पहिलोपटक सानोमा बुवाआमासँग दिक्तेलको बुढेश्वर महादेव गुफामा पस्दा कम डर लागेको होइन । अलिक पछि बिजुवाथानको महादेव गुफा, गुप्तेश्वर महादेव गुफा हुँदै हलेसीको महादेव र बसाहथान गुफामा पस्दा अनौठो र कताकति डर पनि लाग्थ्यो । स्कुलका पाठ्यपुस्तकमा पोखराको महेन्द्रगुफाबारे पढ्दा अचम्म लाग्थ्यो । संवत् २०४७ मा पहिलोपटक काठमाडौं जाँदा रत्नपार्क र भोटाहिटी जोड्ने सुरुङमा हिँड्दा अनौठो लागेको थियो । ०५४–५५ तिर होला खाल्लेको गुफाभित्र महादेव प्रकट भएको हल्लाखल्लासँगै त्यो गुफाभित्र पस्दै गर्दा मानिस भन्थे, ‘साक्षात् महादेव नभए जमिनमुनि यत्रो फराकिलो ठाउँ कसरी बन्थ्यो ?’ चिलिमे जलविद्युत्को पावरहाउसभित्र पस्दा अनि कलंकी रिङरोडमा जमिनमुनि गाडीबाट पहिलोपटक पारगर्दा ‘आहा ! नेपालमा पनि यस्तो बन्न थाल्यो है !’ भन्ने अनुभूति भएको धेरै भएको छैन । विदेश जानेहरूले भनेको सुन्दा अनि युटुबमा हेर्दा जमिनमुनि अनि जमिनमाथि पनि रेल र बस गुड्ने रहेछन् भन्ने थाहा पाइएको थियो । चीनमा आएपछि ती कुरासँग साक्षात्कार हुन पाइयो ।
चीनको यातायात व्यवस्था संसारमै अनुकरणीय छ भन्ने पढेको सुनेको हुनाले चीनमा प्रवेश गर्नसाथ पहिलो ध्यान त्यसैमा गयो । राति ९ बजे अँध्यारो भइसकेको हुनाले एयरपोर्टको राम्रो अवलोकन गर्न पाइएन तर अध्यागमन कार्यालयबाट जमिनमा निस्कनचाहिँ तीन तलामाथि उक्लिनुपर्दा एयरपोर्ट नै जमिनभित्र रहेछ कि भन्ने लाग्ने । एयरपोर्टबाट आफू जाने विश्वविद्यालयसम्मको करिब एकघन्टे बस यात्रामा पटक–पटक सुरुङमार्ग देख्दा मेलम्ची खानेपानीको सुरुङ खन्न लागेको समयको सिसिपसको कथाले नराम्ररी झड्का दियो । अनि त्यसको पर्सिपल्ट विद्यार्थीले जमिनमुनिको दोस्रो तलामा लगेर मेट्रोरेल चढाउँदा जीवनमा अर्को अनौठो कुरो देखेजस्तो अनुभव भयो । हुन त भारतीय रेलमा चढ्दा पनि ठाउँठाउँमा सुरङभित्र पसिएको हो तर सहरको बीचमा जमिनमुनि चार/पाँचतलाको रेल्वे स्टेसन अनि त्यसभित्रको भीडभाड भने जीवनमा पहिलोपटक देखियो र गज्जब अनुभूति भयो, सायद कुवाको भ्यागुतोले एउटा ठूलो नदी देखेजस्तै ।
नेपालभन्दा तेब्बर ठूलो युनान प्रान्तको राजधानी कुन्मिङ सहर । ६२ लाखभन्दा बढी जनसंख्या भएको सहर, जहाँ देश–विदेशबाट पढ्न आउने र घुम्न आउनेको पनि उत्तिकै हुन्छन् । तर, यत्तिका धेरै मानिस भएको सहरमा गुड्ने गाडीमा त्यस्तो भीडभाड नदेख्दा मलाई अलिक अचम्मै लागेको थियो । हुन त सडकमा मेट्रोबस पनि उत्तिकै चलिरहेका छन् । निजी सवारी र ट्याक्सी पनि चलिरेहेकै छन् तर पनि काठमाडौंको ट्राफिक जामदेखि दिग्दार भएको मजस्ताका लागि ती गाडीहरू रित्तारित्तै गुडिरहेको जस्तो लाग्यो अनि यहाँका त्यत्राविधि मानिस त्यति हिँडडुल गर्दैनन् कि जस्तो लाग्यो । तर, जब जमिनमुुनिको संसार देखियो तब थाहा भयो, यहाँको भीडभाडलाई जमिनमुनिको मेट्रोरेलले व्यवस्थित गरेको रहेछ । जमिनमुनि छिनछिनमा डौडिरहने मेट्रोरेलले लाखौं मानिसलाई सस्तोमा गन्तव्य पु¥याइरहेकाले जमिनमाथिका सवारीको भीडलाई नियन्त्रित गरेको रहेछ ।
