आँखामा निद्रा थिएन, छटपटी भइरहेको थियो । त्यही आँखा झिम्म गर्दै खोल्दै ज्ञानी केही कुरा हेर्न चाहन्छे । मानो कुनै समस्याको समाधान गर्न चाहन्छे । कहिले टोलाएर हेर्छे । त्यो हातबाट चिप्लिरहेछ, भागिरहेछ ! बाको तस्बिरमा भएको स्नेहभरि अनुहार अस्पष्ट कहिले सुस्पष्ट अनुहार कल्पनाबाट मानौं ऊ हृदयङ्गम गर्न चाहन्छे ।

आमा कुहिनाले तकियामा टेकेर हत्केलामा गाला अड्याएर ओछ्यानमा कोल्टो परेर बसेकी छन् । उनी टोलाएर विषादपूर्ण आँखाले ताकिरहिछन् । अनुहारमा व्यथा परिपुष्टित भइरहेछ । उनी कुनै सजीव स्मृतिमा, कल्पनामा डुबेकी छन् । ‘अब कहाँ पाउनु ? गए ! खसे–खसे !’ उनी पनि सँगसँगै जान चाहन्छिन्– टाँसिदै–टाँसिदै–टाँसिदै । धेरै टाढा, कहाँ–कहाँ सँगैसँगै । जहाँ भए पनि अहिले कसैले छोड्दैनन् । कसैले, धन र ज्ञानीका सानासाना हात, निर्बोध आत्माले साह्रै छुटाउन नसिकनेगरी तानिराखेका छन् । ती कसै गरे पनि फुत्कन सक्तैनन् । आमाले भनिन्, ‘ज्ञानी ! निद्रा आएन ? सुत् न, अबेर भयो ।’

ज्ञानीले आँखा चिम्लेर निदाएको बहाना गरी ‘उँ–उँ ।’ अझ पनि ज्ञानीलाई निद्रा आएन । अहँ, आएन । आमाले भनिन्, ‘सुत् निदा न ।’

केहीबेर सारा वातावरण निस्तब्ध भयो । अनि ज्ञानीले बोलाई, ‘आमा !’

आमा चुप ।

ज्ञानीले फेरि भनी, ‘आमा ! म जन्मेर बा मर्नुभएको हो ?’

आमाले ज्ञानीको मुख एकटकसित हेरी भनिन्, ‘होइन, कसले भन्यो ।’

‘किन त म जन्मेको राति बा मर्नुभयो ?’

हृदयभित्रको व्यथाको गम्भीर समुद्र उर्लन लाग्यो । आँखाको आँसुलाई बल्लतल्ल रोकेर आमाले भनिन्, ‘कसले भन्यो ? बाको दिन पुग्यो, अनि जानुभयो ।’

ज्ञानीलाई पनि शान्ति भएन । निद्रा आउनै चाहँदैनथ्यो । केहीबेरपछि शान्त स्वरमा त्यागीले भनेझैं भनी, ‘आमा, म मरें भने बा फेरि आउनुहुन्छ ?’

आमाले चकित भएर उसको अनुहारलाई एकटकसित हेरिन्– कुनै विकार छैन । अघिजस्तै गम्भीर । ज्ञानीको अनुहार भन्न खोजिरहेको थियो, ‘म यहाँ बा उहाँ किन ?’

ज्ञानीको मसिनो स्वर सन्नाटालाई चिर्दै उठ्यिो, ‘आमा !’

प्रतिक्रिया दिनुहोस्