नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टीसम्बद्ध र पार्टीनिकट विभिन्न संगठनका नेता तथा कार्यकर्ताको भेटघाट भइरहनु स्वाभाविकै हो । एउटै पार्टीका विभिन्न ‘फोरम’मा रहेकाले पार्टीका सर्वोच्च नेतासँग भेटघाट गरिरहन्छन् ।
तर, पार्टीका सर्वोच्च नेतासँग भेटघाटको अनुभूति गराई फरक–फरक हुँदोरहेछ । ‘विप्लवसँग भेट्दा मेडिटेसन गरेजत्तिकै आनन्द लाग्छ,’ नेपाल कम्युनिस्ट पार्टीनिकट अनेरास्ववियुु (क्रान्तिकारी) खोटाङ अध्यक्ष निराजन किरातीले सुनाए, ‘सम्बन्धित नेताको क्षमता दृष्टिकोणसँग जोडिँदोरहेछ । महासचिवज्यूको दृष्टिकोण सुनेपछि मलाई त मेडिटेसन गरेजत्तिकै आनन्द अनुभूति हुन्छ ।’
अनेरास्ववियुु (क्रान्तिकारी) केन्द्रीय कमिटीको बैठक रूपन्देहीको बर्दघाटमा थियो । तीनदिने बैठकमा नेकपा महासचिव विप्लव दुई दिनसम्म विद्यार्थीसँगै रहे । ‘त्यसअघि पनि उहाँसँग धेरैपटक भेटघाट भएको थियो,’ अनेरास्ववियुु (क्रान्तिकारी) खोटाङ अध्यक्ष किरातीले थपे, ‘बर्दघाट बैठकमा दुई दिन सँगै बस्यौं । उहाँले समसामयिक राजनीतिक घटना परिघटना, आफ्नो दृष्टिकोण र पार्टी लाइनबारे खुलस्त पार्नुहुँदा मेडिटेसन गरेभन्दा धेरै आनन्द लाग्ने नै भयो ।’
‘पार्टी महासचिवसँग दुई दिन सँगै बस्दा उहाँको हातमा फोरा गएको देखें,’ उनले जानकारी गराए, ‘पार्टीले पछिल्लो समय उत्पादनमा जोड दिएको छ । उहाँले काम राम्रै गर्नुहुँदोरहेछ । नत्र हातमा फोरा नजानुपर्ने । उहाँको हातमा गएको फोरा देख्दा हातपाउ चल्नेजति सबै श्रमजीवी बन्नुपर्छ भन्ने सवक सिकाउँछ ।’
नेकपाले कपिलवस्तुलगायत मुलुकका विभिन्न ठाउँमा ९० बिघामा खेती थालेको छ । जग्गा पार्टीकै हो । घरबार त्यागेर पार्टीमा लागेका कतिपयले आफ्नो नाममा रहेको जग्गा पार्टीलाई सुम्पेको हो । ‘हिजो पार्टीले १ नम्बरमा सहयोग माग्थ्यो । २ नम्बरमा लेभी उठाउँथ्यो । ३ नम्बरमा मात्रै उत्पादनमा जोड दिएको थियो,’ अनेरास्ववियुु (क्रान्तिकारी) खोटाङ, भोजपुर र सोलुखुम्बुको इन्चार्जसमेत रहेको निराजन किरातीको भनाइ छ, ‘अहिलेचाहिँ पार्टीले ठ्याक्कै उल्टो नीति बनाएको छ । १ नम्बरमा उत्पादनमा जोड दिने, २ नम्बर लेभी उठाउने र ३ नम्बरमा मात्रै सहयोग माग्ने । परिवर्तित पार्टी पद्धति महासचिवकै मुखारबिन्दबाट सुन्दा अरूलाई कस्तो लाग्यो, मलाई त मेडिटेसन गरेजत्तिकै आनन्द लाग्यो ।’