‘तुवाचुङ ?,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङको भनाइ छ, ‘किरात राई समुदायको सम्मानित मातृथलो हो । तुवाचुङलाई सत्य, शक्ति, सभ्यता, ज्ञान र सीपको पवित्र थलो मानिन्छ ।’
ज्ञान र सीप विकासको थलो भएकाले तुवाचुङ पुग्ने जोकोहीले मातृहरूसँग ज्ञान माग्ने गर्छन् । त्यतिमात्रै होइन, मातृहरूको श्रद्धा गर्दै बुद्धि–विवेक माग्नसमेत बिर्संदैनन् ।
किरात राई समुदायले तुवाचुङलाई घरभित्रको चुलाजत्तिकै पवित्र मान्छन् । यसलाई अपवित्र बनाए आफूहरूलाई दोष–दशा लाग्छ भन्ने उनीहरूको विश्वास छ । तुवाचुङ किरात राई समुदायको सभ्यताको उद्गम थलो हो ।
तुवाचुङ एक, नाम अनेक छन् । तुवाचुङलाई मुन्दुममा ‘तुवातिप् तिप्लोखा’ भनिन्छ । मुन्दुमी मिथकअनुसार तोंयामा र खियामा दिदीबहिनी हुन् । दिदीबहिनी भेट्ने ठाउँ भएकाले तुवाचुङलाई ‘तुवातिप् तिप्लोखा’ भनिएको हो ।
तुवाचुङलाई म्हलाचुङसमेत भनिन्छ । ‘किरात राई चाम्लिङ भाषामा ‘म्ह’ को अर्थ मृतात्मा हुन्छ भने डाँडालाई चुङ भनिन्छ,’ हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान तल्लो कात्तिकेनिवासी जितराज राईले सुनाए, ‘यहाँबाट आत्मा उडाएर पितृहरू बस्ने ‘पारुखाम दिप्पाखाम’मा पठाइने भएकाले तुवाचुङलाई म्हलाचुङ भनिएको हो । म्हलाचुङलाई बोलीचालीका भाषामा सरल बनाउन खस भाषामा मलाथुम्का भनियो ।’ म्हलाचुङ र मलाथुम्कालाई हिजोआज तुवाचुङ भनिन्छ ।
किरात राई चाम्लिङ समुदायका धामीले संस्कार गर्नेक्रममा सांस्कृतिक यात्रा गर्दा तुवाचुङलाई ‘तुवातिप् तिप्लोखा’ भनेरै पुकार्छन् ।
मुन्दुमी मिथकअनुसार, तुवाचुङमा तोंयामा र खियामाले कपडा बुन्थे । उनीहरू कपडा सभ्यताका उद्यमी मानिन्छन् । प्राग्ऐतिहासिक पवित्र मातृथलोमा उनीहरूले कपासको धागोबाट तान बुनेका थिए । यहाँ रहेको ढुंगाको दुवाचेबीमा पानी कहिल्यै सुक्न दिनुहुँदैन भनिन्छ । तुवाचुङमा ढुंगेदुवाचेबी छँदै छ । तानढुंगामा तुकिसुङ भिजाउने ठाउँलाई दुवाचेबी भनिन्छ । थुरीमा धागो बेरी तुकिसुङ बनाएर लगाइन्छ । दुवाचेबीको पानी अचाउँदा आयु बढ्छ भनेर किराती पुर्खाले सुनाउँदै आएका छन् ।
तुवाचुङमा तोंयामा र खियामाले अलग–अलग डाँडामा तान बुनेको ढुंगाको दोखाम (तान) अहिले पनि छँदै छन् । जसलाई तोंयामा दोखाम र खियामा दोखाम भनिन्छ । किराती पुर्खाहरूको भनाइअनुसार तोंयामाले तान टाँग्दा दक्षिण (लिम्चुङबुङ गाउँपालिका, उदयपुर) र पूर्व (वराहपोखरी गाउँपालिकामा रहेको बारुवा (हँसिया) पोखरी, खोटाङ) तिर फर्केर तान तन्काउँथिन् । हँसियाजस्तो देखिने भएकाले किरात राई समुदायले भन्ने बारुवा पोखरीलाई पछि वराह पोखरी भन्न थालियो । खियामाले हिमालको टुप्पोमा किला गाडेर तान तन्काई कपडा बुन्थिन् । त्यसैले, तुवाचुङबाट दिदीबहिनी छुट्टिँदा तोंयामा दक्षिण र खियामा उत्तरतिर लागेको बताइन्छ ।
