सडक र रेप्टाइल विचार



‘ए सडक हो !
यौटा मानिस तिमीमाथि हिँड्दै छ
म अटाइनँ तिम्रो फैलावटमा
यसर्थ, म हुकुम गर्दछु
अझै तिमीहरू– फाटिदेऊ, च्यातिदेऊ, फैलिदेऊ…’
वैरागी काइँला (मातेको मान्छेको भाषण…)

कि, यो सडकको वर्तुल बहस
र, बहसको गरमागरम उठबस
दुईतर्फी उत्तेजक विचारहरूमाझ
अब यहींनिर किनारा लागोस्

यहींनिर,
किनारको यसतर्फी
दाहिने राखेर मगरात प्रदेशलाई
जहाँबाट सुरु भएथ्यो
त्यहींबाट
विस्तारको सडक
अब मध्ययुग फर्कियोस्
एउटा मान्छे अटाइ–नअटाई
जो यस सडकमाथि हिँडिसकेको छ
सडकको त्यो अतिरिक्त विचारभन्दा अगाडि
या, विचारको अतिरेक सडकभन्दा अगाडि
सडक स्वयम्
अब विचाराधीन छ
यसर्थ कि यो समय
हरेक मानिसले
पालैपालो
ममाथि टेकिसकेपछिको समय हो
गिलोगिलो
थिलथिलो हिँडिसकेपछिको समय हो

फाटक,
फाटकका करङ र खुला छातीका फ्रेमहरू
च्यातेर गुप्तांग मस्तिष्कको
रंगीन प्रवेशद्वारमा
स्वागतार्थ लाल–कार्पेट ओछ्याउनुभन्दा अगाडि
यसबेला एकपटक सोच्नु छ
यसबेला जम्मै एकात्मक सडकमाथि
ट्राफिक जाम गर्नु छ

किन लाग्छ ?
कि लमतन्न यस्तरी सर्पाकार
सडकहरू काला रेप्टाइल हुन् !
किन सुरु हुन्छ सधैं
पुच्छरबाट सडकको मुख !
किन टोक्छन् सडकहरू पुच्छरले !
डस्तै चौदन्डीका इँटाहरू
यस्तरी रेप्टाइल…
रेप्टाइल घर्षणमा
किन चाट्छन् मेरो ढाडको राज्य
गिदीको संस्कृति
र भित्राँसको भाषा ?
किन मलाई
‘म’ हुन दिँदैन
त्यस सडकको विषाक्त पुच्छरले ?
कि अब सिमानामा
उठेर अदुवाको जराबाट
एउटा अर्को राष्ट्रियता
लगभग तयार छ
सडककोे पुच्छर टेक्नलाई

ठीक यहींनिर
लालबत्ती उभिन्छु
र रोक्छु– पृथ्वी (?) लाई
पृथ्वी राजमार्गलाई
अब हरेक बहसहरूमा
खासगरी गणतान्त्रिक हिज्जेहरूमा
सुनाउँछु म आफ्नो अन्तिम निर्णय
मेरो आत्मनिर्णय–

यी : म सुप्तुलुङ
छोपेर कहिल्यै ननिभ्ने आगोको जरुवा
बाँडिरहेछु आगोको पुस्तैनी बीउ
मलाई नचलाऊ
मन्त्रमग्न वाबुकका टाउकाहरू
म मुन्धुम कोठामा
उथ्रिन सक्छु
सक्छु उथ्रिन
हरेकको आङमा राष्ट्रियताको तातो झोंक
मलाई नछोऊ सुङ्सा हातहरूले
नगुज्र कुनै पनि अतिरेक सडक
अब यहाँबाट
एउटा मानिस फेरि पनि अटाइ–नअटाई
जो हिँड्नलाई तयार छ
रोक
रोक उसलाई
किनभने त्यो सडक जहाँ पुगेर ऊ अडिन्छ
माटो त्यहींबाट सुरु हुन्छ
माटो सर्वदा सडककै छेउबाट सुरु हुन्छ
सेउली गाडेर प्रत्येक सुरमा
बाँध्दै काँचो धागोले
त्यो संघात्मक छेउसम्म
रोक, रोक सर्पलाई

र, अब नटेकोस् काँचो माटो सर्पका सहस्र खुट्टाले
नतरोस् मध्ययुगले फेरि लिखुखोला
नछादोस् संक्रामक लादी
नानीहरूको भागमा
कि यसबेला
सडक पा…रि
खेलिरहेका छन् कलिला राष्ट्रहरू…

आज यस का…लो अन्तरालपछि
छुँदै उपल्लो तमुवान र उपल्लो थरुहट
लगभग पश्चिमाभिमुख उभिएर किरातप्रदेशको
म हुकुम गर्दछु–
ए सडक हो !
एउटा मानिस अब तिम्रोविरुद्धमा उभिँदै छ
म बाँच्नै सकिनँ तिम्रो फैलावटमा
तसर्थ
अब तिमीहरू– छोट्टिदेऊ, टुक्रिदेऊ, खुम्चिदेऊ…

कि यो सडकको उत्तरआधुनिक बहस
दुईतर्फी उत्तेजक विचारहरूमाझ
अब यहींनिर किनारा लागोस् ।

प्रतिक्रिया दिनुहोस्