‘त्यही ढुंगामा उभिएर अशुभ खबर सुनाउनुपर्छ,’ केपिलासगढी गाउँपालिका–३, खोक्मा, बाँसपानीका शिव राईले जानकारी गराए, ‘अरू ठाउँबाट सूचना प्रवाह गर्न मिल्दैन । यो अनिवार्य सर्तजस्तै हो ।’
बाँसपानीको खकलुङ खोक्मामा बसोवास गर्ने साम्पाङको निधन हुँदा सूचना प्रवाह गरिने ढुंगालाई ‘पोमा ल्वपँ लुङ’ भनिन्छ । किरात साम्पाङ राई जुम्लेखा, नेपाल जिल्ला कार्यसमिति खोटाङ अध्यक्ष प्रताप राईका अनुसार ‘पोमा ल्वपँ लुङ’ को अर्थ शाब्दिक अर्थ स्थानीय साम्पाङ राईको निधनपछि आत्म घुम्ने ठाउँ हुन्छ ।
गाउँमा कसैको निधन हुँदा निरकुमार राईले यही ढुंगामा उभिएर ठूलो आवाजमा सूचना प्रवाह गर्छन् । सूचनामा भनिन्छ, ‘फलानाको निधन भएकाले दाहसंस्कार गर्न उपस्थित भइदिनू होला है ।’ साम्पाङ भाषामै अशुभ खबर प्रवाह गरिन्छ । सोही सूचनाका आधारमा स्थानीय भेला हुन्छन् ।
साम्पाङहरू खकलुङ आएपछि यो परम्परा सुरुवात भएको बताइन्छ । खकलुङमा साम्पाङ पुर्खा कहिले आए होलान् ? उनीहरू यसै भन्न सक्दैनन् । पुर्खादेखि गनिल्याउँदा यहाँ ३५ पुस्ता पुगेको राईले सुनाए । उनको भनाइलाई आधार मान्ने हो भने त्यति नै भयो खकलुङ खोक्मामा यो परम्परा सुरु भएको पनि ।
निरकुमार राईभन्दा पहिले टीकाबहादुर राईले अशुभ खबर प्रवाह गर्थे । टीकाको निधनपछि उनले खेल्ने भूमिका निरकुमारले निर्वाह गर्दै आएका छन् । ६० वर्षे पाको उमेरमा पनि उनले आफूलाई दिइएको भूमिका निर्वाह गर्न जाँगर चलाएकै छन् । भूमिका निर्वाह गरेबापत पारिश्रमिक व्यवस्था गरिएको छैन । किरात साम्पाङ राई जुम्लेखा, नेपाल जिल्ला कार्यसमिति खोटाङले योग्य ठानी भूमिका दिएपछि उनले कर्तव्य पूरा गर्न अल्छी मानेका छैनन् । किरात साम्पाङ राई जुम्लेखा, नेपाल जिल्ला कार्यसमिति खोटाङले यो कामका लागि व्यक्ति चयन गर्छ । यो कामका लागि निश्चित योग्यता तोकिएको छैन । जसलाई भूमिका दिइन्छ, उसको आवाजचाहिँ ठूलो हुनुपर्यो । योग्यता भनेको त्यत्ति हो ।
सडककिनारको खकलुङ चोकमै रहेको यो ढुंगा पहिले अग्लो थियो । अनि त्यत्तिकै डरलाग्दो पनि । ढुंगाको मुनि ठूलो ओढार छँदै छ । सडक निर्माणपछि माटोले पुरिँदै गएकाले हिजोआज ढुंगा होचो देखिन्छ । ढुंगा अग्लो होस् या होचो फरक पर्दैन । तर, यही ढुंगामाथि उभिएर अशुभ खबर सुनाउन भने छाडिएको छैन ।
(बाँसपानी (खोटाङ) बाट फर्केपछि ।)