माओवादीले माओवादीलाई नचिन्दा हलेसीमा लछारपछार



पार्टी कामको सिलसिलामा मेरो भूमिका सानो । चाहिँदो बोल्ने, हिँड्ने । फुर्सदमा अध्ययन गरेर रमाउने । जनताको समस्या सानै भूमिकामा रहेकाले सुन्नुपथ्र्याे । सुन्ने, बुझ्ने र जनता–जनताबीचको अन्तर्विरोध केलाउनुपर्ने । हामी ठीक ढंगले चलेकै कारण जनताले सकेको काममा चाहिँदो सुरक्षा दिन्थे । खाना दिए । बास दिए । हामीले ज्यादतीविरुद्ध लड्न, उभिन र मार्क्सवादी दृष्टिकोणअनुसार अघि बढ्दै जनतालाई सचेत गरिरह्यौं ।

जनताको रक्षार्थ दुस्मन (तात्कालिक शाही सेना) गाउँ–गाउँमा नछिरोस्, नपुगोस् भनेर हामी माओवादी सदस्यदेखि नेतृत्वसम्म सचेत थियौं । यसरी बस्ने सन्दर्भमा कतिपय साथी माओवादी भएर पनि रुखो भेटिन्थे । म पनि त्यो फन्दामा परेको थिएँ ।

तराईबाट नवीन ढकाल र अर्का एक कमरेड (नाम बिर्सें, विजयखर्क, खोटाङकै थिए । जोसँग शान्ति प्रक्रियापछि लामो समय सँगै काम गर्यौं) थिए । दुई कमरेड दिक्तेल आक्रमण तयारीमा रेक्कीनिम्ति खोटाङ आएका रहेछन् । त्यतिबेला हामी हलेसी बजारमा थियौं । हामी पनि त्यही दिन एरिया पार्टीका सबै शक्ति केन्द्रीकृत भएका थियौं । खोटाङ जिल्ला जनसरकार प्रमुख रत्नकुमार राई ‘दर्शन’को निवासमा दिउँसो १२/१३ जना जमघट भएर छलफल गरिरहेका थियौं । छलफलपहिले बजारको अवस्था बुझ्न, दुस्मन कतैबाट आउलान् कि भनेर चियोचर्चा गर्न हलेसी बजारवरपर यताउता गरिरहेका थियौं ।

कमरेड दर्शनको बाँस र जस्ताले बारिएको एकतले घरमा साथीहरू बसिरहेका थिए । मचाहिँ सय मिटर पश्चिमपट्टि वामपन्थी नेता कमानसिं राईको पुस्तक पसल अघिल्तिर बसेर दुस्मनको चियोचर्चा गरिरहेको थिएँ । आउने–जानेबाट जानकारी लिँदै थिएँ । त्यतिबेलै दुई युवा तडकभडक शैलीमा पश्चिमबाट चनाखो गरी म बसिरहेको ठाउँ आइपुगे । उनीहरूलाई देखेपछि शंका लाग्यो । शंका लाग्नु स्वाभाविकै थियो । मैले तपाईंहरू कहाँबाट आउनुभयो ? भनेर सोधें । मेरो प्रश्नको सहज उत्तर आएन । हलेसी भेगका प्रत्येक घर र व्यक्तिसँग भेट भइरहने भएकाले चिनजान थियो । तर, उनीहरूलाई यस भेगमा नदेखिएको, नभेटिएकोजस्तो लाग्यो । मैले थप सोधखोज गर्नैपर्ने भयो । गरें । ढकालले तँ को होस् र हाम्राबारे सोधखोज गर्छस् ? भनेर रुखो उत्तर दिए । म बसिरहेको थिएँ । जुरुक्क उठें । तिनको हर्कत ठीक लागेन । यिनी पक्कै दुस्मन हुन् भन्ने लाग्यो । मैले फेरि प्रश्न गरें, ‘भन्न मिल्छ होला नि मित्र पुग्नुपर्ने स्थान, लक्ष्य त होला ? कहाँबाट कहाँसम्म हिँड्नुभयो ?’ उनले तँ मुला बाटोमा बसेर हामी हिँडेको, बोलेको, हामी पुग्नुपर्ने ठाउँ सोध्नुपर्ने कारण के छ ? भन्दै मेरो घाँटी अँठ्याउँदै दर्शन कमरेडको घरतिरै घिसारे । उनको कम्मरतिर आँखा लगाएँ । माउजर पेस्तोल बोकेको ठाउँमा भुक्क उठेको थियो । त्यस्तो देखेपछि यिनी दुस्मनै रहेछन् भन्ने पक्का भयो । ‘मेरो घाँटी किन पक्रेको ?,’ म चिच्याउन थालें, ‘ओई हत्यारा तिमीहरू अपराधी हौ ? चिच्याउनुका कारण थियो– नजिकै रहेका साथीहरूले सुनून्, दुस्मन आएको जानकारी पाऊन्, साथीहरू त्यहाँबाट भागून् ।

म ऊबाट र ऊ मबाट जोगिन अनेकन तर्क गरागर भयो । बाटोतिरको हालखबर बुझ्न थप दबाब दिने प्रयत्न गररहें । बाटो छेक्ने कोसिस जारी राखें । उनी बलियोबाङ्गो थिए । म भने १८ वर्षीय फुच्चे । उनले मलाई घाँटीमा समातेर घिसार्दै अघि बढाउन खोज्दै छन् । त्यतिखेरै दर्शन कमरेडको आँगनबाट रमेशकुमार बस्नेत ‘देवी’ निस्के । देवीले नवीनजी लालसलाम भन्दै हात उठाएको देखें । त्यसपछि प्रस्ट भयो दुवैजना हाम्रा मित्र रहेछन् । म जिल्ल परें । यसरी सोधखोज नगरे कुन बेला दुस्मनको फन्दामा परिन्छ भनेर उनीसँग माफी मागें । ‘हो नि,’ उनले भने, ‘सचेत हुनैपर्छ । यो त कर्तव्य हो ।’

यसरी नै दुस्मन र उनका गतिविधि थाहा पाउँथ्यौं । उनीहरूबाट छलिन्थ्यौं । जनताबाट पनि सूचना पाउँथ्यौं । लिन्थ्यौं । दुस्मन एकतिर आए हामी अर्कोतिर छड्किन्थ्यौं । दुस्मनबाट जोगिन्थ्यौं । नवीनजीहरू आन्तरिक योजनामा दिक्तेल आएका रहेछन् । जनमुक्ति सेनाले दिक्तेल हमला गरिसकेपछि मात्रै वास्तविकता थाहा पाएँ । नवीन ढकाल कुशल फौजी कमान्डर हुन् । उनी जनसेनाका कम्पनी भीसी थिए । हिजोआज नेपाल सरकारका नायव सुब्बा छन् ।

प्रतिक्रिया दिनुहोस्