पत्रकार राईलाई जनयुद्धमा हिँडाउन तीन घन्टा ललाइफकाइ


पत्रकार दमन राईले एसएलसी उत्तीर्ण गरे । पत्रकार राईले ‘सेकेन्ड डिभिजन’मा एसएलसी उत्तीर्ण गरेको खबर सुन्नासाथ हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान खोटाङका पूर्ववडाध्यक्ष चइन्द्र राई र पंक्तिकार दाल्फु, च्यास्मिटार पुग्यौं । सामूहिक बधाइ दिएपछि पूर्ववडाध्यक्ष राईले पत्रकार राईलाई जनयुद्धमा सामेल हुन लगभग तीन घन्टासम्म ‘कन्भिन्स’ गरे । पत्रकार राईले बाहिरै बसेर माओवादी आन्दोलनलाई नैतिक समर्थन गर्ने प्रतिबद्धता जनाए । गुण र दोषका आधारमा समर्थनसँगै विरोध पनि गर्छु भनेर दोहोर्याइरहे ।

मनले खाएको व्यक्तिलाई माओवादी पार्टीमा प्रवेश गराउनैपर्छ भन्ने नलागेको होइन । उनलाई जनयुद्धमा हिँडाउन नपाउँदा खल्लो लागिरह्यो । उनीजत्तिकाले माओवादीलाई गुण वा दोषका आधारमा समर्थन गर्नुभन्दा पार्टीभित्रै रहेर सहयोग गरून् भनेर लोभिएका थियौं । तर, लोभिएरमात्रै भएन । लाग्छ– पत्रकार दमन राई र डिकुवा गाउँ विकास समिति पूर्वअध्यक्ष लालकेशर राईलाई माओवादी बनाउन सकेको भए दुईमध्ये एक सांसदको भूमिकामा देख्न पाइन्थ्यो ।

शालीन र इमानदार पत्रकार दमन राईसँग पंक्तिकारको भेट संवत् २०६० मा भएको थियो । म ०६० माघ ५ गतेदेखि माओवादी जनयुद्धमा पूर्णकालिक भएँ । त्यसपछि भेटघाट बाक्लियो । हामी बस्ने गरी उनको घर गइरहन्थ्यौं । राजनीतिक छलफल गथ्र्यौं । उनी च्यास्मिटार माध्यमिक विद्यालयमा अध्यापनसँगै उच्च शिक्षा अध्ययनमा व्यस्त रहे । बिस्तारै पत्रकारितामा जोडिए ।

पत्रकारितामा पूर्णकालिक बन्नअघि पत्रकार दमन राईको नेतृत्वमा ‘भुम्जु’ नामक साहित्यिक मासिक भित्तेपत्रिका प्रकाशन हुन्थ्यो । च्यास्मिटार माविको पूर्वतिर पश्चिम फर्केको भेषबहादुर अधिकारीको घरको भित्तामा लगभग पाँच/सात स्क्वायर फिटको काठको बोर्ड बनाएर भित्तेपत्रिका टाँसिन्थ्योे । त्यहाँ ‘मेरो नेपाल’ शीर्षाकृत मेरो कविता उनैले प्रकाशन गरिदिएका थिए ।

त्यसअघि सुदामा हवाई साहित्यक पत्रिकामा ‘वीरहरू’ शीर्षाकृत कविता प्रकाशन भएको थियो । दीपेन्द्र दीनदुःखीद्वारा सम्पादित हवाई पत्रिकामा मेरो कविता प्रकाशन पहल गरिदिने पनि उनै थिए । कविता प्रकाशनपछि हवाई पत्रिका हात लगाइदिए । यो दुई दशकअघिको कुरा हो । विगत सम्झँदा वर्तमानमा त्यत्तिकै उत्साहित हुन्छु ।

दमन राई घरको जेठो छोरो । उनको एक दिदी, एक बहिनी र तीन भाइ थिए । बुवाको निधन भएकाले उनीहरूलाई आमाले हुर्काए । बढाए । पढाए । आफ्नो खट्टामा उभिने बनाए । घरको जेठो छोरो भएकाले उनलाई घरपरिवार सम्हाल्न छँदै थियो । अध्ययन रोक्न चाहँदैनथे । सशस्त्र जनयुद्धमा लाग्नु भनेको ज्यान हत्केलामा राख्नुजस्तै थियो । यस्तै सोचेर उनी जनयुद्धमा लागेनन् भन्ठाने । ‘बाँच्न पाए, हाँस्न सकिन्छ’ भन्ने प्रचलित आहान छ । यसैलाई दृष्टिगत गर्दै उनी लामो यात्रामा निस्कन लालायित भए ।

प्रतिक्रिया दिनुहोस्