मामतिम (खार्तम्छा) । नेपाली कांग्रेसले राणाका फौजसँग लड्न सशक्त रूपमा लड्न आह्वान गर्यो । उसको आह्वानलाई आधार मानेर पूर्वमा किराती जनमुक्ति सेनाले स्वतन्त्र र सिर्जनशील तरिकाले काम थाल्यो । नारदमणि थुलुङको अगुवाइ, नेतृत्व र पहलमा गठित किराती जनमुक्ति सेनाका कमान्डर रामप्रसाद राई थिए । किराती जनमुक्ति सेनाले राणाका फौजसँग डटेर लड्न प्रत्येक घरबाट एकजना हिँड्नू भनेर पूर्वेलीलाई आह्वान गर्यो ।
पूर्वेलीमाझ गरिएको आह्वान सबैलाई मान्य भएन । राणाका फौजसँग लड्न प्रत्येक घरबाट हिँड्नुको साटो भागी–भागी हिँड्नेहरू पनि थिए । त्यसमध्येका थिए– भर्जमणि राई, पूर्णप्रसाद राई (मामतिम, खार्तम्छा) र अगमसेर राई (भदौरे) । किराती जनमुक्ति सेनाले गरेको आह्वानलाई तीनै जना राईले अस्वीर गरे । राणाका फौजसँग लड्नुको साटो गुफामा लुकेर आह्वानको अवज्ञा गरे ।
‘दिनभरि गुफा (केपिलासगढी गाउँपालिका–२, मामतिम खार्तम्छामा रहेको) लुक्यौं,’ नाताले काका पर्ने भर्जमणि राईले त्यतिबेला सुनाएको प्रसंग कोट्याउँदै मामतिका आसमणि राईले सुनाए, ‘रात परेपछि मात्रै खाना खान घर जान्थे रे ।’
त्यतिबेला पनि मामतिममा भारतीय भूपू सैनिक निकै थिए । उनीहरूलाई समेत राणा फौजसँग लड्न कडा उर्दी गरिएको थियो रे । लड्न जाने त गइहाले, नजानेहरू त्यही गुफामा लुकेको बताइन्छ ।
एकापट्टि पसेर अर्कोपट्टि निस्कन मिल्ने गुफाको बनावट रहेको छ । माओवादीले गरेको दसवर्षे सशस्त्र जनयुद्धमा उनीहरूका नेता तथा कार्यकर्ताले यही गुफामा ‘सेल्टर’ लिएका थिए ।
राणाका फौजसँग लड्न नजानेमध्येका भर्जमणि राई, पूर्णप्रसाद राई र अगमसेर राईहरू लुकेको र माओवादीले आश्रय लिएको गुफाबारे मामतिमवासी अनभिज्ञ थिए । ‘स्थानीयलाई गुफाबारे त्यति थाहा थिएन,’ केपिलासगढी गाउँपालिका–२, खार्तम्छाका वडाध्यक्ष मिलन राईले सुनाए, ‘माओवादीसम्बद्धले भनेपछि हेर्न गएको थिएँ । उनीहरूले गर्दा त्यहाँ गुफा रहेछ भनेर थाहा पाएँ । त्यसअघि त्यहाँ गुफा छ भनेर थाहा थिएन ।’
गुफा प्राकृतिक भए पनि राजनीतिसँग जोडिएको छ । केपिलासगढी गाउँपालिका–२, खार्तम्छाका वडाध्यक्ष राईले प्रतिबद्धता जनाए, ‘यसको नामकरण गरेर संरक्षण तथा प्रवद्र्धन गरी पर्यटनसँग जोड्ने प्रयत्न गरिनेछ ।’
‘गुफालाई पर्यटकीय स्थल बनाउन जोड दिनुपर्छ,’ स्थानीय राजीव राईको भनाइ छ, ‘खार्तम्छामै रहेको ढाल तरवार गढीसम्म पुग्नेलाई यो गुफाको भ्रमण गराउने हो भने यसको महत्व बढ्दै जानेछ ।’
गुफासम्म सजिलै पुग्न बाटो बनाउन आवश्यक छ । जहाँ र जताबाट गए पनि सहज तरिकाले त्यहाँसम्म पुग्न बाटो पहिलो सर्त मानिन्छ । बाटो बनेपछि त्यहाँसम्म पुग्न सहज हुनेछ । आवतजावत बाक्लिएपछि गुफाको प्रचार प्रसार हुने नै भयो । सर्वप्रथम आन्तरिक पर्यटकलाई मात्रै लोभ्याउन सकियो भने पनि लाख हुनेछ ।