नेपालको प्रजातान्त्रिक आन्दोलनमा धनवर्ण राईको नाम नसुन्ने कमै होलान् । प्रजातन्त्र प्राप्तिका लागि १६ वर्षसम्म जेल बसेर सम्मानित बन्दीमात्र नभई, खोटाङका नेल्सन मन्डेलाका रूपमा परिचित हुने राईले सौभाग्य प्राप्त गरे ।
संवत् १९७८ साउन २९ गते खोटाङको सेरा खाल्लेमा जन्मेका धनवर्ण राई शेरबहादुर राईका माइला छोरा हुन् । सानैदेखि केही गरौं भन्ने उनको भावना थियो । इखालु चेतना भएकाले उनलाई आजसम्म सम्झिरहन बाध्य बनायो ।
००४ सालमा नेपाली राष्ट्रिय काँग्रेसको सदस्य भएपछि उनी राजनीतिमा प्रवेश गरे । ब्रिटिस आर्मीको लोभलाग्दो जागिर त्यागेर उनी राजनीतिमा होमिए । जहानियाँ राणा शासनले नेपाली पिसिइरहेको देखेपछि उनी त्यसविरुद्ध उभिए । अतः ००७ मा राणाविरुद्ध नेपाली काँग्रेसद्वारा आह्वान गरिएको सशस्त्र क्रान्तिमा लागे । क्रान्ति सफल भएपछि उनी त्यत्तिकै उत्साहित भए । राजनीति गर्ने जोश जाँगर झन्झन् बढ्दै गयो । उनले आफ्नै गाउँ–समाज पुगेर मोहियानी हक, छुवाछूत विरोध, हलो जोत अभियान, बेठबेगारी समाप्ति तथा सामाजिक न्याय र समानताका लागि लड्ने, भिड्ने, चेतना दिलाउने कामा अभिप्रेरित भए ।
धनवर्ण राई सरल, सहृदयी, मुदुभाषी, स्वाभिमानी, स्पष्टवादी र परिश्रमी कुशल संगठक थिए । उनको स्वभाव र व्यवहार सबैले रुचाउँथे । अतः ०११ मा नेपाली काँग्रेसले सुरु गरेको देशव्यापी सत्याग्रह र ०१४ माघमा भएको भद्रअवज्ञा आन्दोलनमा पनि उनको भूमिका अत्यन्त सक्रिय र प्रभावकारी थियो ।
त्यसपछि ०१५ फागुन ७ गते निर्वाचनको मिति तोकियो । त्यसपछि उनी पुनः संगठन विस्तारका निम्ति दौडन थाले । प्रजातन्त्रका प्रहरी तथा कुशल संगठक उनलाई ०१७ पुस १ गतेको शाही कदमले मर्माहत बनायो । प्रजातन्त्रको पारिलो बिहानीमाथि एकाएक निर्दलीय पञ्चायती व्यवस्थाको कालो बादलले ढाक्यो । नेपाली काँग्रेसले दोस्रो सशस्त्र क्रान्ति गर्ने निर्णय गर्यो । अन्ततः उनी ०१८ मंसिर ९ गते हातहतियारसहित एक टोलीको नेतृत्व गर्दै खोटाङको ऐंसेलुखर्क चौकी कब्जा गर्न पुगे । तर, उनको टोली निस्तेज हुँदै गयो । उनी गिरफ्तार भए । उनी जेल परे । उनलाई ओखलढुंगा जेल चलान गरियो ।
त्यसपछि राजकाज अपराधसम्बन्धी अभियोग लगाएर उनलाई आजीवन कारावास सजाय तोकियो । ओखलढुंगा जेलमा तीन वर्ष राखेपछि काठमाडौंको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागार पुर्याइयो । उनलाई जेलसार गर्दै कहिले नक्खु त कहिले केन्द्रीय कारागारको बन्दी बनाइयो ।
