८ कक्षा पढ्दै सेनापति



अरुणोदय माध्यमिक विद्यालय चरम्बी भोजपुर । शिक्षक प्रभु पराजुलीले इतिहास पढाउँथे । इतिहास विषयका शिक्षक पराजुलीले अग्लो टोपी लगाउँथे । चर्को आवाज निकालेर पढाउँथे । उनले एक दिन पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको पाठ पढाए । शाहले गोरखादेखि थालेर क्रमशः नेपाल एकीकरण गरेको वास्तविकता शिक्षकले व्याख्या गरे ।

तात्कालिक चरम्बी गाउँ पञ्चायतअन्तर्गत विभिन्न गाउँबाट अरूणोदय माविमा पढ्न आउँथे । भौगोलिक रूपमा चरम्बीको एउटै पाटोमा परेको वडामा चार–पाँचवटा गाउँ थिए । ‘पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा हुन्छ भने हामीले गर्न किन नहुने भन्ने सोच्यौं,’ एआईजी भीमप्रसाद ढकालले अतीत सम्झे, ‘वडाभरिका जति पनि गाउँ छन्, एकीकरण गरौं भन्ने सल्लाह गर्यौं । एउटै वडाबाट आएका जति पनि विद्यार्थी छन्, तिनीहरूलाई एक–एक गरी जित्नुपर्छ । ती गाउँ एकीकरण गर्नुपर्छ ।’

एकीकरण अभियानमा लागेका विद्यार्थीजति ‘टिफिन टाइम’मा विद्यालयबाट भागे । एकीकरण अभियान तयारी पूरा भइसकेको थियो । ‘एकीकरण गर्ने वडाअन्तर्गत विभिन्न गाउँबाट विद्यालय आउने विद्यार्थीले ओहोरदोहोर गर्ने बाटोमा एम्बुस थाप्यौं । घङ्गरुको लठ्ठी थुपारेर एम्बुस बनाएका थियौं,’ एआईजी ढकालले जानकारी गराए, ‘एम्बुस थापेर हामी लुकिबसेका थियौं । प्रत्येक गाउँका १०–१२, १०–१२ जना विद्यार्थी थिए । उनीलाई जित्नु थियो । एम्बुसनेर आइपुगेका उनीहरूलाई हामीले अनाहकमा कुटपिट गयौं । उनीहरूको भागाभाग भयो । उनीहरूले युद्ध हारे ।’

नालापानीको युद्धसमेत उनीहरूले पढिसकेका थिए । गाउँ एकीकरणमा लागेका उनीहरूलाई नालापानी युद्धमा सबैभन्दा अघि हट्टाकट्टा, त्यसपछि महिला र सबैभन्दा पछाडि केटाकेटी राखिएको कथा थाहा थियो । चरम्बी एकीकरणका लागि तयार १६–१७ जनाको समूहले नालापानीको युद्धजस्तै नीति अख्तियार गर्यो ।

‘पहिलोपटक ओदाने गाउँ एकीकरण गरेका थियौं,’ उनले सुनाए, ‘ओदाने प्रहरी सेवामा रहेका रेवती ढकालको गाउँ हो । एकीकरणमा उहाँ पनि सामेल हुनुहुन्थ्यो । यो संवत् २०४० साल हिउँदको कुरा हो ।’

ओदाने एकीकरणलगत्तै गाउँमा छलफल चल्यो । शिक्षकले एकीकरणमा संलग्नजतिलाई लौरो लगाए । र पनि, एकीकरण अभियान रोकिएको थिएन । एउटा गाउँ जितेपछि अरू गाउँहरू पनि जित्नु छँदै थियो । एकीकरण अभियान जारी थियो । गाउँ र विद्यालयमा एकीकरण अभियानबारे सोधिखोजी बाक्लै हुन थाल्यो । विद्यालयमा हल्लाखल्ला चलेकै थियो ।

ओदाने एकीकरण तयारीका लागि दुई/तीन दिन लाग्यो । एकीकरणका लागि घङ्गरुको लठ्ठीमात्रै थिए । त्यसैको सहारामा अभियान चलेको थियो । घङ्गरुको लठ्ठी बनाउन घरबाट लगिएका खुकुरी, हँसिया जंगलमै लुकाइन्थ्यो । विद्यालय जाँदा बाटोमै बाब्रेखोला जंगल पर्छ । त्यहीं कतै युद्धसामग्री लुकाइएका हुन्थे ।

