केटा ‘बादल’ देखिस् के ?
‘बादल’ पनि देखिनँ । कुहिरो पनि देखिनँ ।
दाइ इच्छाराम राईले सोधेको प्रश्नको उत्तरमा भाइ दाइन्द्र राईले यही उत्तर दिएका थिए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दाइन्द्र राई (तस्बिरको खोल्मा) मा एकरात ‘सेल्टर’ लिएका थिए । आफ्नै खोल्मामा गृहमन्त्री ‘बादल’ले ‘सेल्टर’ लिएको दाइन्द्रलाई थाहा थिएन ।
‘तात्कालिक माओवादी पार्टीका ठूलो नेता पूर्वगृहमन्त्रीले मेरो खोल्मामा एकरात सुतेर गएको तीन–चार दिनपछि मात्रै थाहा पाएँ,’ उनले विगत सुनाए, ‘सहोदर भाइ तिलक चाम्लिङ र इच्छाराम दाइले सुनाउनुभएको थियो । त्यसपछि मात्रै थाहा पाएको हुँ । त्यतिबेला इच्छाराम दाइले केटा ‘बादल’ देखिस् के भनेर सोध्नुभएको थियो । मलाई नेता ‘बादल’बारे थाहा थिएन । मैले ‘बादल’ पनि देखिनँ । कुहिरो पनि देखिनँ भन्दिएँ । अहिले सम्झँदा हाँसो लाग्छ ।’
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम भन्ज्याङनिवासी दाइन्द्र राई बेंसी (तेर्सालुङ)बाट दाउरा लिएर घर फर्कंदै थिए । अपराह्नको चार बज्दै थियो । दाइन्द्रको घर पुग्नअघि शिक्षक इच्छाराम राईको घर आउँछ । शिक्षक राईको घरबाट गाउँभरि सेना देखिए । त्यति धेरै मानिस उनले गाउँमा कहिल्यै देखेका थिएनन् । उनले आँखा मिचे । फेरि राम्ररी नियाले । उनले देखेको सेना, सेना नै थिए । आँखाले झुक्याएको थिएन । ‘सत्ते होला,’ उनले नढाँटी अतीत सम्झे, ‘त्यति धेरै मानिस गाउँमा देख्दा तीनछक परें ।’
घर पुगे । घरमा पनि त्यस्तै हुलिया भएको मानिस देखे । गाउँभरि देखेको मानिस आफ्नै घरमा पनि थिए । ‘म त आत्तिएँ,’ उनले भने, ‘के गरौं, कसो गरौं भयो ।’ त्यो भीडमा हलेसीका चइन्द्र राई पनि देखिए । गाउँभरि देखिएकाहरू माओवादी सेना रहेछन् भनेर उनलाई पक्कापक्की भयो । यो संवत् २०६१ मंसिरको कुरा हो ।
चइन्द्रले नातामा भिनाजु पर्ने दाइन्द्रलाई राँगा खोज्न अनुरोध गरे । नाइँ भन्ने कुरो भएन । राँगा खोज्ने निहुँमा उनी साल्तेम्मातिर लागे । छापडाँडातिर अल्मलिए । डाँडाटोल पुगे । जहाँ–जहाँ पुगे त्यहाँ माओवादी सेनामात्रै देखे । जहाँ पुगे पनि माओवादी सेनामात्रै देखेपछि उनी घर फर्के । ‘राँगा खोज्न हिँडेको म त्यत्तिकै घर झरें,’ उनी हाँसे, ‘राँगा त खोजेको भए पो । घर झरेपछि राँगा पाइएन है भनेर ढाँटें । राँगा त खोज्न सकिन्थ्यो । राँगो खोजेको भोलिपल्ट सरकारी सुरक्षाकर्मीले केरकार गर्थे । अनावश्यक दुःख दिन्थे । खान, बस्न दिएको थाहा पाए उठिबास लगाउँथे । म त डरले थुरथुर भइगएँ नि ।’
