काँहुडाँडाको लालीगुराँस चढ्दा पोखरा उपत्यका छर्लंगै



चिप्लेढुंगा (कास्की) । प्रकृतिको अनुपम बरदानका रूपमा रहको पर्यटकीय नगरी पोखराको उत्तर–पूर्वमा रहेको काहुँ धरहरा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यका रूपमा विकसित हुँदै छ । प्रचार–प्रसार अभावले गुमनामजस्तै बनेकामा पछिल्लो समय आयोजना हुने मेला महोत्सव र सडक विस्तारले काहुँडाँडामा पर्यटकको आकर्षण बढ्न थालेको हो ।

पोखरा महानगरपालिका–११ मा रहेको यो डाँडाबाट पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडासहित माछापुच्छेरे र अन्नपूर्ण हिमशृंखला अवलोकन गर्न सकिन्छ । समुद्री सतहदेखि १,४४४ मिटरमा उचाइमा रहेको काँहुडाँडामा तत्कालीन अञ्चलाधीश नन्दबहादुर मल्ल र स्थानीय सामाजिक अभियन्ताका स्व. मेजर वीरसिंह गुरुङको सक्रियतामा निर्माण गरिएको काहुँ धरहराले पछिल्लो समय पर्यटकलाई आकर्षित गरेको हो । बाइसे–चौबीसे राज्यका बेला यस स्थललाई एक कोटका रूपमा लिइएको थियो ।

पोखराबाट नजिकै रहेको लालीगुराँस फुल्ने काहुँडाँडामा प्राचीन समय काउना खेती गरिने हुँदा काउनोबाट काहुँ हुँदै अपभ्रंश भएर काँहुडाँडा रहन गएको स्थानीयको भनाइ छ ।

सहरदेखि नजिक र सुगम बस्ती भए पनि प्रचार–प्रसार अभावले ओझेलमा परेको यस क्षेत्रको विकास र प्रवद्र्धनमा पछिल्लो समय यस क्षेत्रका राजनीतिक दल, संघ, संस्था स्थानीय युवा क्लब र आमा समूहको सक्रियतामा गरिएको कार्यले एक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।

२ हजार २ सय घर धुरी र १५ हजार जनसंख्या रहेको यस क्षेत्रमा सांस्कृतिक विविधताको समिश्रण अर्थात् ब्राह्मण, क्षेत्री, गुरुङ, मगर र दलितको बसोवास यहाँ रहेको छ । यस वडाका वडाध्यक्ष मोहनप्रसाद बाँस्तोला भन्छन्, ‘काँहुडाँडाको विशेषता सहरको नजिकबाट सुन्दर पोखराको पूरै दृश्यावलोकन गर्न सकिनुका साथै होइन, लालीगुराँसको बोटमा चढेर पनि माछापुच्छे र अन्नपूर्ण हिमशृंखलाका सुन्दर दृश्य कैद गर्न सकिन्छ ।’ प्राकृतिक सुन्दरतामा रमाउन चाहने जोकोहीका लागि एउटा उत्कृष्ट र आकर्षक गन्तव्य हो काँहुडाँडा ।

यस क्षेत्रको विकासले पर्यटन प्रवद्र्धन हुनाका साथै समृद्ध देश निर्माणको भूमिका निर्वाह गर्न सक्ने भएकाले प्रदेशकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार विकाससँगै प्रचार–प्रसार खाँचो रहेको उनको भनाइ छ ।

ग्रामीण पर्यटनको विकास गर्दै पोखराकै एक दृश्यावलोकनको गन्तव्य निर्माण गरेर यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचार–प्रसार गर्न विभिन्न प्रचारात्मक गतिविधिमा जोड दिनुपर्ने वडाध्यक्ष बाँस्तोला बताउँछन् । शनिबार र अन्य बिदाका दिनमा चार÷पाँच सय आन्तरिक पर्यटक काँहुडाँडा पुगी काहु धरहराबाट पोखरा महानगरको सुन्दर दृश्यावलोकन गर्न गरेको उनी बताउँछन् ।

यहाँको विकास र प्रचार–प्रसारका लागि संवत् २०६२ र २०६५ मा काँहु धरहरा महोत्सवसमेत गरिनुका साथै २०७५ मंसिर २८ देखि पुस ८ सम्म तेस्रो काँहु धरहरा महोत्सव गरिएको थियो । महोत्सवलाई व्यावसायिक नभई पर्यटकीय महोत्सवका रूपमा लिन लागिएको स्थानीय दामोदर आचार्य जोड दिए ।

प्रतिक्रिया दिनुहोस्