दाम्ली त्यस्तो ठाउँ पनि होइन, जुन ठाउँ पूर्वमा भुम्जु र छोम्पाङबाहेक कतैबाट छलिँदैन । भुम्जु जेठा, दाम्ली माइला र कान्छा झाप्पा जुरेथुम्को । यसरी झरेपछि दुधकोसी र सुनकोसीको संगमस्थल जोर्तीघाट पुगिन्छ । तसर्थ, यसआसपासका भूमिको असाध्यै महत्व छ । वाम्बुले राईहरूले आवाद गरेकाले यहाँको भूमिको मुख्य हकदार उनीहरू बने । राणाकालीन व्यवस्था वरिपरिसम्म उनीहरू राई जिम्दार–जिम्दार्नीका रूपमा चिनिन्थे । जिम्मुवाल शासन पद्धति रहुन्जेल वाम्बुलेहरू राई थिएनन् । स्थानीय पृथिबहादुर परियार भन्छन्, ‘उनीहरूलाई जिम्दारै भनिन्थ्यो ।’
दाम्लीको आफ्नै दुःख छ । पछिल्लो समय यहाँ उत्पादित उत्पादनले अपवादबाहेकलाई खान पुग्दैन । वाम्बुले राई समाज (वाम्रास) केन्द्रीय अध्यक्ष गजुरधन राईको भनाइ छ, ‘एकताका ओखलढुंगाको वाम्द्याल, उँबुतिरकाले दाम्लीको धनीमानीको घरदेखि अन्न बेसाहा गरेर हामीलाई अभिभावकले हुर्काउनुभएको वास्तविकता ताजै छ ।’
‘राभ्वङ्चा, द्वरोङ्चा र बिर्वङ्चाका सन्ततिले भरिएको बस्तीले दाम्लीका उल्लिखित पाछाका वाम्बुले एकाघरे दाजुभाइ हुन्,’ राष्ट्रगान लेखक व्याकुल माइलाको बुझाइ छ, ‘दाम्ली त पहिले (२०७० तिर) पनि आइपुगेकै हुँ । यसपटक भने भिन्न अुनुभूतिसाथ गाउँमा लुकेका रहनसहन, ऐतिहासिक स्थल अवलोकन गर्न पाउँदा छुट्टै आनन्दानुभूति भयो ।’
‘दाम्लीमा दाम्लीमात्रै थिएन, यहाँ ठूलो पोखरी पनि थियो,’ ङाबुचो टंकबहादुर राईले जानकारी गराए, ‘पछिल्लो समय ब्राह्मणको एक छोरी पोखरीमा डुबिन् । उनको ज्यान गयो । शोकमा परेका ब्राह्मणले खोलिपठाएपछि पोखरी सुक्यो ।’
दाम्लीले यो वर्ष होनाहार युवासमेत गुमायो । हीराबहादुर राई मलेसिया, बालकृष्ण राई गाईघाट र निश्चल राईको सिन्धुली बस दुर्घटनामा परी निधन भयो । निश्चललगायतको शोक खेपिरहेको दाम्लीले यसपटक दाम्लीमै वाम्बुले राई समाज वाम्रासको २७ औं स्थापना दिवस र २५ औं वाम्बुले मातृभाषा कविता प्रतियोगिता सम्पन्न गर्ने अठोटसाथ असोज २७ गते निश्चलको सुध्याइँ समारोहमा कविगोष्ठी तयारी समिति दाम्ली घोषणा भयो । प्रेमसुन्दर राईको संयोजकत्वमा गठित समितिले तीव्रतासाथ कवि गोष्ठी तयारी पूरा गर्दै मंसिर २० गते वाम्रास स्थापना र वाम्बुले कवि गोष्ठी सम्पन्न गर्यो ।
उल्लिखित गतिविधिमा पंक्तिकारले अहम् भूमिका खेले । मिलनकान्छा किराती र वाम्रास केन्द्रको भूमिका झन् धेरै छ । यसपटक दाम्लीले वाम्बुले भाषा बिर्सेको हो कि भन्ने आरोप पखाल्ने काम गरेको छ । यो आरोप दाम्लीलाई मात्रै होइन, सिंगो वाम्बुलेमाथि उठेको हो, त्यसको जवाफ दाम्लीले पिलुम्बा शीर्षाकृत कविता रजत कवि गोष्ठी गरेर गतिलो जवाफ फर्काएको छ ।
