माओवादी खोटाङको १ नम्बर एरियामा सल्ले, लामिडाँडा, खार्पा, कुभिन्डे, हौंचुर, जालपा, खार्मी र पाथेका पथ्र्यो । १ नम्बर एरिया इन्चार्ज लीला श्रेष्ठ ‘सविन’ थिए । उनी लोकप्रिय, मिजासिला र जनताका असल साथी मानिन्थे । युवराम राई ‘सन्देश’ एरिया सेक्रेटरी थिए ।लक्ष्मण राई ‘सागर’ कमान्ड कार्यालय स्टाफ र विशेष जिल्लाअन्तर्गत एरिया सेक्रेटरी नै थिए । रावापारिलाई विशेष जिल्ला तोकिएको थियो ।
हलेसी क्षेत्रबाट माओवादीमा सबैभन्दा पहिले युवराम राई ‘सन्देश’ (दुर्छिम) र लक्ष्मण राई ‘सागर’ (च्यास्मिटार) हिँडेका थिए । सन्देश र सागर क्षमताका हिसाबले अब्बल मानिन्थे । पार्टीले उनीहरूको मूल्यांकन गर्न सकेन ।
रावावारि साबिक सबै गाउँ विकास समिति खोटाङ थियो । खोटाङमा जनज्योति सांस्कृतिक परिवार (कलाकार) संगठित थियोे । कमान्डर संगीता राई थिइन् । सहकमान्डर रमेश बस्नेत ‘देवी’ थिए । उर्मिला, नमुना, रिदम्मा, सञ्जीव, भूकम्प, जितेन्द्रलगायत नौजना कलाकार र एरिया जनवर्गीय संगठनका टिमसहित २७ जना सल्ले पुगेका थियौं । दुस्मनको प्रतिकूल भूगोल भएकाले जनता माध्यमिक विद्यालय सल्लेमा आमसभा गर्ने पूर्वयोजना थियो ।
२७ जनाले एकै घरमा खाना खाँदा सम्बन्धित परिवारलाई भार पर्ने भएकाले हामी चार समूहमा विभाजित भयौं । खाना खाएर कलाकार टोली बसिरहेको सेल्टरमा जम्मा हुँदै थियौं । ‘तिमेरूको चालामाला के हो ? खाना खान दियौं । आराम गर्न ठाउँ दियौं,’ एक्कासि हजुरआमा चिच्याइन्, ‘त्यतिले मात्रै पुगेन ? दुनियाँले रमिता देख्नेगरी केटा र केटीलाई एकैठाउँ सुत्न पनि दिनुपर्ने ?’
हजुरआमाले आरोप लगाएपछि केटा र केटी एकैठाउँ सुत्ने को रहेछन् भनेर खोजतलास गर्न थाल्यौं । तर, कोही भेटिएनन् । त्यसपछि कमान्डरले हजुरआमालाई बोलाएर कहाँ सुतेका छन् भनेर सोधे । हजुरआमाले कोठा देखाइन् । जहाँ कमरेड संगीता र नमुना सुतिराखेका थिए । संगीता कमरेडले कपाल काटेकी थिइन् । उनको अनुहार पुरुषजस्तै देखिन्थ्यो । त्यसमाथि कपाल काटिएको । उनको अनुहार हेर्दा १७/१८ वर्षका भाइजस्तै देखिन्थ्यो । संगीताको अनुहार र कपालले झुक्याउँदा हजुरआमालाई केटा र केटी एकैठाउँ सुतेजस्तो लाग्यो । नमुनाको लामो कपाल । संगीताचाहिँ सर्ट, पाइन्ट लगाउँथिन् । तसर्थ, उनले जोकोहीले पुरुष भन्थे । पंक्तिकारले समेत धितुङमा भेट्दा संगीतालाई भाइ भनेर सम्बोधन गरेका थिए । कमान्डरसहित कोठामा पुगेकी हजुरआमालाई संगीता र नमुनाले हामी दुवै छोरी हौं है भनेपछि वास्तविकता थाहा भयो । आँगनमा आएर हजुरआमाले हाँस्दै भनिन्, ‘मोरीहरू पो रहिछन् ।’