दोस्रो चरणमा कटुवाल गाउँ एकीकरण गर्ने योजना बनिसकेको थियो । ‘कटुवाल गाउँ’लाई ठूलो शक्ति मानेका थियौं,’ उनले थपे, ‘त्यहाँका केटाहरू आठ/दसमात्रै भए पनि जवान थिए । कटुवाल गाउँ पनि जित्यौं ।’

‘कटुवाल गाउँ’ र ‘ओदाने गाउँ’ को सेनापति फरक–फरक व्यक्तिलाई तोकिएको थियो । ‘पुराना गाउँ’ एकीकरणका लागि भीमप्रसाद ढकाललाई सेनापतिको भूमिका दिइएको थियो । तर, चार गाउँ एकीकरण गरेर एउटै बनाउने लक्ष्य पूरा हुन सकेन । तेस्रो चरणको गाउँ एकीकरणमा जुटिरहँदा अभियान तुहियो ।

‘प्रधानाध्यपक देवीभक्त पराजुलीले एकीकरण अभियानमा लागेकालाई सजाय दिनसम्म सजाय दिनुभयो । १० देखि १५ दिनसम्म लगातार सजाय पायौं,’ उनले विगत सम्झे, ‘सम्बन्धित गाउँका अभिभावक (एकीकरणमा पराजित) ले आफ्ना छोराछोरी विद्यालयसम्मै पुर्याउन ल्याउँथे । तर, उनीहरूले हामीलाई दुव्र्यवहार गरेनन् ।’

विनाहतियार र रक्तपात गाउँ एकीकरण गर्न उनीहरू ‘टिफिन टाइम’मा बैठक बस्थे । कसले कसलाई ठीक लगाउने भनेर व्यक्ति नै तोकेका हुन्थे । एकीकरणमा लागेकालाई नजानिदोपाराले ‘डोमिनेट’ गरिएको थियो । दुवै पक्षबीच बेलाबेलामा गोदगाद चलिरहन्थ्यो । ‘चार गाउँको मिसिने ठाउँ एउटै थियो । त्यहाँबाट विद्यालय पुग्न आधा घन्टा सँगसँगै हिँड्नुपर्थ्यो,’ उनको भनाइ थियो, ‘फुटबल, भलिबल र कबड्डी खेल्दासमेत ठाकठुक परिरहन्थ्यो । तर, झगडा मिलाइन्थ्यो । झगडाका कारणले गाउँ एकीकरण गर्न खोजेको भने होइन ।’

कारण के थियो त ?

‘शिक्षकले पढाएको विषय अभ्यास गर्न खोखिहाल्ने भावना जागृत भएको थियो,’ उनले वास्तविकता खोले, ‘म त्यतिबेला सात/आठ कक्षामा अध्ययनरत थिएँ । त्यही भावनाले ओतप्रोत थियौं । अभ्यास गरिहालौं न त भन्दा त्यस्तो भएको थियो । प्रभु सरले पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दाको अभ्यासबारे छर्लंग पारिदिनुभएपछि हामी पनि पृथ्वीनारायण शाह बन्न सकिन्छ कि भनेर अभ्यास गर्न खोजेका थियौं ।’

चरम्बी एकीकरणमा त्यतिबेला १० कक्षामा अध्ययनरत विष्णु दाइलाई कमान्डर तोकिएको उनले बिर्सेका रहेनछन् । उनी नेकपा गाउँ कमिटीमा छन् । एकीकरण पक्षधर प्रभु ढकाल पनि प्रहरी सेवामै छन् । कतिपय प्रहरी सेवाबाट अवकाश पाइसकेका पनि छन् भने कोही सेवामै छन् । एकीकरणमा पराजित हुने कोही झापा, कोही भोजपुर, कोही मोरङ त कोही विदेशतिर छन् ।

‘त्यो घटना म बिर्सनै सक्दिनँ । शिक्षक र अभिभावकले सम्झाएपछि हामी कन्भिस भयौं,’ उनले भने, ‘वास्तवमा मैले राम्रो पढाएछु भनेर प्रभु सर खुसी हुनुहुन्थ्यो । प्रधानाध्यापकले समेत प्रभु सरलाई तपाईंले राम्रो पढाउनुभएछ भनेर प्रशंसा गर्नुभएको थियो ।’

प्रतिक्रिया दिनुहोस्