सानो छँदा दसैं कहिले आउला र नयाँ नाना अनि पेटभरि चिची खाउँलाझैं लाग्थ्यो । दसैंको नाना र चिचीको महत्व बेग्लै हुन्थ्यो । दसैंमा नयाँ नाना लगाएर तल्लो र माथिल्लो चोक हिँड्नुको शान बेग्लै हुन्थ्यो ।
बाआमाले दसैं आउन एक/दुई हप्ताअघि कपडा किनिदिन्थे । तर, दसैंअघि कपडा नाप्नबाहेक लगाउन पाइँदैनथ्यो । दसैंको दिनसम्म पर्खन कम्ती गाह्रो लाग्दैनथ्यो । म तीन/चार कक्षामा पढ्थे हुँला । दसैंको दिन नयाँ लुगा देखाउन बिहानै तल्लोचोक जाँदै थिएँ । सय मिटरको अन्तरपछि नौ/दस घर नेवार बस्ती थियो । चार घर पर्तिर लक्ष्मी तता (दिदी) र गुरुङसेनी आन्टी पेटीमा बसेर गफ गर्दै थिए । गुरुङसेनी आन्टीले एक वर्षकी छोरी काखमा राखेर सुताइरहेकी थिइन् । उनीहरूलाई देखेपछि अलिक छेउ लागेर हिँडाइको गति कम गरें । तताले मलाई देख्नेबित्तिकै ठूलो स्वरमा ‘ऊ नयाँ लुगा देखाउन आयो है’ भनेर सबैले सुन्नेगरी कराइन् । मनकै कुरा भनेपछि कम्ती लाज लागेन । लाजले घोसेमुन्टो लगाएर उँधैउँधो हान्निएँ ।
दसैंमा सपरिवार मावली जान्थ्यौं । बाजेको हातबाट टीका थापेपछि भने फुक्का हुन्थ्यौं । जहाँ पैसा धेर आउँछ, त्यो घर सकभर छुट्दैनथ्यो । अलिकति पैसाचाहिँ डाइस खेलेर हार्थें । अनि साथीहरूसँग भेला भएर धर्ती छाड्न लिंगेपिङ खेल्न जान्थें ।
तिहारमा भने अधिकांश समय नाचगानमा बित्यो । राति अबेरसम्म गाउँगाउँमा नाच डुलाएर फर्कन्थें । भाइटीकाको दिनमात्र टीका लगाउन एकछिन घर पुग्थें । नाच्दा म ‘साइड डान्सर’ हुन्थें । अगाडिकाले जसोजसो गर्थे म उसैगरी ताल मिलाउँथें । उचाइ सानो हुने अगाडि रहन्थे भने हार मिलाएर ठूलोचाहिँ पछाडि बस्थे । दाइदिदीहरू फिल्मका हिरो–हिरोइनजस्तै बीचमा नाच्थे । फिल्म र टीभीमा गीत हेरेकै भरमा उसैगरी नाच्न खोज्थे । नाचगानमा उठेको पैसाले वनभात खाइन्थ्यो । तिहारमा गरेको दुःख वनभात खाएपछि भुलिन्थ्यो ।
दसैं–तिहारमा मासु खाँदा–खाँदा वाक्क लाग्थ्यो । तिहार सकिइसकेपछि बाँकी रहेको रहलपहल मासु अगेनामाथि झुन्डिएको हुन्थ्यो । अलि–अलि गन्हाउने भए पनि तरकारीसँग मिसाएर खाँदासाह्रै स्वादिलो लाग्थ्यो । सानोमा खेल्नु, खानु र लगाउनुको मात्र सुर हुन्थ्यो ।
बाल्यकालका ती दिनहरू हिजोजस्तै लाग्छ । तर, समयले डाँडो काटेछ । ज्यान छिप्पिएको छ । न लुगाको सोख रह्यो न फिट नै हुन्छ । अब त धेरै खानु पनि हुँदैन । तर, दसैं आयो भन्दा ज्यानभित्रैबाट गद्गद् हुन्छु । अहो हिन्दु धर्मावलम्बीको महान् चाड दसैं घर–आँगनमै आइसकेछ । यतिबेला हङकङबाटै गाउँले साथीभाइ, डाइस र तास खुबै सम्झेको छु ।