‘सर्टिफिकेट छ डिग्री पासको
न त गासको न टुंगो बासको
मैले के गरेर खाम
देशमै भोकै बसम् कि
खाडीतिर पसम् कि
सरकार ! लौन निधो पाम…’ –(पुरुष)
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण झिक्न गएका युवा र बैंकका कर्मचारीबीचको संवादबाट उठान भएको गीत ‘सरकार ! के गरेर खाम’को पहिलो तुक्का हो, यो । बैंकले ऋण नपत्याएपछि ती बेरोजगार युवा सरकारसामु प्रश्न गर्छन् ।
‘पढेकी हुँ बेचेर खेतबारी
अहिले खान पुग्दैन पेटभरि
मैले के गरेर खाम…’ –(महिला)
सर्टिफिकेट राखेर ऋण झिक्न पाइने सरकारी निर्णय सुनेर बैंकमा पुगेका युवालाई कर्मचारीले धितो÷आयस्रोत नभई ऋण दिन नसिकने भन्दै रित्तो हात फर्काउँछन् । उल्टै सरकारसँग गएर ऋण माग्नु भनेर रुखो जवाफ लगाउँछन् ।
गीतमा प्रयुक्त संवादले शैक्षिक कर्जा कार्यान्वयनमा देखिएको सकसलाई समेत दर्शाउँछ । यसरी देशमै स्वरोजगार बन्नबाट वञ्चित शिक्षित युवाको मनोदशा र त्यसले उब्जाएका प्रश्न गीतमा मुखरित छन् । गीतको रचनागर्भ पनि यही हो ।
सिर्जना गर्दा जहिल्यै जनजीवनका मुद्दा रोज्ने लोकगायक विष्णु खत्री र गायिका सजना बास्तोलाद्वारा स्वरबद्ध यस गीत युट्युबमा सार्वजनिक भएको छ । ‘विष्णु खत्री’ युट्युब च्यानलबाट सार्वजनिक गीतको म्युजिक भिडियोले ‘भ्युज’ पनि बटुल्दै छ ।
सर्जक तथा गायक खत्रीले गीतमार्फत नेपालमा व्याप्त शैक्षिक बेरोजगारी समस्या उजागर गर्न खोजिएको बताए । ‘नागरिकलाई गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारी दिलाउनु सरकारको दायित्व हो,’ उनले भने, ‘यिनै मुद्दामा गीत लक्षित छ । कोही बेरोजगार नहोस्, उत्पीडनमा पर्नु नपरोस्, राज्यले अभिभावकत्व लिइदिओस् ।’
स्वदेशमा रोजगारी अभावले अहिले पनि दैनिक सयौं नेपाली युवा विदेश भौंतारिनुपर्ने स्थिति छ । शैक्षिक जनशक्ति पलायन पनि उत्तिकै छ । समृद्ध, समुन्नत र न्यायपूर्ण समाज र देश निर्माणमा पनि गीतले सिर्जनात्मक खबरदारी गरेको लोकगायक खत्रीले सुनाए ।
म्युजिक भिडियोमा कलाकार विनोद न्यौपाने र जुना सुन्दासले गरेको अभिनयले गीतबाट दिन खोजेको सन्देश सरल तर कलात्मक ढंगले प्रस्तुत गरेको छ । लोकसंगीत क्षेत्रका चर्चित गायक÷सर्जक खत्रीका यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित कैयन गीत सार्वजनिक भइसकेका छन् । उनका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि सास चाहियो, कि लास चाहियो’, ‘जम्मु कस्मिरमा’, ‘किसानी दाइ’, ‘आमा म मरेको छैन’लगायतका गीत श्रोता÷दर्शकमाझ लोकप्रिय छन् ।
जिल्लाको गलकोट नगरपालिका–७ मल्म बागलुङमा जन्मेका खत्री दुई दशकदेखि लोकसंगीतमा सक्रिय छन् ।