राष्ट्रगान लेखक व्याकुल माइलाले लेखेको नगरगान अस्वीकृत



दुर्छिम (खोटाङ) ।  राष्ट्रगान लेखक प्रदीपकुमार राई (व्याकुल माइला)ले लेखेको नगरगान अस्वीकृत भएको छ । राष्ट्रगान लेखक माइलाले हलेसी तुवाचुङ नगरपालिकाका लागि लेखेको नगरगान अस्वीकृत भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका सांस्कृतिक नगर हो । सांस्कृतिक नगरको संस्कृति, प्रकृति र इतिहास अध्ययन नगरी नगरगान लेख्न हुँदैनथ्यो । यहाँको संस्कृति, प्रकृति र इतिहास अध्ययन नगरी लेखिएकाले व्याकुल माइलाले लेखेको नगरगान अस्वीकृत भएको धेरैको ठम्याइ छ ।

राष्ट्रगान लेखकले लेखेको नगरगान अस्वीकृत भएको थाहा पाउनेले मिश्रित प्रतिक्रिया दिएका छन् । राष्ट्रगान लेखिसकेकाले नगरगान लेख्नु अस्वाभाविक होइन,’ नेपाल प्रज्ञाप्रतिष्ठान प्राज्ञपरिषद् सदस्य राजन मुकारुङ भन्छन्, ‘तर, उहाँले लेखेको नगरगान अस्वीकृत हुनु भनेको सिर्जनशील क्षमतामा कमजोरी देखिनु हो ।’

पत्रकार रमन पौडेलको मत फरक छ । ‘राष्ट्रगान लेखकले कानुनी रूपमा नगरगान लेख्न हुन्छ,’ पत्रकार पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर, नैतिक रूपमा हुँदैन ।’

राष्ट्रगान ठूलो र नगरगान सानो भन्ने हुँदैन । मुलुकमा तीन तहको सरकार छ । त्यसमध्ये स्थानीय तह पनि त्यत्तिकै शक्तिशाली मानिन्छ । तर, राष्ट्रगान लेखकले लेखेको नगरगान अस्वीकृत हुनु भनेको सर्जकको सिर्जनामाथिको गम्भीर समस्या हो ।

सरकारले राष्ट्रगान लेखकलाई निर्वाह भत्तासमेत दिँदै आएको छ । ‘राष्ट्रगान लेखकले नगरगान लेख्न लोभ नगरे हुने,’ कवि खुक्सङ खम्बूको बुझाइ छ, ‘लोभ गरिहालेपछि स्वीकृत हुनेगरी स्तरीय नगरगान लेख्न सक्नुपर्थ्यो । उहाँले लेखेको नगरगान अस्वीकृत हुँदा उहाँमात्रै होइन, सारा नेपालीको बेइज्जति भयो ।’

व्याकुल माइलाले लेखेको राष्ट्रगान पटक–पटकको पुनर्लेखन गरिएको राष्ट्रगान छनोट समितिसम्बद्धले सुनाउँदै आएका छन् । नगरगान लेख्दा उनले त्यस्तो सुविधा पाएनन् होला । ‘जेमा पनि लोभ गर्न हुँदैनथ्यो,’ पत्रकार कुम्भराज राईले फेसबुकमार्फत सुझाए, ‘जोकोहीले आफैंलाई सबैभन्दा धेरै चिन्न सक्नुपर्छ ।’

हुन पनि हो । जोकोहीले आफ्नो हैसियत कायम गर्न धैर्य गर्नुपर्छ । ‘म नगरगान लेख्दिनँ । अरूले अवसर पाउनुपर्छ भनेर उदार हुनुपर्थ्यो,’ कवि तथा लेखक अभय श्रेष्ठले थपे, ‘त्यसो भन्दा राष्ट्रगान लेखकको उचाइ कायम रहन्थ्यो ।’

नगरगान भनेको सम्बन्धित नगरपालिकाको गौरवगान हो । राष्ट्रगान लेखकले लेखेको नगरगानमा त्यस्तो चित्रण नभएपछि उनी आलोचित भएका छन् । ‘आफ्नो उचाइ आफैंले चिन्नुपर्छ,’ शिक्षक शम्भुराज घिमिरेले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय टिमका खेलाडीले भाले गेम किन खेल्नु ? हार्दा पनि लाज । जित्दा पनि उत्साह नहुने ?’

पत्रकार देवराज पुमा राईले फेसबुकमा आलोचना गरेका छन्, ‘आफैंलाई बिर्सनेगरी व्याकुल माइलाले चकचक गरेको देख्दा समेत अचम्म लाग्छ ।’ हलेसी तुवाचुङ नगरपालिकाका लागि लेखिएको नगरगान पढेपछि कतिपयले राष्ट्रगान लेखकलाई बालकवि भनेर व्यंग्य गरेका छन् ।

नगरगान अस्वीकृत भएपछि चौतर्फी आलोचित व्याकुल माइलाले आफूलाई संगीतकार शान्तिराम राईले डुबाएको टेलिफोनमा जिकिर गरे । संगीतकारले डुबाएकै हो भने पनि अरूले डुबाउन खोज्दा डुब्न खोज्नु मूर्खता हो कि होइन ?

संगीतकार राई माइलासँग सहमत छैनन् । ‘मैले राष्ट्रगान लेखकलाई किन डुबाउनु ?,’ उनको तर्क छ, ‘राष्ट्रगान लेखकले लेखेको नगरगान उत्कृष्ट हुन्छ भनेर लेख्न अनुरोध गर्यौं । दुर्भाग्य उहाँले लेखेको नगरगान बलियो भएन । छनोट भएन ।’

राष्ट्रगान लेखकले लेखेको नगरगान अस्वीकृत भएपछि हलेसी तुवाचुङ नगरपालिकाका पूर्वमेयर इवन राईले लेखेको नगरगान छनोट गरी रेकर्ड गरिएको संगीतकार शान्तिराम राईले जानकारी गराए । २ मिनेट ३० सेकेन्डको नगरगान पूर्वमेयर इवन राईकै कार्यकालमा २०७७ सालको नगरसभाबाट पारित गरी प्रसारणमा ल्याइएको छ ।

(२०८० साउन २२ गते सामान्य सम्पादन गरिएको ।)

प्रतिक्रिया दिनुहोस्