मेयर हर्क साम्पाङकी आमासँग १५ मिनेट


मेयर हर्क साम्पाङकी आमा जसमाया राई । तस्बिर : दीपेन्द्र राई

खार्तम्छा (खोटाङ) ।  तापखोला अविरल बगिरहेको छ । खोला कहिले धमिलो बग्छ । कहिले सङ्लो । यो प्राकृतिक नियम हो । बग्नु उसको धर्म । हतेवा–चोखाने जोड्ने पुल गत वर्षको बाढीले बगायो । बाढीले बगाएको पुल पुनःनिर्माण गरिएको छैन । बाढीले बगाएको पुलदेखि १० मिटरमाथिबाट तापखोला तरेपछि पाँच मिनेट उकालिँदा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङकी आमा जसमाया राईको घर पुगिन्छ ।

राई घरमै भेटिइन् । उनी मकै खोसेलिरहेकी थिइन् । ८० वर्षको उमेरमा पनि उत्तिकै सक्रिय । त्यत्तिकै जाँगरिलो । उनले बाँचेको सक्रिय जीवन देख्दा सहयात्री सयन्द्र राई तीनछक परे । ८० पुगेर बसिखाने उमेरमा पनि उनको सक्रियता रहरलाग्दो देखिन्थ्यो । अनि लोभलाग्दो पनि ।

जसमायाका तीन भाइ छोरा । जेठो अवकाशप्राप्त लाहुरे । जो बेलायतमै बस्छन् । माइला अस्ट्रेलियातिरै रमाइरहेका छन् । कान्छा धरान उपमहानगरपालिकाका मेयर । उनी पहाड घरमा एक्लै । उनलाई जहाँ बसे पनि सुविधा छ । जेठा छोराको घर भैंसेपाटी ललितपुरमा छ । जेठाको घरमा मुस्किलले डेढ वर्ष बस्दा सासै थुनिएको उनले बताइन् । धरानमै बसौं भनेर कान्छा छोरा र बुहारीले भन्न छाडेका छैनन् । अस्ट्रेलिया जाँदा पनि भयो ।

मेयर हर्क साम्पाङकी आमा जसमाया राईसँग दीपेन्द्र राई । तस्बिर : सयन्द्र राई

आफ्नो सालनाल गाडिएको ठाउँ असाध्यै प्यारो लाग्नु अस्वाभाविक होइन । घरमुनि बग्ने तापखोलाको सुसाइ उत्तिकै श्रवणीय लाग्छ । ‘मलाई त गाँवै प्यारो लाग्छ नानी । यहाँको हावापानी मीठो,’ उनको भनाइ छ, ‘समाज त्यत्तिकै प्यारो । ढुंगामाटो उस्तै । बाँसघारी र उत्तिसघारी डुल्दा सबै–सबै बिर्सन्छु । कस्तो आनन्द । कत्ति रमाइलो ।’

नयाँ घर बनेको वर्ष दिन पनि भएको छैन । जेठा छोराले बनाइदिएको चिटिक्कको घर उज्यालो देखिन्छ । घरभन्दा उनी उज्याली । यो उमेरमा केही न केही गरिरहनु उनको पहिचान । खाना आफैं पकाउँछिन् । आफूले पकाएको खाना आफैंलाई असाध्यै मीठो लाग्छ रे ।

पञ्च तत्वले बनेको जीवन सधैं एकैनाशको हुँदैन । साह्रोगाह्रो परेमा छिमेकीले हेरचाह गर्छन् । ‘घरनजिकै सान्जेठी अर्थात् लगनमाया राईको घर छ,’ उनले थपिन्, ‘अप्ठ्यारो पर्दा उसैलाई सहयोग माग्छु । माइतीगाउँ पुग्न आधा घन्टा लाग्छ । नत्र माइतीलाई पनि बोलाउँछु । माइतीगाउँ नजिकै हुनुको फाइदा यत्ति न हो ।’

हर्क साम्पाङ धरानको मेयर हुँदा उनलाई कम्ती खुसी लागेन रे । छोरा मेयर भएपछि एकपटक पहाड घर (केपिलासगढी गाउँपालिका–२, चोखाने, खार्तम्छा) आएको उनले सुनाइन् । छोरा घर आउँदा ‘धरानमन सँगै बसौं हौ’ भनेका थिए रे । उनले मानिनन् ।

लाहुरे श्रीमान् जीवित रहँदा १२/१३ वर्ष धरान बसेकी थिइन् । श्रीमान्को निधनपछि पनि गाउँमा एक्लै रमाउनु उनको विशेषता हो । पेन्सन थाप्न कहिले दिक्तेल (खोटाङ) पुग्छिन् त कहिले धरान झर्छिन् । ब्रह्मले जे भन्छ, त्यसै गर्छिन् । एक्लै–एक्लै रमाउनु पनि त कला रहेछ ।

एक्लै रमाइरहेकी आमासँग बेलाबखत सम्पर्कमा रहन छोराछोरी र बुहारीलाई मन लाग्ने नै भयो । मोबाइल प्रयोग गरे पनि साथमा बोक्दिनन् । मोबाइल साथमै नबोक्दा कहिलेकाहीं छोराछोरी र बुहारी मायालुभावमा रिसाउँछन् । ‘कल रिसिभ’ गर्न आए पनि ‘डायल’ गर्न जान्दिनन् । कल गर्न परे जान्नेको सहयोग लिन्छिन् ।

सचेत नागरिकका हैसियतले मतदान गर्न छाडेकी छैनन् । मनले खाएको उम्मेदवारलाई मतदान गर्नु चानचुने काम होइन !

प्रतिक्रिया दिनुहोस्