ससुराली सडकको सास्ती



बाँझे च्यानडाँडा (खोटाङ) । साकेला गाउँपालिका–१, बाँझेच्यानडाँडा धुमाको यात्रा । त्यो पनि सपरिवार । काठमाडौं–धुमा (ससुरालीसम्म)को यात्रा अत्यधिक चुनौतीपूर्ण । यात्रामा आठ महिनाकी छोरी रेचिमा किरातीसमेत थिइन् ।

संवत् २०८१ असार २४ गते ससुरालीसम्मको यात्रा तय गर्दा काठमाडौं डुबानमा थियोे । संयोग भनौं २४ गते वर्षा रोकियो । चाबहिल काउन्टर प्रमुख घनेन्द्र राईले व्यवस्था गरेको हिङमाङ डिलक्सको बसमा बिहान ४ बजे काठमाडौं छाड्यौं । साँझ ९ बजे धुमा पुग्यौं ।

ससुराली सडक

पुग्न न त धुमा पुग्यौं । पुग्ने बेला पक्की बाटो सकिएपछि झन्डै १२ किलोमिटर कच्ची रहेछ । सो सडकमा सवारीसाधन गुड्नसमेत कठिनाइ थियो । जुन बाटो कृष्ण माध्यमिक विद्यालय बाँझेसम्म पथ्र्याे । त्यसपछि माथि चखेवासम्म कच्ची र त्यसपछि फेरि पक्की बाटो हुँदै भोजपुर पुग्न सहज रहेछ । यता, खोटाङपट्टि वडाध्यक्ष भलाकाजी गुरुङको घरआसपास क्षेत्रमा बाटो किन त्यस्तो भयो ? स्तरोन्नति भएको बाटो कसरी उप्कियो ? भन्ने वडावासीको चासो छँदै छ ।

सडक र स्थानीय सरकार

पहिलेको पुरानो बाटो मेटेर अहिले जताततै सडक पुगिसकेको छ । बाँझेबाटै साकेला गाउँपालिका जोड्ने सडकखण्ड तयारी छ । यसपटकको वर्षाले त्यो बाटोको कतिपय खण्डमा धेरैभन्दा धेरै भत्केको छ । सवारीसाधन सहजै आवतजावत गर्ने त्यो बाटो अहिले सवारी आवागमन बन्दप्रायः छ । मुस्किलले मोटरसाइकल गुड्ने रहेछन् ।

सोनाम सज्जन किराती

धुमा पुगेको भोलिपल्ट राजनीतिज्ञ शुभचन्द्र राईसँग रतन्छाको डाँडाखर्कमा भेट भयो । ‘बाटोमा रुनमात्रै सकिनँ,’ राजनीतिज्ञ राईले गुनासो गरे, ‘यात्रा असाध्यै कष्टकर भयो ।’

पालिकाका पूर्वअध्यक्ष अर्जुनकुमार खड्काले जति वर्तमान अध्यक्ष रविप्रकाश राईले विकास गर्न नसकेको स्थानीय युवा समाजसेवी उमेशकुमार राईको दाबी थियोे ।

बाँझेबाट छुटेको पालिका जोडिने सडकखण्डको ग्याबिङ तथा मेसिनरी वालको काम भइरहेको ठाउँमा एक दिन उपस्थित भएर एकैछिन श्रमदान गरेजस्तो गर्दै सचिवालयको सदस्यलाई भिडियो खिचिस् भनेर सोध्नुले पालिका अध्यक्ष राईको श्रमदान नक्कलमात्रै रहेछ भनेर श्रममा सरिक मजदुरहरूले बताए ।

हुन त असारे विकास हुनुमा राज्यसमेत दोषी छ ।

धुमा–ट्याम्के सेवा समाज गठन अभीष्ट

साकेला–१ बाँझे च्यानडाँडाको धुमा सानो गाउँ हो । यहाँको माथिल्लो भू–भाग खालिङ, मध्यतिर चाम्लिङ र बान्तवा, तल्लो भू–भागमा नेवार र बास्तोला समुदायको सघन बसोवास रहेको छ । यो गाउँ ट्याम्केको काखमै पर्छ । समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको यहाँ लामखुट्टे लाग्दैन । यहाँको विशेषता भनेकै माथिल्लो भाग वारिपारि ठूलो क्षेत्रमा जंगल फैलिएको छ । यहाँ पाइने जडीबुटी, काठजन्य बोटबिरुवा संरक्षण तथा सम्बद्र्धन गर्न ढिला गर्न हुँदैन ।

यहाँ पर्यटक लोभ्याउने टाकुरा प्रशस्तै छन् । ट्याम्के चढ्न सिँढीयुक्त पैदल मार्ग निर्माण गर्ने हो भने यात्रा झनै सहज हुनेछ । घरबास (होमस्टे) सञ्चालन गर्न त्यत्तिकै आवश्यक छ । माथि चुचुरो चढ्ने यात्रुले पैदल यात्रा गरी ट्याम्के फन्को मार्दा अझै थप आनन्द लिन सकिन्छ ।

सडकका कारण पैदल यात्राको बेइज्जत भइरहेको छ । ठुल्ठूला चट्टाने पहराले धेरै क्षेत्र ओगटेको छ । जहाँबाट प्याराग्लाइडिङमार्फत चराजस्तै उडेर मनोरञ्जन लिने व्यवस्था गर्ने हो भने धुमामात्रै होइन, ट्याम्केआसपासका छिमेकी पालिका र साकेला गाउँपालिकाका कतिपय वडामा पर्यटक सहजै भित्र्याउन सकिन्छ । सोही उद्देश्य पूरा गर्न धुमा–ट्याम्के सेवा समाज गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्