कोरोना कहरमा मास्क लगाउने ह्वात्तै बढे । त्यतिबेला मास्क अनिवार्य लगाउन उर्दी गरिएको थियो । अवस्था पनि त्यस्तै । सहर–बजारमात्रै होइन, गाउँघरमा समेत मास्क लगाउनैपथ्र्याे । मास्क नलगाई सरकारी कार्यालय, स्वास्थ्य चौकी पुग्नेलाई फर्काइन्थ्यो वा मास्क लगाएर आउनू भनिन्थ्यो ।
हिजोआज त्यस्तो अवस्था त छैन । तर, मास्क लगाउनेले लगाइरहेका छन् । नलगाउनेलाई कडीकडाउ छैन । धुलो र धुवाँबाट बच्नलाई स्वविवेकलाई मास्क लगाउनेले लगाउन छाडेका छैनन् । ‘मास्क लगाउँदा सुन्दर अनुहार नदेखिएला,’ कवि बुद्धिसागरको भनाइ छ, ‘तर, सुन्दर मन र सुन्दर चेतना मज्जैले देखिन्छ ।’ हुन पनि हो सुन्दर अनुहार देखिनुभन्दा सुन्दर चेतना प्रदर्शन गर्नु महान्ता हो ।
स्वास्थ्य सुरक्षाका लागि मास्क उपयोगी मानिन्छ । महामारीबाट बच्न र बचाउन यसको उपयोगिता शब्दमा वर्णन गर्न कठिन हुन्छ । विभिन्न संक्रमणबाट बच्न कम्तीमा इस्वीपूर्व ६ देखि मास्क प्रयोग हुँदै आएको बताइन्छ ।
‘तेह्रौं शताब्दीमा चीनमा नोकरले स्कार्फले अनुहार ढाक्नुपथ्र्यो,’ मार्कोपोलोले आफ्नो यात्रा वर्णनमा उल्लेख गरेका छन्, ‘सम्राटका लागि तयार खानाको बास्ना र स्वाद अरूको सासका कारण नबिग्रियोस् भनेर कामदारलाई मास्क लगाउन कडा उर्दी गरिएको थियो ।’
पेनाङ मलेसियाका वु लिन तेह नामक वैज्ञानिकले महामारी नियन्त्रणका लागि सन् १८७९ मा फेस मास्क आविष्कार गरेका थिए । वैज्ञानिक तेहले चीनमा महामारी विज्ञका रूपमा काम गरेका थिए ।
कोरोना कहरमा मास्क प्रयोगलाई दृष्टिगत गर्दै धेरैले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति सार्वजनिक गरे । ‘मास्कले कोरोनाबाट मात्रै होइन,’ पत्रकार गीता चिमोरियाको ठम्याइ छ, ‘लाजबाट पनि जोगाउने भो । हितकारी मास्क ।’
एकताका मास्क प्रयोगको बानी बसाउनै मुस्किल पर्यो भन्नेहरूलाई सहज हुँदै गएको छ । नाक, मुख छोपिनेगरी लगाउनुपर्ने भएकाले सुरु–सुरुमा त्यस्तो अनुभूति गर्नु अस्वाभाविक होइन । सास फेर्न गाह्रो हुने भन्दै मास्क प्रयोग गर्न रुचाइएन भनेर समाचार प्रकाशन तथा प्रसारण भएको थियो । ‘बरु कट्टु नलगाउनूस्,’ हलेसी तुवाचुङ नगरपालिका–१०, अर्खौले, खोटाङका गजलकार प्रमोद श्रेष्ठले अनुरोध गरे, ‘तर, मास्क लगाउनूस् ।’
कोरोना कहरमा ‘दुई मिटरको दूरी, मास्क जरुरी’ भन्ने गरिन्थ्यो । त्यस्तो जागरण फैलाउनसम्म फैलाइयो । जुन अति आवश्यक पनि थियो । ‘मचाहिँ कोरोनाबाट बच्न मास्कवादी, विचलनबाट जोगिन माक्र्सवादी,’ पत्रकार खिलबहादुर भण्डारीले सुझाए, ‘मास्क लगाम्, कोरोना भगाम् ।’
मास्कको शाब्दिक अर्थ हुन्छ– ढाकछोप गर्नु अर्थात् लुकाउनु । जसले नाक, मुख मज्जाले छोप्छ । नाक, मुख छोपिएपछि महामारीबाट बच्न धेर–थोर सघाउँछ । धुवाँ, धुलोबाट पनि सकेसम्म बचाउँछ । कोरोना कहरमा मात्रै होइन, अन्य समय पनि मास्क प्रयोग गर्दा लाभै हुन्छ भन्नेको कमी छैन । हितकारी मास्कको चर्चा चुलिएकै बेला पत्रकार गुरुङ सुशान्तले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘कार्ल माक्र्स चल्दै थियो, बीचैमा काल मास्क आइपुग्यो ।’ मास्क आर्जपर्यन्त पनि प्रयोगमै छ ।