कविता : प्रिय दुस्मन !


प्रिय दुस्मन !
कृपा गरेर अब तिमी कहिल्यै
अरू कसैको पनि नजिक नजाऊ !

तिमी आजीवन असीमित उत्तेजनाकै कारण
असामान्य रूपमा उत्तेजित हुँदै गइरहेका हुन्छौ
असीमित कुण्ठाको बूढो साँढे पालिरहेकै कारण
असामान्य रूपमा चरम ग्रसित भइरहेका हुन्छौ
पाइलैपिच्छे गलत कुराहरूमात्रै गरिरहेका हुन्छौ
आफ्नै पाथेभाइहरूलाई देखेरै त्रसित भइरहेका हुन्छौ !

जडसूत्रवादी संकीर्ण सोचाइ बोकेर बाँचिरहेका हुन्छौ
आलोचना गर्नेहरूको कलम खोसेर भाँचिरहेका हुन्छौ
मनमस्तिष्कमा सदैव अस्थिर मनस्थिति साचिरहेका हुन्छौ
भाङ खाएर दुनियाँसामु सर्वांग नांगै नाचिरहेका हुन्छौ !

प्रिय दुस्मन !
बाहिरी स्वरूपमा झट्ट हेर्दा तिमीलाई
बहुलवादी विचार बोकेर बाँचिरहेको
उत्तरआधुनिक अब्राहम लिंकनजस्तै
लोकतान्त्रिक चरित्रको देखिए पनि
भित्री रूपमा नियालेर हेर्ने नै हो भनेदेखि
बंकरभित्र लुकेर बसिरहेको हिटलरजस्तै
बनिसकेका छौ– तिमी नितान्त एक्लो र बेवारिसे !

प्रिय दुस्मन !
पहिलोपटक झट्ट हेर्दै गर्दा तिमीलाई
हिउँद सकिएपछिको हुरीबतासजस्तै
जीवन्त र गतिशील रहेझैं देखिए पनि
राम्रोसँग नियालेर हेर्ने नै हो भनेदेखि
तिमी अहिलेसम्म जिउँदै भएर पनि फेरि
केवल जिउँदो शवजस्तै बनेर बाँचिरहेको
निर्जीव मानवाकृति बनेका छौ– यतिबेला !

प्रिय दुस्मन !
जहिले, जहाँ, जोसँग पनि तिमी
हुरी–बताससँगै हल्लिरहेको पातझैं
केवल अर्थहीन संवादहरूको भुमरीमा
रुमलिइरहेका हुन्छौ– संवादहीनताभित्रै !

दुनियाँको कानका कीराहरूलाई काँचै खाइदिने
हल्लैहल्लाले भरिएको एकलासको मौनताभित्र
गुन्द्रुकजस्तै गुम्सिएर बसिरहेका छौ– वर्षौंदेखि !

प्रिय दुस्मन !
जुन बेलादेखि सजिलैसँग तिमीले
छोडिदिएका थियौ– स्वीकार गर्नै
आफूबाहेक अरू सबैको अस्तित्व
हो, त्यतिबेलैदेखि भइरहेको छ– क्रमशः
तिम्रो अतिरिक्त अस्तित्वको अमूर्त अवशान !

त्यही दिनदेखि हराउँदै गइरहेको छ
तिम्रो धुर्त अनुहारको अमूर्त आकृति
हरेक पल क्रमशः धुमिल भइरहेको छ
तिम्रो आफ्नै लेखकीय पृथक पहिचान !

प्रिय दुस्मन !
बाहिरी स्वरूपमा झट्ट हेर्दै गर्दा
पूरै डढेका खस्रा, बासी रोटीहरू खाएर
चाहिनेभन्दा बढी चिल्लो घसिएका कुराहरू
एकाबिहानैदेखि गरिरहेको देखिए पनि
आवरण पृष्ठमा जस्तो लेखिए पनि
भित्री रूपमा नियालेर हेर्दा
तिमी निकै निरस–निरस छौ !

बाहिरी स्वरूपमा झट्ट हेर्दै गर्दा
स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न
देखिए पनि स्वीट्जरल्यान्डजस्तै
भित्री रूपमा पराधीन र पराश्रित छौ– तिमी
ठ्याक्कै अहिलेसम्मको अफगानिस्तानजस्तै !

प्रिय दुस्मन !
कहिले साहित्यको फाँटमा बाढी बनेर पसिरहेका हुन्छौ
कहिले सिर्जनाको पाखोमा पहिरो बनेर खसिरहेका हुन्छौ
कहिले कसैको जीवनमा भुइँचालो बनेर गइरहेका हुन्छौ
कहिले कसैको छोटो जीवनयात्राको निकै साँघुरो गोरेटोमा अकल्पनीय पीडादायी शोकको घडी बनेर आइरहेका हुन्छौ
भुइँमान्छेहरूको नाममात्रैको नाथे जिन्दगीको आकाशमा
कहिल्यै नवर्षिने दुःखको बादल बनेर छाइरहेका हुन्छौ
दिनहुँ कसैको अकाल मृत्युको काट्टो खाइरहेका हुन्छौ
र, अविरल आँसुको सितन बनाएर अघाइरहेका हुन्छौ
ऋरूको वर्तमान समयलाई चीरनिद्रामा सुताइदिएर
स्वयम् आफ्नै सुनौलो भविष्यको सुनिश्चितताका लागि
बेला न कुबेला विगतको विरासतलाई बारम्बार व्युँझाएर
तथाकथित अलिखित इतिहासको लोरी गाइरहेका हुन्छौ !

प्रिय दुस्मन !
तिमी आफैं सिर्जनशील मान्छे भएर पनि
सहृदयी सिर्जनशील प्रिय मान्छेहरूकै लागि
अत्यन्तै खतरनाक बनिरहेका हुन्छौ
आफ्नो आलोचना गर्नेहरूलाई त
चाहेर पनि फेरि उठ्नै नसक्नेगरी
जरैदेखि उखेलिदिएर सधैंका लागि
समयमै सिध्याइदिनुपर्छ भनिरहेका हुन्छौ
आलोचकहरूलाई जिउँदै जलाउने ध्याउन्नमा
आफैंलाई गाड्ने गहिरो खाडल खनिरहेका हुन्छौ
आजीवन अरूको अकाल मृत्युको कामना गर्दै बिताएर
धारेहात लगाउँदै आफ्नै आखिरी दिनहरू गनिरहेका हुन्छौ !

प्रिय दुस्मन !
कृपा गरेर अब तिमी कहिल्यै
अरू कसैको पनि नजिक नजाऊ !

किनकि
उहिलेदेखि तिमीले अरू कोही कसैलाई
देख्नै सकिरहेका छैनौ– अहिलेसम्म पनि
र त, लेख्नै सकिरहेका छैनौ– जीवन्त दर्शन
ऋरू सबैलाई ओझेलमै पार्छु भन्ने ध्याउन्नमा
क्रमशः छायाँमा पर्दै गइरहेका छौ– दिनहुँ आफैं
भेटाइरहेका छौ– अन्धभक्त भजनमण्डलीहरूलाई
र, मेटाइरहेका छौ– स्वर्णिम अक्षरहरूमा लेखिएको
आफ्नै अद्वितीय इतिहासको अतिरिक्त अभिलेख !

–करादीखोला, स्याङ्जा ।

प्रतिक्रिया दिनुहोस्