निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यले ५ हजार घुस लिएको प्रमाणित



खोटाङ । ‘घुस लिन्या र दिन्या दुवै मुलुकका वैरी हुन्’ भन्ने पृथ्वीनारायण शाहको दिव्योपदेश हिजोआज पनि त्यत्तिकै सान्दर्भिक छ । त्यतिबेलामात्रै होइन, हिजोआज पनि घुस लिने र दिने प्रचलनलाई मलजल गर्नेको कमी छैन ।

घुस लिनेले लिइरहेका छन् । दिनेले दिइरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रतिनिधिद्वारा घुससहित रंगेहात पक्राउ भन्ने समाचार पनि प्रकाशन तथा प्रसारण भइरहेकै छन् ।

त्यसैले भनिएको होला, ‘माछाले पानी र कर्मचारीले घुस कतिबेला खान्छन् भनेर खुट्ट्याउन सकिँदैन ।’ माछाले पानी खाएको थाहा नपाइए पनि कतिपय अवस्थामा कर्मचारीले घुस खाएको पत्ता लागिहाल्दोरहेछ ।

हलेसी तुवाचुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्यले मंगलटारको एक निर्माण उपभोक्ता समिति अध्यक्षबाट पाँच हजार रुपैयाँ शुभलाभ गरेको खुलासा भएको छ । भदौरे–मूलघाट सडक निर्माण उपभोक्ता समिति अध्यक्ष कृष्णकुमार बस्नेतबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यले पाँच हजार रुपैयाँ शुभलाभ गरेका हुन् ।

‘मैले पाँच हजार रुपैयाँ नगरका एक कर्मचारीमार्फत रवि सरलाई उपलब्ध गराएको हुँ,’ भदौरे–मूलघाट सडक निर्माण उपभोक्ता समिति अध्यक्ष बस्नेतले वडावासीसँग गरेको अडियोमा सुन्न सकिन्छ, ‘सर, अस्ति बोलेको कुरा कता दिनू भन्दा फलानालाई दिइराख्नु न भन्ने सुनिन्छ । मैले रुद्रेको पसलमा लगिवरी दिएको हुँ । उनलाई चिया पसलमा हिँड्नु न भनेर दिएको थिएँ ।’

रविकिरण आचार्यलाई हात लगाइदिन तपाईंले कृष्णकुमार बस्नेतबाट पाँच हजार रुपैयाँ लिएको हो भन्ने प्रश्न सोध्दा नगरका ती कर्मचारीले अस्वीकार गरे ।

हलेसी तुवाचुङ नगरपालिकाका कर्मचारीले तपाईंबाट पाँच हजार रुपैयाँ नलिएको जिकिर गरे त ? भन्ने प्रश्नमा कृष्णकुमार बस्नेत र वडावासीबीच संवादको अडियो क्लिप्समा प्रस्टै सुनिन्छ, ‘कस्तो मुला रहेछ ।’

पाँच हजार रुपैयाँ लिनुभएको समाचार सार्वजनिक हुन लागेछ नि भनेर एक पत्रकारले रविकिरण आचार्यलाई टेलिफोनमा सोधे । ‘होला । त्यस्ता समाचार प्रकाशन तथा प्रसारण भए पनि मलाई कुनै फरक पर्दैन,’ आचार्यले ती पत्रकारसँग धक्कु लगाए, ‘म अझै तीन वर्ष खोटाङमै मज्जाले बस्छु ।’

आठौं तहमा बढुवाका लागि उनले न्वारानदेखिको बल लगाइरहेका छन् भनेर कार्यालयमा चर्चा गरिन्छ । नगरपालिकाका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘बढुवाका लागि सम्बन्धित निकायमा कागजात पेस गरिसकेका छन् । उनी आठौं तहमा बढुवा भएर हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नाम लेखाउने इन्द्रेणी सपना विपनामा परिणत गर्ने ध्याउन्नमा छन् ।’

देखेको सबै सपना पूरा हुन्छन् भन्ने छैन । मनको लड्डु घिउसँग खान बन्देज छैन । तर, उनले दिउँसै देखेको सपना विपनामा परिणत हुन आठौं आश्चर्य हुनुपर्छ । उनलाई नगरको सूचना चुहाएको चर्को आरोप लाग्दै आएको थुप्रै भयो ।

समाचार पुष्टिका लागि आचार्यलाई टेलिफोन गर्दा सम्पर्क हुन सकेन ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यले ५ हजार शुभलाभ गरेको अडियो क्लिप्स तुवाचुङ डटकमसँग सुरक्षित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्