बेहुलीसँगै राजा भागेपछि ढुंगामा परिणत जन्ती


जन्तेढुंगा । तस्बिर : शुभ मुकारुङ ।

जन्तेढुंगा (खोटाङ) ।  किरात राजा सारुक्ली फेदाहाङ फेमा (सुनापातालछेउ) मा राज्य गर्थे । फेङ्मा नाम गरेकी राजाकी छोरी असाध्यै राम्री थिइन् । तसर्थ, सबैले मन पराउँथे । राजाले अरुण प्रदेशका किरात राजा गोल्पालाई छोरी दिए । बिहे पक्का भएपछि गोल्पा राजा जन्ती लिएर सारुक्ली फेदाहाङको दरबार पुगे ।

किराती रीतिरिवाज एवम् संस्कृतिअनुसार बिहे गरिदिन लाग्दा फेङ्माले अस्वीकार गरिन् । ‘म नाच्दै जाँदा जसको हातमा रुमाल फ्याँक्छु,’ फेङ्माले भनिन्, ‘उसैसँग बिहे गर्छु ।’ बेहुलीले गोल्पा राजालाई नै रुमाल फ्याँक्छे भन्ने विश्वास भएकाले शुभकार्यमा भेला भएकाले स्वीकारे । तर, फेङ्माले अर्कै केटाको हातमा रुमाल फ्याँकिन् ।

फेङ्माले पाथिभरा (चिसापानी, खोटाङ) मा आफूले मन पराएको केटासँग बिहे गर्नै लाग्दा रिसले चुर भएका गोल्पा राजाले कम्मरमा भिरेको तरबारले केटाको घाँटी छिनाए । विवाहमण्डप रगताम्य भयो । वीभत्स हत्या हेर्न नसकेपछि बेहुली भागिन् । जन्तीले बेहुली खोजे पनि भेटेनन् ।

बेहुली खोज्दै पाथिभराको शिर पुगेर जन्ती बास बसे । गोल्पा राजाले बेहुलीलाई भानमती (भानुमती) को शिरमा देखे । रात छिप्पिँदै गएकाले त्यो रात त्यहीं बसे । भोलिपल्ट झिसमिसेमै उठेर लोकन्दा, लोकन्दी, भरिया र जन्ती छाडेर बेहुली बसेको ठाउँ पुगी गोल्पा राजा र फेङ्मा रानी गोल्पा राजाको दरबार गए । सबैले उनीहरूलाई पछ्याउँदै गए । त्यो बिहेका सम्पूर्ण गतिविधि सुम्निमा पारुहाङले हिमालय पर्वतबाट नियालिरहेका थिए ।

जन्तेढुंगा । तस्बिर : शुभ मुकारुङ ।

गोल्पा राजाजस्तो बेहुलाले वीभत्स हत्या गर्दै जन्तीलाई छाडेर बेहुली लिएर हिँडेको नेगियार (दमाई) लाई मन परेन । लगत्तै कानै दुख्नेगरी अशुभ साइतको आवाजसहितको बाजा बजाए । शुभसाइतमा अशुभको आवाज सुन्न नसकी पारुहाङ रिसले जंगिएपछि एकैछिनमा आकाश कालोमुस्लो भयो । हुरीबतास चल्यो । बिजुली चम्कँदै चट्याङ पर्यो । त्यतिबेलै बेहुली, लोकन्दा, लोकन्दी, भरिया र जन्ती हिँड्दाहिँड्दै शिला भई अल्पिए ।

बेहुलाबेहुली शिला भई अल्पिएको ठाउँलाई गोल्पा राजा गोल्मा रानी भीर भनिन्छ । त्यो शिला हिजोआज पनि देख्न र छुन सकिन्छ । यो भीर भोजपुरको मानेभन्ज्याङमा रहेको छ । यसैगरी लोकन्दा, लोकन्दी अल्पेको शिलासमेत देख्न सकिन्छ । त्यो खोटाङको डम्बर्खुशिवालय, हलहलेको खोङटाराङमा पर्छ । भरिया अल्पेको ठाउँलाई छिरुवा ढुंवा भनिन्छ । यो साबिक चिसापानी गाउँ विकास समिति–७ मा पर्छ । जहाँ शिलाले बनेको बेहुला–बेहुलीको गुन्टा र टेकुवा छँदै छ ।

जन्तेढुंगा । तस्बिर : शुभ मुकारुङ ।

यसैगरी जन्ती अल्पेको ठाउँलाई जन्तेढुंगा भनिन्छ । शिला भई अल्पेका जन्ती ढुंगालाई हेर्न सकिन्छ । शिलाले बनेको दमाहालाई हल्लाउँदा दमाहाको ध्वनि निस्कन्छ । बेहुला गोल्पा राजाले बेहुली फेङ्मालाई रातभरि हेरेर बसेको खोपालाई पनि देखिन्छ ।

बेहुली एक्लै रातभर बसेको ठाउँ भानमतीको शिरमा चन्द्रमा आकारको ढुंगालाई पातलेको जराले औंसीको समयमा छोप्छ । पूर्णिमको समयमा त्यो ढुंगालाई जराले छोड्छ । हिजोआज त्यहाँबाट पानी निस्कन्छ । किराती किंवदन्ती अनुसार ‘सन्तान नभएका महिलाले नुहाइधुवाइ गरी धुपबत्ती बालेर जन्तेढुंगामा पूजाआजा गरे सन्तान प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्