सधैंझैं बिहान ९ बजे गोष्ठी सुरु भयो । रेनमिन विश्वविद्यालयका ZHAO yunza आजका चिनियाँ वक्ता थिए । उनी Deputy Dean हुन् । औपचारिक कार्यक्रममा चिनियाँहरू अंग्रेजी बोल्दैनन् । लाग्थ्यो– उनीहरू अंग्रेजी नै जान्दैनन् । तर, उनले अलिअलि अंग्रेजी मिसाएर बोलेका थिए । माओ र तुङ् स्याओ पिङकालीन चीनका विषयमा पनि थोरै खुलेर बोले । भन्दै थिए, ‘चीनमा जब पिङको उदय भयो, उनले कसरी धेरै पैसा कमाउने, खाना र नाना कसरी जोड्ने ? भन्ने विषयमा केन्द्रित हुन थाले । त्यसैअनुसारको विदेश नीति बनाइयो । चिनियाँ सञ्चार जगत्ले त्यसलाई पछ्यायो ।’ उनी राजकीय सोचबाट स्वतन्त्र भएर आफ्ना धारणा राख्दै थिए ।
फुर्सद भयो कि अक्सर छलफलको विषय नेपाली राजनीति नै हुन्थ्यो । धेरैजसो राजनीतिप्रति घृणाभाव राख्थे । एकजना पत्रकारले नेपाली समाजको चित्रण गर्दै ‘अमरेशकुमार सिंहलाई तँलाई भारतीय दलाल भन्छन् । यो कालो धब्बा मेट्न भन्दा, दिउँसो दलाल भन्छन्, साँझ परेपछि घ्यूको दियो बोकेर चाकरी गर्न आउँछन् । भन्न दे न,’ भनेको सम्झना गरें । हाम्रो टोलीमा त्यस्ता मानिस कति थिए । थाहा भएन भारतीय दूतावासको दबाबमा केही मानिसले चीनको कुन्मिङ भ्रमण रद्द गरेको चर्चा भने चलिरहेको थियो । नेपाली पत्रकारिताले व्यावसायिकता ग्रहण गरिसकेको छैन । कुनै समय राजनीतिमा लागेर पलायन भई पत्रकारिता क्षेत्रमा प्रवेश गरेकाको अझै पकड छ । त्यसो हुँदा आफू पलायन भएको क्षेत्रप्रति असहिष्णु हुनु स्वाभाविकै होला । जहाँ परित्यक्त जोडेकोजस्तो मनोविज्ञान देख्छु म ।
राजनीतिले समाजका आर्थिक, सांस्कृतिक, सामरिक स्वार्थको निर्देशन, नियन्त्रण र परिचालन गर्छ । त्यसैले समाजमा राजनीतिको सर्वोपरि भूमिका रहन्छ । नेपाली समाजको दुरावस्थाका पछाडि राजनीति र त्यसका चालक नै मुख्य दोषी छन् । नेपाली राजनीतिमा हाबी रहेको पराधीन र विकृतिका निश्चित भौतिक या वस्तुगत र ऐतिहासिक आधार छन् । भू–परिवेष्ठित भौगोलिक अवस्था, पछौटे उत्पादन सम्बन्ध र सुगौली सन्धिदेखि लगातार हाबी रहेको राष्ट्रघाती दलाल प्रवृत्तिको राजकीय निकाय अथवा सत्ता त्यसका आधार हुन् । त्यसलाई बलपूर्वक धक्का नदिएसम्म राजनीति गोरेटोमा हिँड्न सक्ने छैन । बुद्धिजीवी त्यसरी सोच्दैनन् । राजनीति समाजको चालक शक्ति हो । जब कि दलहरू भनेका राजनीति क्रियान्वयनका औजारमात्र हुन् । राजनीति र दलको अन्तर नबुझ्ने र दुवैलाई एकै अर्थमा बुझ्ने समस्या बौद्धिक क्षेत्रमै जबरजस्त कायम छ । सायद त्यसैले होला कार्ल माक्र्सले ‘ज्ञानको खडेरीले मानव जातिलाई कुन अँध्यारो खाडलमा हाल्ने हो थाहा छैन,’ भनेका होलान् । सबैलाई गाली गर्नु, सराप्नु, उपदेश दिनु र आफूचाहिँ जुठेल्नाको गोब्रेकीराझैं भुइँ खोस्रनुमै महानता ठानिन्छ । चिन्तक रजनिशले कतै भनेका छन्, ‘आफू जीवनभरि विद्यालयमा अनुत्तीर्ण भएको पीडा र कुण्ठाको भारी बोकेको अभिभावकले आफ्ना छोराछोरीले राम्रो नतिजा ल्याएर आफ्नो असफलताको भारी बिसाएको महसुस गर्न चाहन्छ ।’ हो, राजनीतिबाट पलायन भएर जीवनको उत्तराद्र्धमा अन्यत्र प्रवेश गरेकामा त्यसप्रकारको मनोविज्ञान देखिन्छ ।