तुवाचुङको सत्य–शक्तिले जोकोहीलाई अचम्मित बनाउँछ । ‘कपडा बुन्न नजान्नेलाई ‘तुवातिप्मा तान बुन्न जा’ भनेर आमाबाबुले छोरीहरूलाई भन्थे,’ हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले माथिल्लो चिचिङ्गाका अजम्बर राईले भने, ‘तान बुन्ने ढुंगामा बसेर तान बुनेजस्तो गरेपछि उनीहरूलाई तान बुन्न आउँथ्योे ।’
‘म एकताका उज्यालो नहुँदै तुवाचुङको तानढुंगा पुगेकी थिएँ । आफन्तलाई पर्खन तानढुंगामा ढल्कें,’ तुवाचुङको सत्य–शक्तिबारे हलेसी तुवाचुङ नगरपालिका–९, सल्ले माथिल्लो चिचिङ्गाकी मुगासरी राईले सुनाइन्, ‘त्यतिबेला तान बुनेजस्तै छ्याङछ्याङ आवाज आयो । मलाई तर्सायो कि के हो भनेर डरसरी सुनिरहें । सुन्दै जाँदा काँसेथाल पिटेजस्तो आवाज पनि आयो । त्यस्तो आवाज सुनेपछि मलाई कहिल्यै नराम्रो भएन ।’
तुवाचुङसँग जोडिएर आउने सत्य–शक्तिबारे वर्णन गरिसाध्य छैन । यहाँ एकजोडी परेवा देखिन्छन् । ती परेवालाई तोंयामा र खियामा भन्ने गरिन्छ । सेतो रङका परेवा देख्नेलाई अत्यन्त शुभ हुन्छ भने कालो रङका परेवा देख्नेलाई पनि राम्रै भएको सुनाउनेहरू हलेसी क्षेत्रमा जीवितै छन् ।
‘पहिले–पहिले मधेसबाट कुङ्केरा (कर्याङकुरुङ) चरा आउँथ्यो । कर्याङकुरुङ तुवातिप्भन्दा सिधा माथि आकाशमा आएपछि तुवातिप् डाँडाले रोक्थ्यो । (कर्याङकुरुङ धेरैबेरसम्म गोलो घेरा बनाएर उडिरहेको मैले पनि देखेको थिएँ,’ अजम्बर राईले जानकारी गराए, ‘सालिन्दा वैशाखे पूर्णिमा (उँभौली) र मंसिरे पूर्णिमा (उँधौली)मा दुईपटक त्यस्तो दृश्य देखिन्थ्यो । बाबुबाजेको पालामा एउटा चरा तुवातिप्मा अनिवार्य खस्थ्यो रे । तुवातिप्मा चराहरूले सकेसम्म पखेटा चढाउँथे रे । तर, पखेटा खसेन भने एउटा चरा अनिवार्य खस्थ्यो रे । सबै चरा अगाडि बढे पनि एउटा चरा पछाडि रहन्थ्यो । यस्तो दृश्य मैले देखेको हुँ । तुवातिप्को शक्तिले त्यसरी तान्दोरहेछ ।’
किराती आदिम कोकु (हजुरआमा) तोंयामा र खियामाले यहींबाट खेती गर्न थालेका हुन् । उनीहरूले यहींबाट कपास खेती थाली कपडा बुनेर लगाउन सुरु गरेका थिए । त्यसअघि अल्लोको कपडा लगाइन्थ्यो भने तुवाचुङबाट कपासको कपडा प्रयोग गर्न थालिएको थियो ।
समुद्र सतहदेखि १,८०० मिटर उचाइमा रहेको तुवाचुङ भौगोलिक हिसाबले अत्यन्तै आकर्षक छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य लोभलाग्दो देखिन्छ । हिउँद होस् या बर्खा आकाश खुलेका दिन उत्तरतिर हेर्दा चाँदीझैं टल्केका हिमाल आँखैअगाडि देखिन्छन् । तुँवालो नलागेको रात सप्तकोसीको भीमनगर पुलसम्म देख्न सकिन्छ । एकैठाउँ बसेर हिमाल, पहाड र तराई देखिँदा भन्न कर लाग्छ, ‘किरात मातृहरू तोंयामा र खियामाले तान बुन्ने उपयुक्त थलो तुवाचुङ त्यसै रोजेका होइनन् ।’