वैचारिक रूपमा बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका अनुयायी उनी नेपाली काँग्रेसको निष्ठावान कार्यकर्ता हुन् । उनी कृष्णप्रसाद भट्टराईसँग धेरै वर्ष बन्दी जीवन बिताए । राई र भट्टराईबीच अत्यन्त निकट सम्बन्ध थियो । आफ्ना कर्तव्यनिष्ठा, सच्चरित्र, सादा जीवन, त्याग र समर्पित भावनाले गर्दा धनवर्ण राई सबैका आदरणीय काका बने । धेरैले उनको वास्तविक नामै थाहा पाएका थिएनन् । कृष्णप्रसाद भट्टराई पनि उनलाई काका भनेरै सम्बोधन गर्थे । उनी आफूले गरेको कामको पछुतो मान्दैनथे । जे भयो, जे गरियो, ठीक भयो, ठीक गरियो भन्थे ।
नेपाली काँग्रेसले अपनाएको प्रजातान्त्रिक समाजवादको बाटो सबैभन्दा उत्तम हो भन्ने मूल मन्त्रसहित हिँडेका उनी खोटाङ नेपाली काँग्रेस अध्यक्ष पनि भए । नेपाली काँग्रेसप्रति आलोचना, टीका–टिप्पणी गर्नेप्रति उनी सरल र सरस शब्दमा प्रतिकार गर्दै बीपी, गणेशमान र कृष्णप्रसादजस्ता व्यक्तिले गोडमेल गर्दै आएको पार्टी कदापि उजाडिने छैन, केही हुन्छ र केही गर्छ भने यही पार्टीबाट हुन्छ भन्दै आफ्नो दृढोक्ति व्यक्त गर्थे ।
‘के भन्नुभएको तपाईंले ? यत्रो राष्ट्रभरि फैलिएको नेपाली काँग्रेस नै मेरो परिवार होइन ? दाजुभाइ, दिदीबहिनी, छोराछोरी, इष्टमित्र, बन्धुवान्धव आफ्नो त जे भने पनि यही परिवार हो,’ कसैले घरपरिवारबारे प्रसंग उठायो भने उनको जवाफ हुन्थ्यो, ‘मलाई अरू केही चाहिँदैन । नेपालमा प्रजातन्त्र ल्याउन पाए पुग्यो ।’ उनको त्यो महान् विचार सबैले प्रशंसा गर्नैपर्छ ।
धनवर्ण राईका पाँच छोरा र दुई छोरीमध्ये जेठा छोरा ब्रिटिस आर्मीमा हुँदा निधन भयो । आजीवन कारावास जीवन व्यतीत गर्दैगर्दा उनकी पत्नीले उनलाई पर्खेनन् । छोराहरू पनि को कता, को कता भए । घरपरिवारसँग भेटघाट पातलिँदै गयो । नेताहरूमध्ये उनका अत्यन्त प्रिय कृष्णप्रसाद भट्टराई थिए । उनीहरू ठट्टा, रमाइलो गर्थे । धनवर्ण राईले नयाँ कपडा लगाउँदा कृष्णप्रसाद भट्टराई भन्थे, ‘आज काकाको छोराको पेन्सन आएछ कि के हो ?’
काका हाँस्दै भन्थे, ‘कृष्णजी पनि ।’
भेटघाट हुँदा उनले छोरा प्रेम राईलाई सम्झाउँथे, ‘नेताहरूसँग मुख नलाग्नू । नेता हुन बल पनि नगर्नू । जिल्लामा गई वफादारीसाथ काम तथा संगठन गर्नू । निधन हुनु केही समयपहिले उनले छोरा प्रेम राईलाई पत्र लेख्दै भनेका थिए, ‘बाबु, मैले तिमीहरूलाई केही सम्पत्ति जोडिदिन सकिनँ । तर, पार्टीप्रति जिल्लामा गई वफादारीपूर्वक काम गर्नू । त्यसको दुई/तीन वर्षपछि थाहा हुनेछ– मैले तिमीहरूलाई कति सम्पत्ति आर्जेको रहेछु ।’
नभन्दै उनले बोलेको सत्य साबित भयो । उनी साँच्चै भविष्यद्रष्टा पनि हुन् । ०४६ मै प्रजातन्त्रको पुनर्बहाली भयो । अफसोस ! उनमा असाधारण आत्मबल थियो । उनी दृढ र दूरदर्शी थिए । नत्र १६/१६ वर्षसम्म जेल बस्न कसरी सक्थे ?