‘उकालीमा पनि हजुर मोटर जाँदो रै’छ….ड्राइभर दाइलाई सलाम छ’ भन्ने गीत सुन्दा ‘हैन, उकालोमा पनि मोटर जान्छ र !’ भन्ने लाग्थ्यो । पहिलोपटक जिरीबाट काठमाडौं जाँदा मुडेको ओह्रालोका घुम्तीमा गाडी ओरालिँदै घुम्दा अचम्म लागेथ्यो । भारतमा रेलको सञ्जाल छ भन्ने थाहा पाउँदा के गर्नु हाम्रो देश पनि भारतजस्तै सम्म भएदेखि रेल्वे यातायातको विकास हुन्थ्यो नि भन्ने लाग्थ्यो । मौसमको कारण देखाएर फ्लाइट क्यान्सिल भएको भयै गरेर चार/पाँच दिनसम्म लामिडाँडामा म्यारिज खेल्दै बस्दाको आफ्नो देशको भौगोलिक अवस्थाप्रति कताकता दुःखेसो जाग्थ्यो ।
पाखापखेराका नेपाली बस्तीमा मोटरबाटो एउटा ठूलो सपनाजस्तो थियो । कहीं, कतै नगएकाका लागि त माथिको गीतमा जस्तै उकालोमा मोटर आउने कुरा कल्पनाभन्दा बाहिरको कुरा थियो होला । पछि अंग्रेज सेनामा भर्ना हुने, दार्जिलिङतिर चियाबगानमा काम गर्ने, आसामतिर कोइला निकाल्ने वा आरा काट्ने अथवा भोटाङ (भुटान) तिर सुन्तला बोक्न जाने नेपालीले पहाडमा पनि मोटरबाटो बनेको देखे होलान् । त्यसैको प्रभाव हुन सक्छ, मोटर चढ्ने सपना नेपालमा पनि भित्रियो र त्यही सपनामाथि टेकेर नेपालमा धेरैको राजनीति सप्रियो वा बिग्रियो । पञ्चायती व्यवस्थाको अन्त्यपछि र अझ गणतन्त्रकालमा समेत सूर्यबहादुर थापा, पशुपतिशमशेर जबराहरूले चुनाव जित्ने वा उल्लेख्य भोट ल्याउने आधार त्यही मोटरबाटोको कुरा थियो । अझै पनि नेपाली विकासको मुख्य चुनावी एजेन्डा सडककै वरिपरि केन्द्रित छ । र, अझ अचम्म त के छ भने यो विकट पहाडी क्षेत्रको मात्रै नभएर भौगोलिक रूपमा सजिलो ठानिएका तराई क्षेत्रको पनि मुख्य एजेन्डा बनिरहेको छ ।
म सम्झन्छु, १५ वर्षको उमेरमा कक्षा आठमा पढ्दै गर्दा ‘सननन मोटर चढी पाखा भित्ता डुल्न’ चुनावी गीत घन्काउने वीरेन्द्रकेशरी पोखरेलले राष्ट्रिय पञ्चायत सदस्य जितेका दिन ‘आहा ! हाम्रै खोटाङमा अब पाँच वर्षभित्रमा मोटर चढ्न पाइने भो’ भनेर मख्ख परेको थिएँ । अहिले पचासौं वर्ष पुग्न लाग्दा पनि त्यही सररर गाडी चढ्ने चुनावी गीतको धुनमा नाचिरहेको छु जस्तो लाग्छ । चीनको यातायात व्यवस्था देखेपछि अनि खोटाङ र सिंगो नेपालको त्यो इतिहास र विरासत बनेर रहेको मोटरबाटोको कुरा सम्झेपछि हामी नेपालीको जीवनको चक्रव्यूह झलझली सररर मानसपटलमा घुम्छ र थुक्क हाम्रो जीवन भनेजस्तो लाग्ने रहेछ ।