घर बिदामा गएका जनमुक्ति सेना शिवचन्द्र राई ‘क्षितिज’ र हविन राई ‘भीम’ भेट्न जीवन राई ‘संगीन’ र पंक्तिकार सल्लेबाट दुर्छिम पुग्यौं । त्यसबखत दुर्छिम ३ नम्बर एरियामा पर्थ्यो । हलेसी क्षेत्रलाई कहिले २, कहिले ३ त कहिले ७ नम्बर एरियामा पारिएको थियो । हामी साबिक दुर्छिम गाविस कार्यालय भवनको बरपीपल पुग्यौं । त्यहाँ शिवचन्द्र र हविन उपस्थित थिए । एरिया जनमिलिसियाले दुवैलाई उपस्थित गराउन सहयोग गरेका थिए ।
क्षितिज र भीम बिदाको समयावधि सकिए पनि पार्टी सम्पर्कमा गएनन् । जनमुक्ति सेनाले दुवैलाई भेटेर जनसेनाको सम्पर्कमा पठाउन जिल्ला पार्टी कार्यालयलाई जिम्मेवारी दिएको थियो । जिल्ला पार्टीले एरियालाई निर्देशन दिएको रहेछ । २ नम्बर एरिया सेक्रेटरी संगीन र पंक्तिकार दुर्छिम पुग्यौं । संगीनले दुवैलाई सन्चो बिसन्चोको खबर सोधे । घरपरिवारबारे जानकारी लिए । क्षितिज र भीमले सब ठीकठाक रहेको उत्तर दिए ।
प्रसंग मोडियो । ‘पार्टीले तपाईंहरूलाई भेटेर जनसेनाको सम्पर्कमा पठाउन भनेको छ,’ संगीनले प्रश्न गरे, ‘जनसेनाको सम्पर्कमा पठाउनू भन्ने चिट्ठी आएकाले तपाईंहरुलाई भेट्न आएका हौं । कहिले जानुहुन्छ ?’ भीम बोल्दैन बोलनन् । क्षितिजले हामी दुवैजना जाँदैनौ भने ।
‘तपाईहरु आबद्ध कम्पनीले जसरी हुन्छ, पठाउनू भनेको छ,’ संगीनले थपे, ‘तपाईंहरुलाई बाटो खर्चसमेत व्यवस्था गरेका छौं ।’ भीमलाई फेरि उही प्रश्न सोधियो । उनले क्षितिज हिँडेमात्रै आफू जाने उत्तर दिए । छिक्षिज सेक्सन कमान्डर थिए । क्षितिजले जनसेनामा नजाने, हलो जोतेर घरै बस्ने तर्क गरे । त्यसो भनेपछि संगीनले क्षितिजलाई समातेर गलामा थप्पड हाने । उनी घुत्रुक्कै पछारिए । उस्तै उत्तर दिएपछि भीमले पनि चड्कन भेटे । संगीनले गाला फुट्नेगरी पड्काएपछि भीम पनि भुइँमा लडे । त्यसपछि दुवैले जान्छौं भने । दुवैलाई सम्पर्कमा पठाउन बेलुका सँगै राख्यौं । हामी सल्लेनी डिकबहादुर राउतको बुवाआमाको घरमा बास बस्ने भयौं । रात परिसकेको थियोे । पिसाब गर्ने बहानामा क्षितिज भागे । लगत्तै उनकै घर हलेसी तुवाचुङ नगरपालिका–५, हात्तीढुंगे दुर्छिममा रातभर घेरा हाल्यौं । उज्यालो हुँदासम्म उनी बाहिर निस्केनन् । घरमा क्षितिजको भाइमात्रै रहेछन् ।
क्षितिज भागेपछि हविन राई ‘भीम’मात्रै जनमुक्ति सेनाको फर्मेसनमा लागे । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, कोटगैरा खोटाङनिवासी उनले र थुप्रै मोर्चाबन्दी युद्ध लडे । अन्ततः उदयपुर गाईखुर भिडन्तमा कमरेड भीम ढले । हिजोआज माओवादीले शिवचन्द्र राईलाई कायर, गद्दार भन्छन् भने भीमलाई जनताको मनमनमा बाँचिरहने सहिद भनेर पुकार्छन् ।
(लेखक सोनाम सज्जन किरातीको प्रकाशोन्मुख कृति ‘जनयुद्धमा बितेको पल’को अंशबाट ।)