संवत् २०६९ भदौदेखि नेकपा–माओवादी पार्टीमा जोडिएँ । पार्टीले किरात राज्य समिति सदस्यको जिम्मेवारी दियो । त्यतिबेला खोटाङमा दुई निर्वाचन क्षेत्र थियो । १ नम्बर निर्वाचन क्षेत्रको पार्टी संयोजक/इन्चार्ज म (सोनाम सज्जन किराती) थिएँ । २ नम्बरमा गोविन्द चौलागाईं ‘सुनील’ले संयोजक/इन्चार्जको जिम्मेवारी पाए । कमरेड सुनील जिल्ला सेक्रेटरी पनि हुन् । १ नम्बर क्षेत्रमा रावाखोला र हलेसी क्षेत्रमा वैद्य माओवादीको संगठन निर्माण हुँदै थियो ।
वैद्य माओवादीले दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरिसकेको थियो । छुटेकालाई दृष्टिगत गर्दै मतदाता नामावली संकलन कार्यक्रम सुरु भइसकेको थियो । मतदाता नामावली संकलन रोक्न असफल प्रयास गर्यौं । निर्वाचन नजिकिँदै थियो । हामीले किरात राज्य र जिल्ला–जिल्लामा जिल्ला कमिटी बैठक सकेर कार्यक्षेत्रमा खटिएका थियौं ।
सोलुखुम्बु र खोटाङका वैद्य माओवादीबीच रावाखोलाको डुम्रेमा रहेको गणेश घिमिरेको घरमा जमघट गर्ने प्रबन्ध मिलाएका थियौं । राज्यले वैद्य माओवादीलाई प्रतिबन्ध लगाइसकेको थियो । प्रतिबन्धित पार्टीले भूमिगत रूपमा गतिविधि गर्नुपर्ने बाध्यता थियो । सुरक्षालाई दृष्टिगत गर्दै सोलुखुम्बुबाट आएको पार्टीसम्बद्ध कमरेडहरू सामान लिएर फर्केछन् ।
हामी ज्यामिरेतिर लाग्यौं । रातारात ज्यामिरेका युवा नेता रमेश राईको घर पुग्यौं । किरात राज्य सेक्रेटरी दीपेश, पार्टी पीबीएम ध्रुव बुढाथोकी ‘धिरन’लगायत नेता पहिल्यै पुगिसकेका रहेछन् । कमरेड उत्तर, शुभ, मलगायत केही साथी अलि पछि पुग्यौं । घरभन्दा अलि पर मतानमा बसिरहेका थियौं । अनौपचारिक छलफल चलिरहेकै थियो ।
खाना तयार भएको जानकारी प्राप्त भयो । दुई समूहमा खाना खानुपर्ने थियो । धिरन र म अन्तिममा खाना खाने सल्लाह गर्यौं । पहिले खाने कमरेडहरूले सके । हामी दुई खाना खान गयौं । रमेशजीको परिवारसँगै हामीले खाना खाँदै गर्दा घरको आँगनमा पाँच/सातजना मानिस हामफाले । हामी (वैद्य माओवादी)माथि सुरक्षाकर्मीले निगरानी थालिसकेको थियो । हामीले चार–चार गाँसमात्रै खाना खाइसकेका थियौं । पानी लिन बाहिर निस्केकी रमेशजीकी श्रीमती आत्तिँदै घरभित्र पसेर भनिन्, ‘पुलिस आयो । पुलिस ।’ हामी झ्यालबाट बाहिरिँदै मतानमा बसेका साथीलाई सुरक्षाकर्मी आएको जानकारी गरायौं ।
के भयो ? के भयो ? सोनामजी मतानमा रहेका कमरेडहरूले सोधे । मैले जुत्ता खोज्दै सुनाएँ, ‘सुरक्षाकर्मी आयो ।’ उत्तर सुनेपछि कमरेडहरू हतार–हतार सुइँकुच्चा ठोके । म र उत्तर कमरेडचाहिँ गाईगोठको मलखाडमै रहेछौं । हामी दुवैले मलखाडबाट हामफाल्न आँट गरेनौ । अन्य कमरेडहरू हामीभन्दा दुई सय मिटर तल पुगिसकेका थिए । डरलाग्दो पहिरो भएकाले उनीहरूसमेत त्यहाँबाट अघि बढ्न सकेका थिएनन् ।
‘उँधो होइन,’ रमेशजीले सुझाए, ‘गाईगोठदेखि तेर्साे लाग्नुपर्छ ।’ पहिरोमै पुगेकाहरू झन् आत्तिए । त्यतिखेरै म्याडम (रमेशकी श्रीमती)ले रमेशजीलाई जानकारी गराइन्, ‘पुलिस होइन रहेछ । जीवन सरहरू पो हुनुहुँदोरहेछ ।’ मानिस ठम्याउन नसक्दा रातबिरात आत्तिँदै भागदौड गरेको हिजैजस्तो लाग्छ ।
अन्ततः हामी सबै फेरि जम्मा भयौं । जम्मा भएपछि कमरेड उत्तरले दुईजना भूपू ब्रिगेडियरसँग ठट्टा गरे, ‘तपाईंहरूको सैन्य विज्ञताले कसरी ब्रिगेड कमान्डर बन्नु भयो हौ ?’ भूपू ब्रिगेडियरद्वयले उल्टै प्रश्न गरे, ‘तपाईंहरू पनि साथी र प्रहरीसमेत चिन्न नसक्ने ?’ धिरन र म सवाल–जवाफ सुनिरह्यौं ।
कमरेड दीपेशले पनि आफ्नो कुरा राखे । भनाइ सुन्दा उनले निकै सास्ती पाएका थिए । ‘साथीहरूलाई सम्पर्कमा बोलाइएको रहेछ । यो त हामीलाई जानकारी थिएन नि,’ उत्तरको तर्क थियो, ‘कमान्डर भएपछि हाम्रा साथीहरू पो हुन् कि भनेर सोच्नुपथ्र्याे कि पर्दैन ?’ दीपेश चुपचाप ।
रातिको बैठकपछि युद्धसामग्री (बम बनाउन अवाश्यक सामग्री) वितरण गर्यौं । भोलिपल्ट दिनभर सुतली बम बनायौं । त्यसपछि आ–आफ्नो कार्यक्षेत्रतिर लाग्यौं ।
वैद्य माओवादीकै कार्यकर्ता भएर खोटाङमा दुई वर्ष बिताएँ । ०७१ काठमाडौं पसें । काठमाडौं पसेपछि नेकपा–माओवादीकै नेवाः राज्य समिति सदस्य थिएँ ।
संवत् ०७४ भदौमा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादीबाट राजीनामा दिएर कमरेड उत्तर, शुभचन्द्र राई र पंक्तिकारसहितको समूहले पार्टीको नवगठित मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चासहित संसदीय चुनावमा सहभागी हुने भएपछि भदौमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एकीकृत नेकपा माओवादी पार्टीसँग एकता बैठक गर्न खोटाङको लिच्कीराम्चे अर्थात् नायक नवल खड्का र गायिका सत्यकला राईको गाउँ पुग्यौं । पार्टी एकतापछि खोटाङ जिल्ला सचिवालय सदस्यको भूमिका पाएँ । कार्यक्षेत्र खोटाङ भए पनि बसाइ काठमाडौं थियो ।
त्यतिबेलै एकीकृत नेकपा माओवादी र एमालेले चुनावी कार्यगत एकता गर्दै पार्टी एकतासम्म गर्यो । त्यसपछि पंक्तिकार पार्टीको कुनै भूमिकामा छैनन् । केवल माओवादीको मतदाताबाहेक ।