दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रूपेन्द्रकुमार राईले सपथ खाएकै दिन रामकुमार राईको नाता प्रमाणित गर्दै वडाका कामको खाता खोलेका छन् ।
नवनिर्वाचित वडाध्यक्ष राईले जेठ ९ गते पद तथा गोपनीयताको सपथ लिएकै दिन रातमाटेका ज्ञानसेर राईको नाति, दयन राईको छोरो रामकुमार राईको नाता प्रमाणित गरेका थिए ।
‘म सधैं वडावासीको सेवामा तल्लीन रहन्छु । वडावासीको दुःख तथा समस्यालाई आफ्नै ठानेर समाधान गर्ने प्रयत्न गर्नेछु,’ वडाध्यक्ष राईले भने, ‘वडाका शिक्षा, स्वास्थ्य, खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्नेछु । त्यसका लागि पहिले आफू आफ्नो पदीय हैसियतअनुसारको अनुशासनमा रही कर्मचारीलाई समेत सोही दायरामा राखी आजकै दिनदेखि सेवा प्रवाह गर्न निर्देशन दिन्छु ।’
पूर्ववडाध्यक्ष रमेश तिवारीले नवनिर्वाचित वडाध्यक्ष रूपेन्द्रकुमार राईलगायत सम्पूर्ण सदस्यलाई बधाइ दिँदै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।