थुक्क मन्त्रालय


शीतको पाइताला नपखालिँदै
पुगेको थिएँ बालुवाटार
जहाँ धुम्म थियो सिंहासन

उसले भन्यो–
तिमीलाई कसले बोलायो र
आयौ यो आँगनभित्र

हुन त म कुनै दूतावासको दूत थिइनँ
म कुनै बातसित मिसिएको
काण्डवाला थिइनँ
न त भविष्यमा कतै यो विप्लव भुमरीमा
राज्यसत्ता उडाउन सक्ने योजनाकार नै थिएँ

सामान्य भाषामा भन्दा
म पैदल हिँड्ने बटुवा
देशको एक सर्वहारा श्रमिक
वा भनौं विश्वव्यापी विभेदविरुद्ध
जाग्न खोजेको आममानिस

यत्तिकै म सिंहदरबार पुग्छु
न म त्यहाँ पुगेर
केही बिग्रनेवाला छ
न सप्रिएर सगरमाथा नै होचिन्छ

तर मलाई थाहा थिएन
त्यहाँ छिर्न प्रवेश भन्नुपर्ने रहेछ
प्रवेश चैं ती स्वकीयहरूबाट
लिनुपर्ने रहेछ

अनि भित्र स्वकीयहरू
कताबाट कमिसन फल्छ
कति आउँछ ?
देशभरको विकास
योजनाका फायल
कुन–कुन अड्डामा छ
कति–कति अंकुश लगाउनुपर्छ
डामासायीको हिसाब विवरण
थुक्क मन्त्रालय
थुक्क सिंहासन

अनि उसले किन मलाई कडाइ गर्दैन
सिंहदरबार गेटभित्र पस्न
अनि मेरो आगमन पासको व्यवस्थामा
उसको भरोसा देख्छ
र, चौकीदार कन्डो कन्याउन भ्याउँदैन
यो कुन ब्यापारी
सुन कि नुन ब्यापारी
यावत् व्यवसायीहरूको चेकजाँचमा व्यस्त
जसले मलाई पनि चिन्दैन

म सधैं बिनापास
बिनारोकतोक
बालुवाटारको बालुवाजस्तै मुटु बोकेर
डिल गरिरहन्छु बाहिर भित्र राफसाफ
र, खर्बौं फाइदामा
बालुवाटारको आना दाम माटो बेच्ने
असल स्वकीय
जसले काठमाडौं टेकेको केही वर्षमा
अनेक धन्दाको मालिक
बंगालाको मालिक

ठुल्ठूला कमिसन कम्पनीको सञ्चालक
जसलाई सहज छ
सिंहदरबारभित्र जान
र, बाहिरी निस्कन ।

प्रतिक्रिया दिनुहोस्