तुवाचुङलाई किरात राई समुदायको सम्मानित मातृथलो बनाउन तुवाचुङ जायजुम संरक्षण समिति लागिपरेको छ । समिति अध्यक्ष राकेश राईका अनुसार तुवाचुङको फरक–फरक ठाउँमा १६५ रोपनी जग्गा खरिद गरिसकिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ र वडा नम्बर १० मा पर्ने तुवाचुङ वृहत्तर हलेसी गुरुयोजनाभित्र समेटिएको छ । ऐतिहासिक, सांस्कृतिक स्थलको संरक्षण, सम्बद्र्धन गर्दै तुवाचुङमा तोंयामा र खियामाले तान बुन्दै गरेको मूर्ति प्रतिस्थापन गर्न सके पलासको फूलमा सुगन्ध भेटेसरह हुनेछ । त्यतिमात्रै होइन, खोक्चिलिपाले हलो जोत्दै गरेको मूर्ति र उनले सिकार खेल्ने जंगल क्षेत्र निर्धाण र निर्माण गरिँदै छ । यसैगरी, खोक्चिलिपा बगैंचा र कपास बगैंचा निर्माण गर्ने योजना पनि बन्दै छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४, बुइपाका राजेश चाम्लिङ हलेसी गुफा जाँदा आफूले लगाइरहेको कपडाको धागो चढाएर तुवाचुङको श्रद्धा गर्थे । ‘तुवाचुङ माइती–चेलीको अमर सम्बन्धको प्रतिविम्ब हो,’ सञ्चारकर्मी चाम्लिङको बुझाइ छ, ‘माइती–चेलीको सम्बन्ध जोडिएर बनेको प्रसिद्ध ठाउँ संसारमा कमै छन् । त्यस अर्थमा तुवाचुङको उचाइ झन् अग्लिँदो छ ।’
तिहारलाई माइती–चेलीको पवित्र चाड मानिन्छ । ताहाचल, काठमाडौंकी अञ्जली मास्केले सालिन्दा रानीपोखरीमा चेलीविहीन दाजुभाइलाई टीका लगाइदिन्छिन् । उनको सुझाव छ, ‘चेली र माइतीविहीनहरू तुवाचुङमा भेला भएर भाइटीका लगाउने प्रबन्ध मिलाउन सके पर्यटन प्रवद्र्धनसमेत हुनेछ ।’
तुवाचुङको प्रचार–प्रसार र व्याख्याको कमी भयो भन्नेहरू छँदै छन् । स्थानीय सरकार र स्थानीय सांस्कृतिक अध्येताले यसको प्रचार–प्रसार र व्याख्या व्यापक बनाउनुपर्छ भनेर लागिपरेका छन् । हलेसी आइपुगेका तीर्थयात्रीको यात्रा तुवाचुङ पुगेपछि अझ सार्थक हुनेछ ।
‘तुवाचुङ घुम्न पाउँदा प्रेरणा लिएँ,’ तुवाचुङमा भेटिएका सञ्चारकर्मी राजु स्याङ्तानले खुसी व्यक्त गरे, ‘आफूसँग सम्बन्धित ठाउँ तामाङ समुदायबाट संरक्षण कमै भएका छन् । तुवाचुङ देखेपछि आफूसँग सम्बन्धित ऐतिहासिक तथा सांस्कृतिक स्थल तामाङ समुदायले संरक्षण गर्नुपर्ने सवक सिकायो ।’
तुवाचुङमा किराती आदिम पुर्खा तोंयामा, खियामा र खोक्चिलिपाको प्रतिमा प्रतिस्थापन गरिएको छ । कलाकार अर्जुन खालिङले तयार पारेको रेखाचित्रअनुसार मूर्तिकार धनु याख्खा र रोजन राईले निर्माण गरेका तोंयामा, खियामा र खोक्चिलिपाको प्रतिमा प्रतिस्थापन गरिएको हो । किरात राई समुदायले तोंयामा, खियामा र खोक्चिलिपालाई फरक–फरक नामले पुकार्ने गर्छन् ।
तुवाचुङमा सालिन्दा औपचारिक कार्यक्रम गरेर तुवाचुङ ‘डे’ मनाइन्छ । यसपटक (२०८० को उँभौलीमा) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा तुवाचुङ ‘डे’ मनाइएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईलेले तुवाचुङलाई स्थानीय पाठ्यक्रममा राख्ने वर्ष दिनअघि उद्घोष गरेकी थिइन् । यसै शैक्षिक सत्रदेखि तुवाचुङलाई कक्षा १ देखि ८ सम्मका स्थानीय पाठ्यक्रममा राखी पठनपाठन सुरु गरिएको छ ।
तुवाचुङ ‘डे’ मनाउन हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय बिदा दिएको छ ।