मध्याह्न १२ बजेपछि खाना खान गयौं । त्यसबेला नेपालमा २ः१५ बजेको हुँदो हो । पूर्वनिर्धारित समयअनुसार १३ः३० मा सिन्ह्वा न्युज एजेन्सीमा अवलोकन भ्रमण थियो । त्यहाँ पुग्नासाथ संस्थाका कर्मचारीले हार्दिकतापूर्वक स्वागत गरे । अवलोकनपछि सभाकक्षमा जम्मा भइयो । संस्थाका अध्यक्ष रसिक कवि पनि रहेछन् । संस्थामा आफ्नै दोभाषे पनि रहिछन् । सुरुमा एउटा श्रव्य–दृश्य देखाए । अध्यक्षले आफ्नो चिनियाँ भाषाको सिर्जनासहित संस्थाको जानकारीमूलक उपहार दिए । सो सञ्चारगृहका देशभरि १० हजार कर्मचारीमध्ये आधा संख्या महिलाको रहेछ । त्यो जानकारी पाउँदासाथ हाम्रो टोलीका महिलाले ताली बजाएर खुसी व्यक्त गरेका थिए । सडक, होटल, सञ्चारगृह सबैतिर महिला सहभागिता सन्तोषजनक देखिन्थ्यो । हौसिनेक्रममा एक महिलाले अमर्यादित कुरा गरिन् । त्यसले सबैलाई झस्काएको थियो । फर्किनेक्रममा मूलद्वारबाट निस्कँदै गर्दा किशोर श्रेष्ठले ‘हामी पनि अनुशासित हुनुपर्ने देखियो है’ भन्दै थिए । निर्धारित समय घर्किसकेको कारण ‘चाइना नेटवर्क च्यानल’ को अध्ययन भ्रमण रद्द गर्नुप¥यो ।
आजको एउटा कार्यक्रम रद्द भएका कारण हामीसँग एक घन्टा थप समय थियो । मलतिर घुम्न गयौं । सांघाईमा सामान किन्दा राम्रो हुने किशोर श्रेष्ठको सुझाव थियो । हामी वाहनबाट ओर्लेका मात्र थियौं, हातको रित्तो पानीको बोतल माग्दै ठूलो थैलो लिएर सफाइ मजदुर अगाडि उभिए । फर्किनेक्रममा पनि त्यस्तै भएको थियो । सफाइका लागि बेइजिङ संवेदनशील रहेछ भन्ने लाग्यो । मलका प्रचार झलक हेर्दा भारतीय ग्राहकलाई निशाना बनाएझैं लाग्थ्यो । साडी नलगाउने चिनियाँ बजारमा रेशमी साडीको ठूलो व्यापार देखिन्थ्यो । किशोर श्रेष्ठ, गोविन्द भट्टराई र म सोध्दै–खोज्दै पैदलै होटल फक्र्याैं । बाटो सोधेका कुनै पनि चिनियाँ बटुवाले झर्को–फर्को नगरी विन्रमतापूर्वक सहयोग गरे । भारतमा विशेषतः उत्तरी भारतमा भएको भए । लुट्नका लागि पिछा गर्थे होलान भन्ने लागिरहेको थियो ।