राँगा पाइएन भनेर दाइन्द्रले ढाँटे पनि चइन्द्र राई निराश देखिएनन् । उनीहरूले खाना पकाए । माओवादी सेना व्यवस्थित तरिकाले हिँड्दारहेछन् भनेर उनले चाल पाए । ‘मैले,’ उनको भनाइ थियो, ‘दाउरा र पानीबाहेक केही दिनुपरेन । सबै उहाँहरूसँगै रहेछ । पकाएर खाए ।’
माओवादी सेनाले ओढ्ने ओछ्याउने बोकेर हिँडेका हुँदारहेछन् । त्यसबाहेककालाई ओढ्ने, ओछ्याउने उनले व्यवस्था गरे । ‘हामीसँग पनि ओढ्ने ओछ्याउने प्रशस्त थिएन । हामीले जे ओढ्थ्यौं त्यही दियौं,’ उनले १९ वर्षअघिको त्यो रात सम्झे, ‘आफूले ओढ्ने उनीहरूलाई दिएपछि हामी बर्को ओढेर सुत्यौं ।’
त्यतिबेला बादललाई नचिनेका दाइन्द्रले अहिले पनि चिन्दैनन् । गाउँघरका भुँइमान्छेलाई प्रधानमन्त्री, मन्त्री चिन्ने माध्यम पनि छैन । तिम्रै खोल्मामा एकरात सुतेका बादल पूर्वगृहमन्त्री भइसके भनेर उनलाई गाउँघरमा सुनाइन्छ । उनी सुनिदिन्छन् । त्योभन्दा केही भन्दैनन् । भन्ने काम पनि के छ र ।
दाइन्द्रलाई सम्झना छ । त्यतिबेला खोल्मामाथि टाँडमा खोस्टा थियो । खोस्टा एकछेउमा राखेर गृहमन्त्री बादललगायत सुतेका थिए । एउटै खोल्मामा १५–१७ जना सुतेका थिए ।
पूर्वगृहमन्त्री बादललगायत तात्कालिक माओवादी सेनालाई चइन्द्र राईले भन्ज्याङ ल्याएका थिए । त्यतिबेला उनी एरिया सदस्य थिए । उनीसँग अन्य तीनजना ‘रुटर’ थिए । ‘बादललाई बोझेबाट भन्ज्याङ ल्याउँदा उनको कार्यालय टिममा २५ जना थिए,’ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान पूर्ववडाध्यक्ष चइन्द्र राईले थपे, ‘माओवादी सेनाको एक कम्पनी थियो । १५० जनाको एक कम्पनी हुन्थ्यो । भन्ज्याङमा सेल्टर लिएको रात हामी सबै गरी तीन सयजनाभन्दा बढी थियौं ।’
त्यो रात वल्लो गाउँ, पल्लो गाउँ, तल्लो गाउँ माओवादीमय भएको थियो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमअन्तर्गत छापडाँडा, साल्तेम्मा, गैराटोल, डाँडाटोल, भन्ज्याङ, हात्तीढुंगे, चुमाखु र रातमाटेमा माओवादीले ‘सेल्टर’ लिएका थिए ।
हातहतियारले सुसज्जित माओवादीले ‘हामी एक हुनुपर्छ’ भन्दा दाइन्द्र राईले सहमति जनाउँथे । उनी बोल्दा पनि तौलेर बोल्थे । त्यतिबेला त्यसो भन्ने बादल नै थिए कि को थिए उनलाई हेक्का छैन । किनकि उनी बादलको अनुहार अहिले पनि ठम्याउन सक्दैनन् ।
‘यही खोल्मा हो नि,’ दाइन्द्र राईले परैबाट देखाउँदै खुसी व्यक्त गरे, ‘यही खोल्मामा सुतेकामध्ये रामबहादुर थापा ‘बादल’ पूर्वगृहमन्त्री भइसकेछन् । बादलसँगै यही खोल्मामा एक रात बिताएका चइन्द्र राई हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको पूर्ववडाध्यक्ष भइसके । अरू पनि त केही न केही भूमिकामा होलान् नै ।’