०३४ मा जेलबाट छुटेपछि पनि उनी चुप लागेर बसेनन् । निरन्तर जिल्लाको पार्टी संगठन सुदृढ गर्न क्रियाशील रहे । त्यसताका सानतिना आन्दोलन वा राजनीतिक चहलपहलमा पञ्चायती सरकारले उनीमाथि शंका–उपशंका गथ्र्यो । त्यसो त उनी आफ्ना कार्यकर्ता तथा साथीहरूलाई निरन्तर गोप्य तरिकाले भावी योजना, निर्देशन दिँदै परिचालित र संगठित गराइरहन्थे । यसरी उनले प्रजातान्त्रिक विचारधारालाई जनमानसमा पुर्याउँदै खोटाङे जनतालाई राजनीतिक जागरण फैलाउन अथक प्रयास गरे । यसक्रममा कहिले जिल्लावासीका नाममा अपील निकाल्थे त कहिले जनजागरणका गीत झ्याउरे लयमा रची आफैं प्रकाशन गरेर बाँड्थे । उनी नेपाली
काँग्रेसका सच्चा सिपाही, क्रान्तिकारी योद्धा, समाज सुधारक र तपस्वीसमेत मानिन्थे । उनी धार्मिक ग्रन्थका कुरा गर्न उत्तिकै मन पराउँथे ।
जेलमुक्त गर्न अञ्चलाधीशले निकै प्रलोभन र लालच देखाए । ०३४ सालको कुरा हो । अञ्चलाधीशले भनेका थिए, ‘तिमी गाउँ गएर सम्झाऊ । मैले पञ्चायत व्यवस्थाको विरोध गर्दा १६ वर्षसम्म जेल बस्नुपर्यो । मेरो सर्वस्व भयो । तिमीहरू पनि पञ्चायती व्यवस्थाको विरोध नगर । यो व्यवस्था राम्रो छ । तिमीले यसो ग¥यौ भने तिमीलाई घर–जग्गाको राम्रो व्यवस्था गरिनेछ ।’
प्रजातन्त्रप्रति समर्पित उनीजस्ता व्यक्तिका लागि यस्ता प्रलोभनको के अर्थ । उनले उत्तेजित हुँदै भने, ‘म नेपाली काँग्रेस कहिल्यै छाड्ने छैन । बीपी कोइरालाको असीम प्रेरणा र सिद्धान्तको अनुशरणबाट नेपालमा छिट्टै प्रजातन्त्र र समाजवाद आउनेछ । म र मजस्ता प्रजातन्त्रप्रेमी जे–जस्तो आइपरे पनि भोग्न तयार हुनेछन् । यस्ता लोभलालचमा फस्ने छैनन् ।’
वास्तवमै उनले प्रजातन्त्र प्राप्तिका लागि आफ्नो सम्पूर्ण जीवन उत्सर्ग गरे । उनी नेपाल आमाको एउटा वीर र जिउँदो सपूत हुन् भन्न हिच्किचाउनुपर्दैन । उनको जीवन संघर्षमय थियो । उनीमा नेताको गुण र समाज सुधारकको विशेषता थियो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा धनवर्ण राई संघर्ष गर्दा कहिल्यै निराश भएनन् । जेल बस्दा कहिल्यै थाकेनन् । सत्य कुरा बोल्दा कहिल्यै डराएनन् । आफ्नो दृष्टिकोणमा कहिल्यै ढुलमुल भएनन् । उनी सच्चा प्रजातन्त्रवादी नेता थिए । मानवतावादी र सच्चा सामाजिक परिवर्तनका पक्षपाती थिए ।
क्यान्सरपीडित उनी सुतिरहेका समयमा कसैले क्यान्सर भएको सुनाइदिएछन । तर, उनले पत्याएनन् । आफूलाई क्यान्सर भएको कृष्णप्रसाद भट्टराईले भनेमात्र पत्याउँछु भन्थे । एक दिन कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह उनलाई भेट्न पुग्दा– काका अब तपाईंलाई औषधिले छुँदैन । जे खान मन लाग्छ खानूस् । तपाईंलाई क्यान्सर भएको छ । भट्टराईले त्यसो भन्दा उनी एकाएक बेहोश भए । त्यो बेहोशी नै धनवर्ण राईको जीवनको अन्तिम बेहोशी हुन पुग्यो । परिणाम त्यति घातक छुुन्छ भन्ने किसुनजीलाई पनि के थाहा । मानिसको अन्तिम प्राप्ति भनेको मृत्यु हो । अन्ततः उनले ०४५ असोज ६ गते त्यो प्राप्ति गरे ।
नेपाली काँग्रेसका काकाको निधनले पार्टीले त्यागी, सिद्धान्तनिष्ठ, दृढविश्वाससी र समर्पित व्यक्तित्वमात्र गुमाएन, खोटाङले प्रजातान्त्रिक आन्दोलनका सशक्त योद्धासमेत गुमाए । यो अपूरणीय ठूलो क्षति भयो । उनीजस्ता निःस्वार्थी महान् आदर्शप्रेमी व्यक्तित्वको सम्झनामात्रले पनि प्रेरणा जगाउँछ ।