नेपालमा सडक यातायातको थालनी राणाकालमै भएको हो । राणाशासन समाप्त भएको पनि सात दशक बितिसक्यो तर नेपालमा सडक यातायातको अवस्था हेर्दा साह्रै दुःख लाग्छ । कक्षा आठमा पढ्दै गर्दा खोटाङमै सररर मोटर चढ्ने गीतबाट मख्ख परेको म एमए र पीएचडीको प्रमाणपत्र पाएर पनि थोत्रिसक्दा अनि जागिर खाएको तीन दशक बितिसक्दा पनि आफ्नो घर, मावल, ससुराल, साथीको घरतिर जानुपर्दा सकीनसकी हिँड्न विवश हुनुपर्ने । अझै पनि स्कुलको छानो छाउने जस्तापातादेखि झोलुंगेपुलका लट्ठासमेत पिठ्यूँमा बोकेर भीरपाखा हिँड्न नेपाली जनता विवश हुने । कर्णालीतिरको कुरा छाडौं, तराईका गाउँगाउँमा अझै सडकका लागि हारगुहार गर्नुपर्ने । जति सडक बनेका छन्, ती पनि धेरैजसो कच्ची र वर्षायाममा सडकैमै धान रोप्न सकिने । नयाँ प्रधानमन्त्री भएको पहिलो बैठकमा अवधि तोकेर तुइन विस्थापित गर्ने अथवा नेपालमा जोडजाड पारिने मुस्ताङ वा त्यस्तै नेपाली नाम भएको गाडी चढ्ने निर्णण गर्दा वाहीवाही कमाउने अवस्था । अझै पनि नेपालका केन्द्र, प्रदेश र स्थानीय तीनवटै सरकारको विकासको सपना सडक यातायातमा केन्द्रित रहेको । प्रधानमन्त्रीले रेलको कुरा गर्दा रेला गरेजस्तो लाग्ने । यी सबै अवस्था सम्झँदा साह्रै नै विरक्तै लाग्दोरहेछ ।
अब रेल यातायातको कुरा त झन् के कुरा गरौं ? नेपालमा रेल यातायातको सुरुवात (रक्सौल–अमलेखगन्ज) भएको एक शताब्दी हुन लाग्यो तर त्यो रेल जनकपुरदेखि अन्त विस्तारित हुन सकेको छैन । सायद रेल उकालोमा हिँड्दैन होला तर पहाडमा सुरुङ खनेर अनि होचो जमिनमा जमिनमाथि नै पुलजस्तै संरचना बनाएर रेललाई चाहिएको ठाउँमा लैजान भने सकिँदोरहेछ । व्यस्त सहरका मुनिमुनि अलग्गै संसार निर्माण गरेर सररर रेल, मोटर गुडाउन सकिने रहेछ । डाँडाकाँडा, उकाली–ओह्राली प्रकृतिका अभिसाप होइनन्, वरदान रहेछन् । युटुबबाट देखिने यातायात सञ्जाल अनि विदेशतिर जानेले भनेका कुरा सुन्दा यातायातमा भौगोलिक अवस्थाले केही अप्ठ्यारो त हुन्छ तर त्यो नै समस्याचाहिँ होइन भन्ने कुरा अलिक पछि बुझन थालिएको थियो । यता आएपछि थाहा भयो, डाँडाकाँडा र उकाली–ओह्राली हुँदैमा सडक र रेलमार्ग नबन्ने भन्ने कुरा सोरै आना गलत रहेछ । भौगोलिक विकटता वा अप्ठ्यारोले हाम्रोमा यातायातको विकास हुन नसकेको भन्ने कुरा आंशिक सत्यमात्रै रहेछ । डाँडाकाँडा र उकाली–ओह्राली हुँदैमा सडक र रेलमार्ग नबन्ने भन्ने कुरा होइन रहेछ । फलानाले फलानो सुरुङ बनाइदेला, फलानाले हुलाकी मार्ग बनाइदेला भन्ने आशामा बाँच्ने प्रवृत्तिले नै सायद हामी हरेक असारमा सडकमा धान रोपेर जात्रा देखाउन विवश छौं कि भन्ने लाग्छ ।