पिलुम्बाको ‘डेमो’ स्थापना गरी तीन चुलामा अग्नि जलन गरेर प्रमुख अतिथि राष्ट्रगान लेखक प्रदीपकुमार राई ‘व्याकुल माइला’ ले कवि गोष्ठी उद्घाटन गरे । कवि गोष्ठी समन्वय समिति संयोजक मिलनकान्छा किराती, वाम्रास उपाध्यक्ष तथा संस्कृति विभाग प्रमुख गणेश वाम्बुले राई, प्राज्ञ अमर न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, हलेसी तुवाचुङ नगरपालिका प्रमुख बिमला राई, उपप्रमुख रमेश राउत र प्रमुख अतिथि व्याकुल माइलाले मन्तव्य राखेका थिए ।
‘वाम्रासले उठाएको मुद्दा पहिचानको हो । यो मुद्दालाई राज्यले कमजोर बनाउन खोज्छ भने अझ सशक्त बन्दै जान्छ । यसको उदाहरण १ नम्बर प्रदेश किरात प्रदेश नामांकनका लागि भएको संघर्ष हेरे पुग्छ,’ पहिलो चरणको कार्यक्रम बिट मार्दै सभाध्यक्ष गजुरधन राईले उद्घोष गरे, ‘आमवाम्बुले राई भाषा, संस्कार पहिचाननिम्ति २७ वर्षदेखि संगठित रूपमा उभिँदै आएका छन् ।’
दोस्रो चरणको कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान, सहआयोजक, व्यवस्थापक र सञ्चार गृहलाई कदरपत्र हस्तान्तरण गरिएको थियोे । हलेसी तुवाचुङ नगरपालिका–२, दाम्ली, डिकुवालाई वडा कार्यालय भवन निर्माण गर्न जग्गा दान गर्ने विमलकुमार राईलाई डिकुवा– बाहुनीडाँडा सेवा समाज काठमाडौंले प्रमाणपत्रसहित सम्मान गरेको थियोे ।
कवि गोष्ठीको सहआयोजकमा वाम्रास जिल्ला कार्यसमिति खोटाङ, हलेसी तुवाचुङ नगरपालिका र नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौं रहेको थियो भने व्यवस्थापकमा कवि गोष्ठी तयारी समिति दाम्ली, डिकुवा बाहुनीडाँडा सेवा समाज काठमाडौं र जनजागरण झाप्पा युवा क्लब रहेको थियोे ।
मंसिर १९ गते वाम्रास जिल्ला कार्यसमिति खोटाङ पुनर्गठन गरिएको थियो । प्रेमसुन्दर राईको अध्यक्षतामा गठित समितिमा भूमिराज राई (उपाध्यक्ष), तुलाचन राई (सचिव) र कोषाध्यक्षमा अन्जना राईसहित नौ सदस्य रहेका छन् ।
यसैगरी, मंसिर २१ गते गजुरधन राई, व्याकुल माइला, डा. धनप्रसाद सुवेदी, अमर न्यौपाने, नेपाल प्रज्ञाप्रतिष्ठानका कर्मचारी विष्णु अधिकारी, सवारीचालक, गणेश वाम्बुले मिलन कान्छा किरातीसहित २७ जनाले भुम्जु अवलोकन भ्रमण गरेका थिए । अवलोकन भ्रमणमै मिलन कान्छा किरातीको संरक्षकत्वमा हरिकुमार राई अध्यक्ष रहेको ११ सदस्यीय भुम्जु धार्मिक पर्याटकीय संरक्षण समिति गठन गरियो । समितिकै मातहतमा भुम्जुमा २०८२ बाट वाम्बुले राईहरूको महान् चाड ढ्वाङ्कुम मनाउने उद्घोषसहित समाजसेवी विमलकुमार राईको अध्यक्षतामा १३ सदस्यीय उपसमिति गठन गरिएको थियो ।
मंसिर १९, २० र २१ गते वाम्बुले राईहरू दाम्लीमा भेला भए । दाम्लीमा बोलिने वाम्बुले भाषा सिंगो वाम्बुलेहरूको ठेट बोलचालमा आउने भाषाको प्रतिनिधित्व रहेछ भनेर गजुरधन राईले गर्व गरे ।
दाम्ली माध्यमिक विद्यालय प्रांगणमा मंसिर १९ राष्ट्रगान लेखक व्याकुल माइलासँगै विद्यार्थी राष्ट्रगान गाउन पाउँदा असाध्यै गौरवान्वित भए ।