खानासँगै दारुपानी चलिरहेको थियो । दारुपानी बढ्दै गएपछि कखरा फुटाउन नजान्ने नेपालीले पनि अंग्रेजी बोल्ने समाजका सदस्य हौं हामी । बिस्तारै घोचपेच हुन थाल्यो । ठाकठुक चल्न थालेपछि गोविन्द, तीर्थ र म बाहिरियौं । किशोर श्रेष्ठ र माधव पौडेल एउटा अनौपचारिक छलफलका लागि गएकाले ‘लन्च’ मा सहभागी थिएनन् । कसैलाई मियो नठान्ने स्वच्छन्दतावादी टोली यतिबेला झन् अराजक बन्दै थियो । उदयपुरमा पत्रकार महिलाले मात्रै सञ्चालन गरेको लोकप्रिय रेडियोकी सुजाता ढुंगाना अलि बढी तनावमा परेझैं लाग्यो । उनी उठेर कोठातिर लागिन् । सबैले एकसाथ खान सुरु गर्नु र एकसाथ उठ्नु सामान्य शिष्टाचार मानिन्छ । तर, आज ती सारा मर्यादा भत्किएका थिए । भनिन्छ– ‘रिस उठेको बेला, कसैले पनि वेद पढ्दैनन्’ । एकथरी समाजशास्त्रीको भनाइअनुसार आर्यको गणचिह्न सुँगुर थियो । गाईको मासु र मदिरा उसबेला हाम्रा प्रिय भोजन थिए । देवताका पनि देवता महादेव गाँजामा लठ्ठिन्थे । शिवरात्रिमा अहिले पनि हिन्दु समाज त्यसको अनुशरण गर्दै छ । एउटै आर्य जाति कालान्तरमा मुस्लिम, क्रिश्चियन र हिन्दुमा विभाजित भए । त्यसपछि संस्कृति पनि बदलियो । हिन्दु, मुस्लिम र क्रिश्चियनका बडाबाजे–बजै एउटै थिए । मदिरा पिउनुलाई हाम्रा हिन्दु अग्रजले अस्वीकार गरेका छैनन् । त्यो व्यक्तिगत मामिला हो । अर्काको नितान्त व्यक्तिगत मामिलामा खटप्वालबाट चिहाएर हेर्नु राम्रो कुरा हो जस्तो लाग्दैन । तर सडक कब्जा गर्ने, दारु धोकेर फोन गर्ने, गतिछाडाप्रति समाजवादको दृष्टि हुन सक्दैन । त्यसबेला पनि दारु पिएर सहकर्मीलाई फोन गरी दुःख दिने थुप्रै मानिसको आकृति आँखामा नाचिरहेको थियो ।
हामी खाना खाएर ‘वेस्ट डिस्ट्रिट रेष्टुरेन्ट’ को फूलबारीमा गफिइरहेका थियौं । तीर्थ कोइरालाले रौसिँदै भने, ‘होइन यार, सीपी भन्ने जति सबै ढिपी हुँदारहेछन् । मैनालीउस्तै गजुरेल पनि त्यस्तै, किरण बिचरा सोझो, बादल भनेको असनको साँढे न जोत्न मिल्ने न त मासु खानै मिल्ने ।’ त्यसपछि अझ रौसिँदै थपे, ‘कांग्रेसलाई गिरिजाले समाप्त ग¥यो । राष्ट्रपतिको ललिपपमा कांग्रेस समाप्त भयो । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र कांग्रेसको आधार थियो । भारत र अमेरिकाको बैसाखी टेकेर कांग्रेस कति दिन टिक्ला र ! केपी ओली भनेको बाहिर दिल्ली दरबार, भित्र महेश–चरीसम्मको यात्रा न हो ।’ राजा र माओवादी दुवैलाई खण्ड–खण्डमा निषेध गरेर दिल्लीले नेपाललाई भयानक घेराबन्दीमा पारेको कोइरालाको निष्कर्ष थियो । उनको ठट्टैठट्टापछिको निष्कर्ष भने संवेदनशील लाग्यो ।
साँझ छिप्पिँदै थियो । अलिपर चोकमा बेइजिङको रात्रिजीवन सुरु भइरहेको थियो । पुराना कपडा, जुत्ता, पुस्तक आधा मूल्यमा खरिद बिक्री भइरहेका थिए । प्रेमिल जोडी यत्रतत्र आफूहरूबाहेक संसारमा कोही नभएझैं मस्तराम देखिन्थे । बूढाबूढी नाचिरहेका थिए ‘साँझ परेपछि यहाँ यस्तै हो’ कसैले भनेका थिए । हामी तीर्थको कोठामा गएर केहीबेर गफियौं । अबेर कोठामा पुगेर चिनियाँ मित्रहरूले दिएका पुस्तक हेरें । केहीबेर लेखपढ गरें । आजको दिन त्यति उपलब्धिपूर्ण लागेन ।
१२ जुन २०१४
रेनमिन विश्वविद्यालय, बेइजिङ